युवती रहिछन् स्थानीयवासी, प्रधानपञ्चकी भतिजी। ‘भर्खरै हजुरआमाको निधन भएकाले उनको मुहार अझ केही मलिन भएको हो’ भन्ने सुन्दा त्यहाँ उपस्थित पर्यटक दोस्रो पटक आश्चर्यचकित भए।
मानिस जन्मँदा जुन रूप लिएर आउँछ, तद्अनुरूपको उसको स्वभाव अन्तिमसम्म रहला कि नरहला? रूप र स्वभावको सम्बन्ध होला या नहोला? यसका अनेकन् वैज्ञानिक व्याख्या होलान्। तर, एउटा कुरा सबैको हकमा शाश्वत छ: हर व्यक्तिले हरपल सुख, आनन्द, खुशी, हाँसो नै चाहन्छ। जुनसुकै उमेर र अवस्थामा पनि आममानिस मात्र नभएर हर सचेत जीवजन्तु आनन्द नै चाहन्छन्। सोही कारण होला, मानिस आनन्दलाई वस्तु मान्दै पर्याप्त धन सम्पत्ति आर्जन गर्न चाहन्छ।
कतिपय चिन्तकहरू भन्छन्, ‘मानिस नितान्त आनन्द वा सुख खोज्ने प्राणी हो।’ आध्यात्मिक मान्छेहरू आनन्दलाई नै भगवान्को स्वरूप मान्छन्। वेदको एक महावाक्य छ, 'अहम् ब्रह्मास्मि' (म नै ब्रह्मा हुँ)। हाम्रा कतिपय पुराना शास्त्रले ब्रह्माण्डमा रहेका ‘सबै जीवित प्राणी भगवान्कै अंश हुन्’ र ‘भगवान् नै हुन्’समेत भनेका छन्। भगवान् र ईश्वरबारे जगत्मा अनेकौँ बुझाइ विद्यमान् छन्। जति नै लामो व्याख्या गरे पनि, एउटा सत्य यही हो कि हामी खुशी चाहन्छौँ। अनेकन् अवस्थाले खुशी र बेखुशी निर्धारण गर्छन्।
आफ्ना अग्रजले कुनै कुरामा प्रशंसा गर्दा बालक फुरुङ हुन्छ। आनन्दको परिभाषा उसलाई थाहा नहोला, तर ऊ खुशी हुन चाहन्छ। पशुपक्षीले खुशीको व्याख्या गर्न नसक्लान्, तर ती पनि सहज वातावरणमा उफ्रन्छन् र नाच्छन्। सुखभोगको सन्देश दिन्छन्। मानिस आनन्दको प्रतिरूप भएर होला, ससाना उपलब्धिमा पनि खुशी हुन्छ र रमाउँछ।
खुशीका केही पलका केही चर्चा गरौँ:
लक्का र फुर्तिला इन्द्रध्वज त्यस्तै १६ वर्ष उमेरका थिए, विद्यालय पार गरेर कलेज जाने तरखरका उनले नयाँ कपडाको जोहो गरे। निलो पाइन्ट र सेतो कमिजमा कमै दामको साधारण चस्मा लगाएर उनी घरबाट निस्के। छिमेकी राणाको घर हुँदै सडकतिर झर्दै गर्दा ‘यो काठो कति राम्रो देखिएको’ भनेर रानीसाहिबाले के भनिदिइन्, उनको फुर्ती चौगुना बढ्यो। किशोरलाई त्यो कपडा बिछट्टै राम्रो लाग्यो। पाइन्टको यति माया लाग्यो कि, तल्लो भाग उध्रेपछि समेत काटेर पछि ‘हाफ पाइन्ट’ बनाएर लगाए।
सामान्य पहिरनबाट प्राप्त आनन्द!
कुनै समय आजको महेन्द्ररत्न क्याम्पस ताहाचल वसन्तपुर क्षेत्रमा थियो, त्यसको नाम महेन्द्ररत्न कलेज थियो। २०२५ सालको कुरा हो। हामीसँगै क्याम्पसमा इला नामकी छात्रा कमर्स विधा लिएर पढ्थिन्।
जिउडाल र अनुहारमा बान्की परेका धेरै व्यक्ति हुन्छन्, तर जो कसैलाई धेरै जनले फर्कीफर्की हेर्दैनन्। तर इला फरक थिइन्। उनको लवाइमा चुस्तता यस्तो हुन्थ्यो कि विरलै उनलाई कसैले नहेरोस्। उनका कपडाका रङ खास हुन्थे, शरीरको प्रकृतिअनुरूपको सिलाई हुन्थ्यो। सफाइ उस्तै थियो। कतै नखुम्चिने गरी सर्लक्क लगाउँथिन्। उनको सोख पहिरनमा थियो। त्यसैले त धेरै जनहरू फर्किएर जिभ्रो काढ्थे, ‘आहा।’ इलाले यसरी पहिरन लगाउनुमा अवश्य नै खुशी र आनन्द भेट्थिन् होला।
०००
२०३२ सालको मंसिरमा इन्द्रध्वज आफ्ना दुई मामा लक्ष्मण र लक्ष्मीप्रसादसहित काठमाडौँ–त्रिशूली बजार हुँदै रसुवाको धुन्चे पुगे। जाडोले रात काट्न कठिन थियो। नजिकै प्रहरी चौकी देखेर लक्ष्मी मामाले न्यानोको जुक्ति सोचेँ: आगो बलिरहेको प्रहरी थानानजिक जाने, आगो तापेको बहानामा प्रहरीका केही ठूला अधिकृतका नाम लिएर आपसमा गफिने। त्यसो गरेपछि प्रहरीको सहयोगमा रात पक्कै सजिलोसँग बित्ला! त्यो उपायले काम गर्यो। प्रहरीबाट चाहिँदो मण्डी प्राप्त भयो र चिर्पटले बारेको होटलको स्याँठले हिर्काउने बाससमेत सहज बन्यो। सायद, ती प्रहरीहरूलाई लाग्यो होला, ‘यी सुकिला मुकिला मान्छेहरू केन्द्रबाट कुनै जासुसी काममै आएका हुन सक्छन्।’
भोलिपल्ट त्यहाँबाट फर्कने क्रममा बोकेझुण्डाको सानो होटलमा खाना खान उनीहरू कुरी बसेका थिए। त्यसै बखत करिब १६/१७ की शेर्पा युवती कम्मरमा तामाको गाग्री बोकेर तलतिर झर्दै थिइन्। उनको रूप लावण्य देखेर तीनै जनाको नजर एकीकृत भयो। युवतीले होटल मालिक्नीसँग केहीबेर कुरा गरिरहँदा सबै अवाक् भए।क्वारक्वारती हेरिरहे।
केटी तल झर्नासाथ युवतीबारे होटल मालिक्नीसँग लक्ष्मण मामाले उनीबारे सोधखोज गरे। युवती रहिछन् स्थानीयवासी, प्रधानपञ्चकी भतिजी। ‘भर्खरै हजुरआमाको निधन भएकोले उनको मुहार अझ केही मलिन भएको हो’ भन्ने सुन्दा त्यहाँ उपस्थित पर्यटक दोस्रो पटक आश्चर्यचकित भए। एक जनाले त मुखै खोलेर भने, ‘हाम्रै प्रकृतिमा, यस्तो विकट स्थानमा, यति सुन्दर र अनुपम फूल कसरी फुल्यो होला?’
मानिस प्रकृतिसँग लट्ठिन्छ, मानिस अनुकूल वातावरणमा मोहित हुन्छ, फूलसँग लोभिन्छ, हिमाल पहाड वा समुद्रसँग खेल्न चाहन्छ। विपरीत लिंगीप्रतिको सम्मोहनका कारण लाखौँ काव्य र उपन्यासहरू लेखिएका छन्।
त्यस्ती अलौकिक बनौट र उज्ज्वलताले भरिएकी व्यक्ति त न भूतो न भविश्यती होला है भन्दै पछि पछिका भेटमा समेत मामाभान्जाहरू ती हिमाली परिलाई सम्झिरहन्थे।
आनन्द पाउन मान्छे साहसिक कर्म गर्छ। गीत, कविता लेख्छ, मीठो भोजन खोज्छ। सुन्दर आँखा रोज्छ। मायालु भावनाको प्रतीक्षा गर्छ। आनन्द पाउन मान्छे के गर्दैन?
रमाउनका लागि खास गरी युवतीहरू पहिरनमा नितान्त ध्यान दिन्छन्। समाजले उनीहरूलाई त्यसै गरी पढाएको छ। सम्भवतः सुन्दर बन्न दबाबै दिएको छ!
कपडालाई जिउमा मिल्ने गरी सिलाएको, शरीरको रङसँग सुहाउँदो रङ, बुट्टाको छनोट, माथिल्लो र तलको कपडाको रङ मिलान र नखुम्चिएको पहिरनले मानिसलाई बेग्लै अनुभूति दिन्छ। कहिलेकाहीँ लाग्छ, पर्व, समारोह र महोत्सवहरूमा सिंगै महिला जगत् पहिरन प्रतिस्पर्धामा भाग लिइरहेका छन्। पहिरनमा सजिनुमा आनन्द आउँछ र त्यसले अरूलाई पनि आनन्द दिन्छ भने किन कोही नसजिने? यसलाई त पुरुषले पनि अवलम्बन गर्नु उचित हुन्छ भन्ठान्छु।
कतिपय गीतकार, कलाकार, प्रशासक र सामान्य मानिसहरू पहिरनमा बहुतै ध्यान दिने गर्छन् गर्थे। वालकृष्ण सम, मास्टर रत्नदाश, लीलाध्वज, नीरविक्रम, दैवज्ञराज, जनकलाल, राजा महेन्द्रको छनकका खिलेन्द्रप्रसाद–गोविन्दप्रसाद इत्यादि व्यक्तिहरू घरबाट निस्कनुअघि आफ्नो पहिरनको चुस्ततालाई नितान्त ख्याल गर्थे।
दारिजुँगा चिल्लो हुने गरी सफाचट गरेर, कपडामा कर्दको धार हुने गरी स्त्री दलेर, नोकमा अनुहार हेर्न हुने गरी जुत्ता टल्काएर, नजिक पर्दा मगमग बास्ना उड्ने गरी अत्तर छरेर बाहिर निस्कने मानिस हाम्रै समाजमा थिए, छन्। सायद अरूलाई आकर्षण गरेर आफ्नो महत्ता कायम राख्न खोजिएको होला। नितान्त आफू आनन्दित हुन त्यसो गरिएको पनि हुनसक्छ।
मजाको कुरा उल्लेख गर्दै गर्दा यहाँनिर भन्नै पर्छ, ‘सबैलाई भौतिक र अभौतिक आनन्दको उपभोगको लागि सहजै स्रोत नमिल्न सक्छ। तर संसारका सबैले जीवनको मजा लिने अवस्था सिर्जना गर्न हामीले प्रयत्न गर्नै पर्छ। गरिबी हटाउने कुरा पनि यसैसँग जोडिएको छ। सुखभोग सबैको अधिकार हो।’
चन्द्रध्वजको टिसर्ट
जीवनमा आनन्द खोज्ने अगणित प्राणीहरूमध्ये ७० वसन्त पार गरिसकेका एक ज्येष्ठ नागरिक पनि छन्। उनको नाम चन्द्रध्वज हो। उनी औसतमा आफूभन्दा कम उमेरका सँग रमाएर हिँड्छन्। उर्वर उमेरमा विभिन्न तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्दा युवाहरूसँग संगत गरेका उनको चालिस नाघ्दानाघ्दै कपाल फुल्न थाल्यो। 'सम्पर्क अधिकृत'को जागिरका क्रममा देशका विभिन्न स्थानमा जानुपर्ने र अलि बुढो देखिएमा हेपिइने डरकै कारण कपाल रङाउन थाले। रङ लगाएको दुई साता पछि रङ नै सो खुइलिन थाल्छ। फेरि कि रङ थप्नुपर्यो अथवा कपाल छोप्नुपर्यो!
एक दिन चन्द्रध्वजको नजर घरमै धेरै समयदेखि थन्किरहेको तर अलि सानो आकारको ‘टिसर्ट’मा एकाएक आँखा पर्यो। अलि नयाँ खालको टिसर्ट देखेर रमाइलो ठानी निकालेँ। तान्दा लच्कने नतान्दा खुम्चिने ‘टिसर्ट’ रहेछ। सानो त नहोला भन्ने ठान्दै टिसर्ट लगाई हेरे, जिउमा टपक्क टाँसियो। कपाल पनि एक दुई दिनअघि मात्रै रङाएका थिए। टाउको ‘क्याप’ वा टोपीले छोप्ने टन्टा परेन। अनि नयाँ टिसर्टमा उनी सन्ध्याकालीन घुमाइमा निस्के।
छिमेकमै बहिनीको घर हुँदै निक्लनु पर्थ्यो। ढोकैनजिक रहेकी बहिनीले चन्द्रध्वजलाई देखिन् र भनिन्, ‘टाढैदेखि को नयाँ मानिस हो भनेर हेरेको त, दाइ पो हुनुहुँदो रहेछ, चिन्नै गाह्रो पो भयो, नयाँ टिसर्टले पो रहेछ।’ चन्द्रध्वज फुरुङ परे।
उनलाई अझै फुरुङ हुन मन लाग्यो। भोलिपल्ट बिहान पनि सोही टिसर्टमा घरबाट निस्किए।
नजिक तथा टाढाका जे जति साथीभाइ र भतिजाहरू भेट भए, सबैले उनलाई युवाको रूपमा इंगित गरिरहे। पहिले त जिस्काएको झैँ लाग्यो, तर धेरै जनाको निचोड थियो, ‘चन्द्रकान्त दुरुस्तै युवा देखिए!’
त्यसपछि चन्द्रकान्त स्वयंले निचोड निकाले, ‘साँच्चै हो म युवाजस्तै छु। मैले आफ्नो शरीर सन्तुलनमा राखेको छु। सात्त्विक आहार बिहारमा रमाएको छु। थोरै खाए बल धेरै खाए मलको पुरानो अवधारणा मानेको छु। म जेमा पनि शान्ति खोज्ने प्रयास गर्छु, त्यो शान्तिले मलाई सुख र भित्रभित्रै आनन्द पनि दिएको छ। र, हिजोको दिन ह्यंगरबाट उतारेको त्यो टिसर्टले फेरि ममा जवानी प्रत्यारोपण गरिदियो।’
०००
आदरणीय पाठक, इन्द्रध्वज र चन्द्रध्वज दुई फरक युगका पात्रझैँ लागे पनि ती दुवैमा म आफूलाई पाउँछु। अलग नाम र परिचयमा प्रस्तुत भए पनि ती दुवै मै हुँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
