टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्।

कैलाली- दशैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान पर्यटकले भरिभराउ भएको छ। पार्कमा विशेष गरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन्। यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन्। आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्। 

झापाबाट पार्क घुम्न आएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए। “तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ”, उनले भने, “पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हेर्‍यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो।

कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाइरहेका थिए। “कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ”, उनले भने, “राजा बसेको घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन। साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो।”

नेपालगन्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो। उनीहरूले पार्कमै पकाउने खाने गरे। पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन्। यसका साथै कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिएर फर्कन्छन्।

निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएका थिए। उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए। “स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो”, उखेडाले भनिन्, “त्यसैमाथि र्याफ्टिङको आनन्द। धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो।”

बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आएका थिए। उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे। “पार्क सुन्दर छ। उहाँहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ”, रामबहादुर भन्छन्, “पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ।”