तराईमा केही दिन तापक्रम बढ्ने, लुबाट जोगिन अनुरोध

तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने र तराई क्षेत्रमा भने तापक्रम वृद्धिले तातो हावा (लू) चलिरहने महाशाखाको प्रक्षेपण छ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन घट्ने छैन। जसका कारण यी भूभागहरूमा तातो हावा (लू) चलिरहने देखिन्छ। साथै, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले अत्यधिक गर्मी तथा मेघ गर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

“आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ। हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ, देशका तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले चेतावनी दिँदै भनेको छ। 

पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। महाशाखाले तातो हावा तथा लूबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने हुनसक्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ।

तातो हावा तथा लूबाट बच्न घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन महाशाखाको आग्रह छ।