जब ७ लाख भारुमा ताजमहल बेच्न खोजियो

ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।

विश्वसम्पदा सूचीमा सूचीकृत भारतको ताजमहल मन नपराउने को होला! सन् १६३१ देखि १६४८ सम्म निर्माण सम्पन्न भएको ऐतिहासिक इमारत ताजमहल विश्वको सातौँ आश्चर्यमध्ये एउटा हो। 

ताजमहलको कला शैली र सुन्दरताको जति प्रशंसा गरेपनि कम हुन्छ। तर के तपाईंलाई थाहा छ? सन् १८३१ मा ब्रिटिस गभर्नर लर्ड विलियम बेन्टि‍क ताजमहल बेच्न तम्सिएका थिए। 

त्यतिबेला संसारकै धनी व्यक्ति मानिने चर्चित सेठ लक्ष्मीचन्दले २ लाख भारतीय रुपैयाँमा किन्ने प्रस्ताव पनि गरेका थिए। तर रकम कम भएको भन्दै लर्ड विलियमले यसलाई लिलामीमा राखे तर किन्न कोही आएनन्। 

केही महिनापछि दोस्रोपटक पनि लक्ष्मीचन्द प्रस्ताव लिएर गए। उनले यसपटक ७ लाख भारतीय रुपैयाँमा ताजमहल किन्न चाहेका थिए। गभर्नरले बेच्ने मनसाय पनि बनाएका थिए। तर ताजमहल बिक्रीका लागि लिलामीमा राखिएको कुरा जनताले थाहा पाएर विरोध गरे। 

आक्रोशित जनताको विरोधसँगै दंगा भड्किने स्थिति स्थिति देखिएपछि बेन्टिक ताजमहल बेच्ने योजनाबाट पछि हटे। यो कुरा भने निकै पछि मात्रै सार्वजनिक भएको थियो। त्यतिबेला ताजमहल बेच्न कसले कस्तो योजना बनाएका थिए र कसले किन्न चाहेको थियो भन्ने कुराको यकिन प्रमाण सन् २००५ मा मात्रै भेटिएको थियो। 

ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।