पर्यटन प्रवर्द्धन गर्ने योजना: आकर्षक र नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता

सरकारले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। यो बीचमा पिलर नहुने (सस्पेन्डेड) एशियाको पहिलो पुल भएको दाबी गरिएको छ।

काठमाडौँ– सरकारले पुरातात्त्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक तथा नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ।

नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अब विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण शुरू गरेको हो। विगतमा बन्ने गरेका सामान्य झोलुंगे पुलभन्दा हेर्दा आकर्षक किसिमको पुल निर्मा‌णलाई प्राथमिकता दिइने स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशोककुमार शाहले जानकारी दिए।

विभागले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। शाहका अनुसार यो बीचमा पिलर नहुने (सस्पेन्डेड) पुल हो। यस किसिमको पुल एशियाको पहिलो भएको उनको दाबी छ। “अब हामी ५००/६०० मिटरमा बीचमा पिलर नहाली अरु ठाउँमा पनि बनाउँदै जानेछौँ,” शाहले भने।

कञ्चनपुरको दोधारा चाँदनीमा धेरै स्पान हालिएको लामो पुलको निर्माण गरिएको उनले बताए। भने, “एउटै पुलजस्तो देखिने गरी बनाइएको पुलले धेरै पर्यटकलाई आकर्षित गरिरहेको छ। आगामी वर्ष बागलुङलगायत पहाडी जिल्लाका खोँच रहेका ठाउँमा झोलुंगे पुल निर्माण गर्ने योजना छ।”

खोला हेर्दा सानो भए पनि बीचमा गहिरो खोँच भएको र हिँडेर ओहोरदोहोर गर्न एक घन्टा लाग्ने भएमा त्यस्ता ठाउँमा पुल निर्माणको योजना विभागको छ। गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङगमस्थल रिडीमा तीनमुखे पुल निर्माण भएको छ। तीन जिल्लालाई एउटै पुलले जोड्नेसँगै यहाँको पर्यटक प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको विभागको भनाइ छ।

नागरिक एक घन्टाभन्दा बढी हिँड्न नपर्ने गरी पुल वा झोलुंगे पुल निर्माण गर्ने सरकारको लक्ष्य पूरा हुने क्रममा छ। नयाँ रणनीतिले आधा घण्टाको अवधि राखेमा सोहीअनुसार नयाँ स्थान छनोट भएर पुल निर्माण हुने उपमहानिर्देशक शाहले बताए।  

झोलुंगे पुल निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ। स्थानीय तहले १२० मिटर, प्रदेशले २७० मिटर र त्यसभन्दा लामा पुलको निर्माण संघले गर्दै आएका छन्।

विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ।