कस्तो छ शनिबारको मौसम?

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा आइतबारसम्म तातो लहर चल्ने भएकाले अझै अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।  

काठमाडौँ– विगत केही दिनदेखि मध्य तथा पश्चिमी तराईमा तापक्रम लगातार वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त भूभागमा अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ। महाशाखाका अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासीमा अझै अत्यधिक गर्मीको सम्भावना छ।

यस्तै कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा तापक्रम केही घटे पनि गर्मीको सम्भावना भने यथावत् छ। उक्त स्थानहरूमा आइतबारसम्म तातो लहर चल्ने महाशाखाको भनाइ छ।

मनसुनी प्रणालीको प्रभाव रहेका कोशी, मधेशको पूर्वी भूभाग, बागमतीका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा भने वर्षाको सम्भावना रहेकाले तापक्रम घट्ने अनुमान छ। महाशाखाले तातो हावा तथा अत्यधिक गर्मीबाट हुने सम्भावित असर र बच्ने उपायसमेत सुझाएको छ।

गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

गर्मीको समयमा घरभित्र बस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रही सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।