एउटै ‘स्पट’बाट ८ हजार मिटरभन्दा माथिका ६ वटा हिमाल संसारको अरु कुनै ठाउँबाट पनि देखिँदैन। मुन्दुम ट्रेलको प्रचारका लागि हामीलाई चाहिने मुख्य आकर्षण तेस्रो दिनमै प्राप्त भयो।
हामीले हरेक बैठकमा ट्रेलको नाम के राख्ने भन्नेमा छलफल चलायौँ। केही समयपश्चात राई कल्चरल ट्रेल, एमटिएसएस ट्रेल, साल्पासिलिचुङ ट्रेल र मुन्दुम ट्रेल आदि नामहरू प्रस्तावित भए।
हामीले फेरि पवन शाक्यजीसँग भेट्ने कार्यक्रम तय भयो। यसपालिको बैठकमा उहाँँले पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आउनुभएका पत्रकार अमृत भातगाउँले र सुरेन्द्र रानालाई पनि बोलाउनुभएको रहेछ। हामी त्यहाँ पुग्दा उहाँँहरू सबैजना आएर बसिरहनुभएको थियो। हामी पुग्नासाथ पवनजीले नै सबैको परिचय गराउनुभयो। अस्तिको भेटमा मैले नक्सामा हेरेको गुरिल्ला ट्रेलको प्रबद्र्धक उनै सुरेन्द्र राना रहेछन्। गुरिल्ला ट्रेलको प्रवद्र्धक भएकै कारणले उनको नामै गुरिल्ला राखिएको रहेछ। खासगरी १० वर्षे जनयुद्धकालमा रोल्पा, रुकुम र स्याङ्जा जिल्लाको विभिन्न ठाउँहरूमा भएको युद्धका अवशेषहरूलाई पर्यटनसँग जोडेर गुरिल्ला ट्रेलको अवधारणा ल्याइएको रहेछ।
हाम्रो क्षेत्रको नयाँ ट्रेकिङ रुटको बारेमा पर्यटन क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने अवसर जुर्यो। संस्थाका अध्यक्ष रमेशजी राईले गन्तव्यको बारेमा ब्रिफिङ गर्नुभयो। विज्ञहरूले चाख लिएर हाम्रो कुरा सुने। अन्तमा नामको विषयमा पनि केही कुराकानी गरियो। मुन्दुम ट्रेलको बारेमा प्राथमिकता दिएर भन्यौँ। मुन्दुम भन्ने शब्द विज्ञहरूको लागि निकै नौलो थियो। सुरेन्द्र राना पश्चिम स्याङजाको, अमृत भादगाउले भक्तपुरको, पवन शाक्य संखुवासभाको भए पनि नेवार समुदायको। त्यसमाथि पनि मुन्दुम आफैँमा यति बृहत् छ कि यसको बारेमा सबै कुरा बुझ्न र बुझाउन एउटै भेटमा सम्भव थिएन। अर्काेतिर मुन्दुम अलिखित पनि छ।
हामीले बुझाउने कोशिश गर्यौ कि मुन्दुम किरातीहरूको जीवन दर्शन हो। मुन्दुमको अनुसार प्रकृतिले लगाएको गुन र पितृको ज्ञानको कारणले नै किरातीहरू यो अवस्थासम्म आइपुगेका हुन्। प्रकृति र पितृको सम्मानमा मुन्दुमी नाक्छोङ बिजुवा लगायत सर्वसाधारण मानिसहरू वैशाखे पुर्णे, भदौरे पुर्णे, कार्तिके पुर्णे, फागु पुर्णे, आदिमा सयौँ सहयोगी र चेलाहरूसहित टेम्के मैयुङ हुँदै साल्पासिलिचुङसम्मको यात्रा तय गर्ने गर्दछन्। यो यात्रा सदियौँदेखि चल्दै आएको छ। साल्पासिलिचुङ किरातीहरूको सभ्यता र धार्मिक आस्थाको केन्द्र पनि हो। साल्पामा पुगेर पूजा गरेपछि पितृ र प्रकृतिको आशिर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। प्रकृति र पितृ मानवको गुरु पनि हो। त्यहाँ पुगिसकेपछि गुरु खुशी हुन्छन्। त्यसपछि आध्यात्मिक शक्ति पनि प्राप्त हुन्छ भन्ने गरिन्छ। त्यसैले नयाँ नाक्छोङहरूले त्यही ठाउँमा पुगेर गुरु थाप्ने प्रचलन रहिआएको छ।
बाइबलले क्रिश्चियनहरूको जन्मदेखि मृत्यसम्म गरिने सबै क्रियाकलापहरूको व्याख्या गर्दछ। गीताले हिन्दुहरूको, कुरानले इस्लामहरूको त्यसैगरि मुन्दुमले किरातहरूको बारेमा व्याख्या गर्दछ। त्यसैले यो क्षेत्रहरू आदिम किरात भूमि मात्र नभएर किरात सभ्यताकै केन्द्र भएकोे हुँदा यो ट्रेलको नाम मुन्दुम ट्रेल राख्न खोजेको बतायौँ। साल्पासिलिचुङ किरातीहरूको पवित्र धार्मिकस्थल भएको कुरा मुन्दुमले भनेको छ।
२०७४ को दशैँ लाग्न केही हप्ता अगाडि पुनः पवन शाक्य, अमृत भादगाउँले र सुरेन्द्र रानासँग बैठक बसियो। बैठकबाट ट्रेकिङ ट्रेलको नाम र अन्वेषण गर्न जाने मितिसमेत तय गर्नु थियो। मौसम र हावा पानी राम्रो हुने हुँदा तिहार पछाडि तुरुन्तै त्यस क्षेत्रमा जाने कुरा राख्यौँ। उहाँँहरूले पनि तीनै जनाको आगामी कार्यक्रमहरू हेर्दा त्यो समयमा खाली नै भएको बताउनुभयो। कार्तिकको अन्तिम साता त्यस क्षेत्रमा अन्वेषण गर्न जाने कुरा तय भयो।
मिति तय भयो तर नामको विषय टुंगो लागेको थिएन। हामीले फेरि पनि मुन्दुमकै कुरा उठायौँ। अमृत भादगाउँलेजीले मुन्दुम भन्ने शब्द अलि अमूर्त जस्तो देखिन्छ। राई कल्चरल ट्रेल नाम राख्दा अलि छिटो प्रचारमा आउँछ भन्ने सुझाव दिनुभयो। पवनजीले पनि पूर्वमा हिजोदेखि राई शब्द निकै ठुलो ब्राण्डको रुपमा रहेको कुरा थप्नुभयो।
मुन्दुम सम्पूर्ण किरातहरूको धार्मिक तथा सांस्कृतिक एकताको प्रतीक रहेको हुँदा विवाद हुने कुरा थिएन। लामो बहस र छलफलपछि मुन्दुम ट्रेल नामकरणको लागि सहमत भयौँ। कार्तिकको अन्तिम साता हामी मुन्दुम ट्रेलको अन्वेषण गर्न जाने पनि पक्का भयो।

हाम्रो ऐतिहासिक अभियान तय भयो तर हाम्रो संस्थासँग पैसा थिएन। रकम कसरी जुटाउने भनेर सल्लाह गर्न पासाङ दाइ र पूर्व अर्थमन्त्री शंकर कोइरालालाई भेट्ने सल्लाह गर्यौँ। महोत्सवको बेला त शंकर कोइराला दाइको घरमा हामी कतिपटक गयौँ भन्ने लेखाजोखा थिएन। पासाङ दाइ र शंकर कोइराला दाइ त भोजपुरको विद्योदय स्कूलमा पढ्दादेखि नै साथी रहेछन्।
शंकर दाइको घरतिर मानिसहरूको भिडभाड नै हुने गर्छ। त्यस दिन पनि थुप्रै समूहसँग पालैपालो कुराकानी गरिरहनुभएको थियो। एकछिन पछि हाम्रो पालो आयो। हामी उहाँँको बैठक कोठातिर पस्यौँ। भित्र पुग्दा दाइ सधैँझैँ शालिन र हँसिलो मुद्रामा बसिरहनुभएको थियो। हामीले रमेशजीको परिचय गरायौँ।
"अभियानमा जानलाई केही पैसा चाहिएको रहेछ। कताबाट हुन्छ एक दुई लाखको व्यवस्था गरिदिनुपर्यो शंकर जी," पासाङ दाइले भन्नुभयो।
"म पर्यटन बोर्डमा फोन गर्छु है त। त्यहाँबाट लगानी गर्न लगाउनुपर्छ, यति राम्रो परियोजना छ,” शंकर दाइले भन्नुभयो।
दाइले फोन गर्नासाथ पर्यटन बोर्डबाट रु १ लाख सहयोग गर्ने प्रतिबद्धता आयो। मुन्दुम ट्रेलको अन्वेषण अभियानका लागि हामी तीव्र तयारीमा लाग्यौँ। त्यही तयारीको लागि संस्थाको बैठक बोलाइयो। बैठकमा हामी सबै बसेर उक्त अभियानमा जान आउन लाग्ने समय १२ दिनका लागि चाहिने खर्चको हिसाबकिताब निकाल्यौँ। हामीलाई केही थान टेन्ट र स्लिपिङ ब्याग, खाना तथा सामग्री, गाडीभाडा, होटलमा बस्ने खर्च, भरिया खर्च आदि सबै जोड्दा २ लाख ५० हजार रुपैयाँ लाग्ने देखियो। त्यसमा पत्रकारहरूको टोली पनि जोड्दा करिब ४ लाखभन्दा बढी लाग्ने देखियो। हालसम्म हाम्रो स्रोत त्यही पर्यटन बोर्डले दिने १ लाख रुपैयाँ थियो। त्यो रकम पनि काम सकिएर खर्च विवरणसहितको प्रतिवेदन पेश गरेपछि निकासा गरिने थियो।
विकल्पहरूमा छलफल गर्दा पछि कतैबाट स्रोत प्राप्त भएमा फिर्ता गर्ने सर्तमा संस्थामा आबद्ध सबैले जनही २५ हजार रुपैयाँ लगाउने एउटा विकल्प राखियो। तर चारजनाबाट १ लाख मात्र उठ्यो। संस्थाका सबै पदाधिकारी तथा सदस्यहरू सराबरी रुपमा सबल पनि थिएनन्। अध्यक्ष आर्थिक रुपमा सबल हुनुहुन्थ्यो। अध्यक्षले नै २ लाख रुपैयाँ लगाउने वचनवद्धता जनाउनुभयो। अध्यक्षबाहेक २५ हजार निकाल्ने तीनजना मात्र थिए, २ लाख ७५ हजार रुपैयाँ जम्मा भयो।
सम्पूर्ण खर्चपानीको व्यवस्था गरिसकेपछि मुन्दुम ट्रेलसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरू र टेम्के मैयुङदेखि साल्पासिलिचुङसम्मको भूगोललाई छुने सबै नगरपालिका र गाउँपालिकाहरूलाई समन्वय गरी त्यस अभियानमा उनीहरूको पनि सहभागिता होस् भन्ने हेतुले सबैतिर सम्पर्क गर्ने काम गरियो। भोजपुर नगरपालिका टेम्के मैयुङ गाउँपालिका र मैयुङ क्षेत्रका विभिन्न सामुदायिक वनसमूहलाई मैले सम्पर्क गरेँ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, साल्पासिलिछो गाउँपालिकालाई रमेशजीले सम्पर्क र समन्वय गर्ने काम गर्नुभयो।
यस अभियानमा स्थानीयहरूले हामीलाई साथ दिन्छन् भन्नेमा मलाई पूर्ण विश्वास थियो। त्यसका पछाडि केही आधारहरू अथवा जग बसाउने कार्य मैले पहिले नै गरिसकेको थिएँ। मलाई ‘ऋतुहरूमा भोजपुर’ नामक वृत्तचित्र बनाउँदा जिल्ला विकास समितिले किन पत्यायो? त्यस अगाडि मैले सुन्तले डाँडा र भोजपुर जिल्लाको पर्यटनलाई प्रवद्र्धन गर्ने गीत गाएर चर्चा कमाइसकेको थिएँ। त्यस बाहेक पिखुवा एन एक्स्पेडिशन नामक वृत्तचित्र पनि बनाइसकेको थिएँ। त्यसपछि मैयुङ हाँस पोखरी महोत्सव २०७४ को अवधारणा ल्याउँदा पनि मैले अगाडि गरेको कामको प्रभाव परेको हुनसक्छ। त्यसैले सबैले साथ सहयोग गरेको हुनसक्छ। जे होस्, अरुको साथ सहयोग पाएर महोत्सव भव्य रुपमा सम्पन्न गर्यौँँ। त्यतिञ्जेल मैले गायक मात्र होइन, एउटा सामाजिक अभियन्ताको परिचय पनि बनाइसकेको थिएँ।
समय आफ्नै गतिमा चलायमान थियो। दशैँ तिहारकै बीचमा अमृत भादगाउँलेले ‘लाली चढ्यो पूर्वमा’ शीर्षक राखेर मुन्दुम ट्रेलको बारेमा गज्जबको लेख प्रकाशित भयो। उक्त लेखको बीचबीचमा त्यस क्षेत्रको विभिन्न सुन्दर तस्बीरहरू पनि छापियो। ती तस्बीरहरू मैले नै विभिन्न समयमा खिचेको थिएँ। अमृतजीले मागेपछि उहाँँलाई उपलब्ध गराएको थिएँ। उक्त लेखले नेपालको पर्यटन बजारमा ठुलो तरङ्ग ल्यायो। उता सुरेन्द्र रानाले पनि नेपाली र अंग्रेजी अनलाइनहरूमा मुन्दुम ट्रेलको विभिन्न आलेखहरू लगातार रुपमा लेखिरहनुभयो। त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मुन्दुम ट्रेलको प्रचार गर्ने काम गर्यो।
मुन्दुम ट्रेलको औपचारिक अन्वेषणमा जान मात्र २ हप्ता बाँकी थियो। हाम्रो सम्पूर्ण तयारीको बारेमा जानकारी गराउने उद्देश्यले फेरि पवन शाक्यजीको टोलीसँग बैठक बस्ने निधो गरियो। बैठकमा सबैजना भेला भयौँ। अमृत भादगाउँलेले पारिवारिक कामले गर्दा कात्तिकको अन्तिममा जान नसक्ने भएकाले पुसको तेस्रो हप्ता सारौ भन्ने प्रस्ताव गर्नुभयो। पहिलो गाँसमै ढुंगा भने जस्तै हामी सबै खुत्रुक्कै भयौँ। अमृतजी बिना पनि जान सकिन्थ्यो तर उहाँँ नगएपछि पवनजी र रानाजी जाने कुरै भएन। त्यसकारण कार्यक्रम दुई महिना पछि सार्ने निर्णय गरियो।
कार्यक्रम सरेसँगै केही समयलाई हामी सबै आआफ्नो दैनिकीमा फर्कियौँ। त्यस बीचमा पनि स्थानीय साथीभाइ तथा सरोकारवालासँग भने हामी निरन्तर सम्पर्कमा रह्यौँ। विभिन्न पत्रपत्रिकामा छापिएको लेखहरू पढेर उहाँँहरू पनि निकै उत्साहित थिए। मैयुङ हाँसपोखरी महोत्सवदेखि नै भोजपुरका पत्रकार साथीहरूसँग मेरो राम्रो तालमेल थियो। त्यसैले उहाँँहरूले मलाई नै सोधीसोधी मुन्दुम ट्रेलको अन्वेषणको बारेमा विभिन्न समाचारहरू लेख्न थाले। त्यससँगै मुन्दुम ट्रेलको प्रचारप्रसार स्थानीय स्तरमा समेत राम्रो हुँदै गयो।
यसै बीचमा काठमाडौँमा किरात राईहरूको उधौली साकेला चाड पनि मनाइयो। प्रकृति र पितृलाई धन्यवाद दिँदै मनाइने यो चाडलाई किरातीहरूले सांस्कृतिक एकताको प्रतीकको रुपमा पनि मनाउन थालेका छन्। मुन्दुम दर्शनभित्रका विभिन्न विधाहरू इतिहास, राजनीति, साहित्य, सङ्गीत र नाटय कला आदिमध्ये सङ्गीत र अभिनयको दृष्टिकोणले पनि यो चाड महङ्खवपूर्ण देखिन्छ।
उधौली सकिएसँगै हाम्रो अभियान नजिक आउँदै थियो। त्यसैले अमृत भादगाउँले, सुरेन्द्र राना र पवन शाक्यजीको टोलीलाई सम्पर्क गर्यौँँ। पुसको दोस्रो साता हाम्रो बैठक बस्यो। यसपटक सबैजनाको लागि सहज थियो। त्यस बैठकमा नेपालका चर्चित साइकिल चालक सुरेन्द्र बस्नेत जीसँग पनि भेट भयो। उहाँँ पनि हाम्रो अभियानमा जान इच्छुक हुनुभयो। त्यस्तै अर्का फ्रान्सेली नागरिक रिचार्ड बुलसँग पनि भेट भयो। रिचार्ड बुल नेपालका चर्चित हाई अल्टिच्युड म्याराथन धावक मीरा राईको गुरु पनि हुन्। उनीसँग पनि हामीले मुन्दुम ट्रेलको बारेमा संक्षिप्त कुराकानी गर्यौँँ।
२०७४ पुस ९ गते साल्पासिलिचुङ पर्यटन प्रबद्र्धन केन्द्रको बैठक बस्यो। बैठकले मुन्दुम ट्रेलको अन्वेषण गर्न आगामी २०७४ पुस २१ गते विज्ञहरूको टोली लिएर त्यस क्षेत्रमा जाने लगायत अन्य जिम्मेवारी बाडफाँटका महङ्खवपूर्ण निर्णयहरू गर्यो। सचिवको हैसियतले ती सबै निर्णयहरूको टिप्पणी लेख्ने काम मैले गरेँ।
निर्णयअनुसार अध्यक्ष रमेशजी राईजीले खानेकुरा किनमेलको जिम्मा लिनु भयो। त्यस्तै उपाध्यक्ष इन्सु राईले टेण्ट तथा स्लिपिङ व्यागहरूको व्यवस्था मिलाउने जिम्मेवारी लिनुभयो। यातायातको व्यवस्था गर्ने जिम्मेवारी सदस्य मोहन राईको भागमा पर्यो। कार्यक्रमको व्यानर तयार गर्ने तथा हाम्रो सम्पूर्ण यात्राभरिको भिडियो खिचेर वृत्तचित्र बनाउने जिम्मा मैले लिएँ। सदस्यहरू बिर्सिका राई खोटाङ र पाबिहाङ राई भोजपुरमै बस्नुहुन्थ्यो। संस्थामा आवद्ध अन्य साथीहरू कार्यव्यस्तताको कारणले जान नसक्ने भए।
पुस २१ गते बिहान ५ बजे नै कोटेश्वरको जडिबुटीमा भेला भयौँ। हामीमध्ये रमेशजी धुलिखेलमा र अमृत भादगाउँले भक्तपुर बस्नुहुन्थ्यो। भक्तपुरमा अमृत भादगाँउले जीलाई टिपेर गाडी बनेपा पुग्दा उज्यालो भयो। हामी काभ्रेको धुलिखेल पुग्दा घाम झलमल्लै भइसकेको थियो। रमेशजीको घर धुलिखेलको भट्टेडाँडामा हो। उहाँलाई लिन धुलिखेल बजारदेखि देब्रेतिर लाग्यौँ। भट्टेडाँडा पुग्दा रमेशजी आफ्नो १० दिनसम्म पुग्ने खानपिनको सामग्री लिएर हामीलाई पर्खिरहनुभएको थियो। भट्टेडाँडाबाट उत्तरतिर हेर्दा हिमालको लामो लस्कर देखिन्थ्यो। रमेशजीलाई सघाउन उहाँँको श्रीमती पनि आउनुभएको थियो। हामीले सबै सामान बोलेरोमा राखेर भाउजूलाई हिँड्नको लागि भाउजूसँग बिदा माग्यौँ।
दिक्तेल बजार पुग्दा दिउँसोको १२ बजेको थियो। बिहानदेखि केही नखाएकोले भोक अत्यधिक थियो। होटलमा गएर सबैभन्दा पहिले अघाउन्जेल खाना खायौँ। खाना खाएर नगरपालिकाको कार्यालय पुग्दा एक बज्यो। एकैछिनमा मेयर खनाल र उपमेयर बिना राईसँग छलफल सुरु भयो।

अध्यक्ष रमेशजी राईको ससुराली खोटाङको दोर्पातिर हो। यहीकारण खोटाङतिरको मान्छेसँग उनको चिनजान थियो। कार्यक्रममा हामी सबैको परिचय गराउने र सहजीकरण गर्ने काम गर्नुभयो। त्यससँगै उहाँँले नै हाम्रो मुन्दुम ट्रेलको अवधारणा, संस्थाको उद्देश्य र भविष्यको कार्ययोजना अगाडि राख्नुभयो। त्यसपछि पर्यटन विज्ञ तथा पत्रकार अमृत भादगाउँलेले कुनै पनि ठाउँको पर्यटन विकासको लागि थ्री एः एट्रयाक्शन, एक्टिभिटिज र एडभर्टिजमेन्टको सिद्धान्त लागु गर्नुपर्ने सुझाव पेश गर्नुभयो। करिब २ घण्टासम्म हामी सबैले आआफ्नो धारणा राख्यौँ। अन्तमा मेयर खनालजीले हाम्रो अभियानमा एक्यबद्धता जनाउदै आगामी दिनमा सहकार्य गर्ने संकल्प गर्नुभयो।
बैठक सकेर हामी दिक्तेलबाट चखेवातर्फ लाग्यौँ। केही वर्ष पहिले म जाँदाजस्तै त्यसपटक पनि बाटो कच्ची नै थियो। कच्ची बाटोमा धुलैधुलो हुँदै साप्सुखोला तरेर हामी बेलुका ८ बजेतिर मात्र चखेवा आइपुग्यौँ। त्यस पटक चखेवामा रमेशजी जीकै साइनोले नाती पर्ने एकजना स्थानीयको होटलमा फोन गरेर खानाको व्यवस्था गरेका थियौँ। त्यहाँ पुग्दा खाना तयारी थियो। खाना खाएर हामीमध्ये म इन्सु र मोहनजीचाहिँ त्यही राति टेम्के बेस क्याम्पसम्म पुग्ने भनेर बाटो लाग्यौँ। राति १० बजे बेस क्याम्प पुग्दा हल्का जुन लागेको थियो। हामीले सबैभन्दा पहिले सुत्नको लागि उपयुक्त ठाउँको खोजी गर्यौँँ। घरका ढोकाहरू प्रायः सबै खुल्लै थियो। त्यो घर पूरै सिमेन्टेड भएकोले चिसो हुने डरले हामीले बाहिरको काठको बरण्डामा सुत्ने निर्णय गर्यौँँ। पुसको महिना भएकोले धेरै जाडो थियो। हामीले भारी बोक्न अल्छी गरेर टेन्ट नल्याइ आयौँ। स्लिपिङ व्यागले मात्र जाडो छल्न सकेन। फलस्वरुप त्यो रात निकै कष्टकर गरी बित्यो।
रातभरिको जाडोले राम्ररी निद्रा लागेको थिएन। त्यसैले सबेरै उठेर टेम्केको चुचुरातिर लाग्यौँ। मत धेरै पटक त्यो डाँडाँमा पुगेर सूर्योदय र हिमालयको आनन्द लिइसकेको थिए। मोहन जी र इन्सु राई जी पहिलोपटक भएकोले निकै उत्साहित हुनुहुन्थ्यो। मेरो पहिलेको भ्रमण व्यक्तिगत जस्तो भएकोले बढी भावनात्मक हुने गर्दथ्यो। यसपालि सबै पर्यटनको विज्ञहरूसँगको अध्ययन भ्रमण भएकोले बढी प्राविधिक पक्ष हाबी भइरहेको थियो। हामीले घण्टाघण्टा र पाइलापाइलाका उचाइहरूको पनि रेकर्ड राखिरहेका थियौँ। पानीको स्रोतदेखि वासस्थानसम्मको दृष्टिकोणले उक्त ट्रेलको विस्तृत योजना तयार गर्नुपर्ने थियो।
आखिरमा घाम नझुल्किँदै हामी टेम्केको चुचुरामा पुग्यौँ। त्यहाँ पत्रकार विद्या राई र पाबिहाङ राईको टोली डाँडामा आगो ताप्दै चिया पिइरहेका थिए। उनीहरू त हिजो आएर राति टेम्के टावरको खाल्डोमा सुतेका रहेछन्। मैले इन्सु र मोहनजीको परिचय सबैसँग गराएँ। हेर्दाहेर्दै घाम झुल्कियो अनि सुरु भयो मुन्दुम ट्रेलको अर्को नयाँ अध्यायको। सबैभन्दा पहिला त हाम्रो संस्थाका उपाध्यक्ष इन्सु राई त्यो हिमालयको लामो लस्कर देखेर चकित हुनुभयो। उहाँँको अनुसार हिमालको दृश्यले म्याग्दीको पुनहिल र सोलुको पताले डाँडा महसुस गराएको थियो। अझ भन्दा टेम्के एक कदम अगाडि देखियो।
इन्सुले केही समय ती हिमालहरूलाई नियाल्नुभयो। ३३ वटा हिमशृङ्लाको नाम भन्नुभयो। जसमध्ये चोयु, माउण्ट एभरेस्ट, ल्होत्से, ल्होत्सेसार, मकालु र कञ्चनजंघा गरी ६ वटा त ८ हजार मिटर माथिका हिमाल रहेछन्। उहाँँको अनुसार एउटै ‘स्पट’बाट ८ हजार मिटरभन्दा माथिको ६ वटा हिमाल संसारको अरु कुनै ठाउँबाट पनि देखिँदैन। मुन्दुम ट्रेलको प्रचारको लागि हामीलाई चाहिने मुख्य आकर्षण तेस्रो दिनमै प्राप्त भयो। पहिले पहिलेको मेरो भावनात्मक आँखाले हेर्दा र त्यस यात्रामा प्राविधिकको आँखाबाट हेर्दा दुवै दृष्टकोणले अब्बल ठहरियो टेम्के डाँडा त। यति ठूलो रहस्य पहिले कसैले खोल्न सकेका थिएनन्। त्योभन्दा पहिला मलाई त झन् एउटा हिमालको नामसम्म पनि थाहा थिएन।
श्याम सामसोहाङ राईको पुस्तक ‘मुन्दुम ट्रेल’ कलम प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकमा यो लेखको पूरा भाग ‘मुन्दुम ट्रेलको नामकरण’ शीर्षकमा प्रकाशित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
