लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा मनसुनी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव रहेको छ।

जसको प्रभावले कोशी र मधेश प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको अनुमान छ। बागमती र गण्डकी प्रदेशमा मेघजर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी र मधेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा राति पनि भारी वर्षाको हुनेछ।

पश्चिम नेपालमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ।

बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।