विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई

दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै उपाधि जितेको छ। प्रतियोगितामा टेस्ट मान्यता पाएका १२ मध्ये नौ देश सहभागी थिए।

भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको हो। 

अन्तिम दिनको खेलमा ४४४ रनको लक्ष्य पछ्याएको भारतीय टोली पहिलो सत्रमा २३४ रनमा अलआउट भयो। दोस्रो इनिङ्समा कुनै पनि भारतीय ब्याट्सम्यानले ५० रन छुन सकेनन्। भारतका लागि विराट कोहलीले सर्वाधिक ४९ रन बनाए। उनले ७८ बलमा ७ चौका प्रहार गरे।

भारतका लागि अजिंक्या रहाणेले १०८ बलमा ७ चौकासहित ४६ रन बनाए। भारतका लागि ओपनर रोहित शर्मा र शुभमन गिलले ७.१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो शुरूआत गरेका थिए। स्कट बोलान्डको बलमा क्यामरन ग्रीनबाट क्याच आउट हुनुअघि गिलले १८ रन बनाए।

कप्तान रोहित ६० बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए। चेतेश्वर पुजाराले २७ र श्रीकर भरतले २३ रन बनाए। मोहम्मद शामी १३ रनमा अविजित रहे।

अस्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए। १५.३ ओभर बलिङ गरेका उनले २ मेडेनसहित ४१ रन खर्चिए। स्कट बोलान्डले तीन विकेट लिए। उनले १६ ओभर बलिङ गर्दै २ मेडनसहित ४६ रन खर्चिए। मिचेल स्टार्कको नाममा दुई विकेट रहँदा र प्याट कमिन्सले एक विकेट लिए।

त्यसअघि लन्डनको ओभल मैदानमा अस्ट्रेलियाले चौँथो दिन दोस्रो सत्रमा आफ्नो दोस्रो इनिङ्स २७०/८ मा अन्त्य भएको घोषणा गरेको थियो। त्यसपछि भारतले जितका लागि ४४४ रनको लक्ष्य पाएको थियो।

अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरी सर्वाधिक ६६ रनमा अविजित रहे। उनले १०५ बलमा ८ चौका प्रहार गरे। मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए। सातौँ विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गरे।

मार्नस लाबुसेन ४१, स्टिभ स्मिथ ३४ र क्यामरून ग्रीन २५ रनमा आउट भए। भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए। उनले २३ ओभर बलिङ गर्दै ४ मेडनसहित ५८ रन खर्चिए।

मोहम्मद सामी र उमेश यादवको नाममा समान दुई विकेट रह्यो। भारतीय टोली पहिलो इनिङ्समा २९६ रनमा अलआउट भएको थियो भने अस्ट्रेलियाले ४६९ रन बनाएको थियो।

टेस्ट च्याम्पियनसिपमा टेस्ट क्रिकेट खेल्ने विश्वका नौ वटा देश सहभागी थिए। टेस्ट मान्यता पाएका जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड यो प्रतियोगितामा सहभागी थिएनन्। दुई वर्ष चलेको प्रतियोगितामा इंग्ल्यान्ड ले सर्वाधिक २२ खेल खेलेको थियो। अस्ट्रेलियाले १९ र भारतले १८ खेल खेलेका थिए। सबैभन्दा कम बंगलादेश र श्रीलंकाले १२-१२ खेल खेलेका थिए।