कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी दुई प्रदेशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। ताप्लेजुङ, पाँचथर र संखुवासभामा गएराति वर्षापछि गएको बाढी र ‍पहिरोले जनधनको क्षति भएको छ।

राति कोशी प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ। अधिकारीका अनुसार हाल कोशी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज अन्य स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। “मनसुन पूर्वी भेगमा बढी सक्रिय भइरहेको छ,” उनले भने, “जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध छ।” मनसुन बिस्तारै पश्चिमतिर सर्नेक्रममा रहेको महाशाखाले जनाएको छ।

पानी पार्ने मनसुनी प्रणाली दुई–चार दिनपछि पश्चिमतिर पुग्ने मौसमविद् अधिकारीले बताए।