प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ? यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्?
पाँच दशकअघि र त्योभन्दा केहीपछिका केही सम्झना अर्नभका मनमा आउँछन्। स्मृतिमा कैद भएका ती स्मरण आजका ‘गुलाबी उमेर’का युवाले कति पत्याउलान्?
अर्नभ आफ्नो बाल्यकालको समयमा विचरण गर्न पुग्छ, उस समय विद्यालयहरू एकाध व्यक्तिले नितान्त आफ्नै खर्चमा खोलेका र 'मिसनरी'का अलावा सरकारी हुन्थे। अहिलेजस्तो जतासुकै विद्यालय, कसले कल्पना गर्न सक्थ्यो?
किताब भरिसक्य आफूभन्दा अघिल्लो 'ब्याच'ले पढेका नै खोजमेल गर्नुपर्थ्यो। मध्यम वर्गीय परिवारमा नयाँ किताब किन्न सक्ने सामर्थ्य हुँदैनथ्यो भन्दा अत्युक्ति नहोला। कतिसम्म भने भान्दाइ र दिदीले पढ्दा झुत्रो भइसकेको र कति पाना त च्यातिएर हराइ सकेकोबाटै पनि काम चलाउनु परेको थियो अर्नभलाई।
केपी बसु लिखित 'अल्जेब्रा'मा उसको भान्दाइले आफ्नो नाम लेख्नुभएको थियो, जुन लेखाइ दुरुस्त छापाझैँ थियो, ऊ आफ्ना साथीलाई देखाउँदै बठ्याइँ गर्थ्यो, ‘यी मेरो भान्दाइको नाम त किताबमै छापिएको छ।’ हात काम्ला या हल्लिएला, त्यो अर्को कुरा, उमेरले ८० पार गर्नु भएका भान्दाइका अक्षर आज पर्यन्त छापाजस्तै हुन्छन्।
छाता र गाता
त्यस बखतका विद्यार्थीसँग विद्यालय जाँदा लगाउने पोसाक प्रायः एक जोर मात्र हुन्थे। कतिपय त त्यही स्कुले युनिफर्म नै लगाएर बिहे, व्रतबन्ध र अन्य सामाजिक अवसरमा जान्थे। सबै नेपालीका घरमा छाता पक्कै हुन्थेन, कसैका घरमा हुन्थ्यो भने पनि घरमूलीसँग मात्र हुन्थ्यो। कार्यालयमा काम गर्न जानेसँग भने छाता हुनु अनिवार्यझैँ थियो।
विद्यालय जान लाग्दा या स्कुलबाट फर्कन लाग्दा पानी परेको अवस्थामा भिजेर जानुपर्थ्यो, जिउमै कपडा सुक्थे। एक जोर कपडा भएपछि दैनिक धुने कुरा सम्भव भएन। शनिबार त्यो अवसर जुट्थ्यो। भिजेका कपडा ओभाए ओभाइहाले नत्र चिसै लगाएर भोलिपल्ट स्कुल जानुको विकल्प थिएन। अर्नभ मध्यम वर्गीय ब्राह्मण परिवारको किशोर थियो। उसका मध्यम वर्गीय छरछिमेक साथीभाइ सबैको कथाव्यथा यस्तै यस्तै हुन्थ्यो। उस समय केटीहरू बिरलै स्कुल जान पाउँथे।
हिजोआजजस्तो 'डेडिकेटेड बुक कभर' त्यस जमानामा कहाँ पाउनु? किताब-कापीमा पुराना भित्ते पत्रिका वा अलि बाक्ला कागज खोजतलास र मागमुग गरी जिल्दा (जिल्ला) हालिन्थ्यो। कापी र किताब बोक्नका लागि कोही–कोहीसँग काँधमा छड्के पेटीले झुन्ड्याइएको कम्मरमा लच्किने खालको 'नेपाली झोला' हुन्थ्यो, अधिकांशले हातको पञ्जामै अड्याएर किताब कापी बोकी विद्यालय जाने आउने गर्थे।
पुस्तक र कापी झर्ने, हराउने वा पानीबाट भरिसक्य जोगाउने विषय विद्यार्थीकै सुझबुझमा निर्भर थियो। यद्यपि, यस्ता किताब सरदर तीन पिँढीले निर्बाध सदुपयोग गर्थे।
खाजा र नाना
उस बखत, अर्थात् २०२०–२१ सालताक विद्यालय समयमा खाजा खाने खासै चलन थिएन। स–साना पसल–कवलमा बकुल्ला, भटमास, केराउ, चना, बदाम आदि भुटेर बेच्ने चलन त थियो। दुई/दुई पैसाको तीन थरी चीज मिसाउन पाए, दुई जनालाई एक छिन चपाउन पुगिहाल्थ्यो। कतै खल्तीमा दुई/चार पैसा भएमा यसो मिसाएर मर्काउने गरिन्थ्यो– बकुल्लाको गेडा एक/एक गरी लामो समयसम्म चपाइरहेको स्मरण अर्नभलाई अहिले पनि छ।
अर्नभको परिवेश अरू विद्यार्थीको भन्दा फरक थियो– दाइसँग गुच्चा खेलेर जितेका बेला र भैरहवाका न्यौपाने साथीको घरबाट महिनावारी खर्च आइपुगेको बखत, ऊ खाजा मात्र होइन, आइसक्रिम पनि चुस्न पाउँथ्यो। त्यस्ता विशेष अवसरमा पाँच पैसामा एक टुक्रा पाउरोटी लिएर र पाँचै पैसाको एक कप दूधमा चोब्दै खान पाउनुको अवसर मिल्थ्यो उसलाई।
सम्भ्रान्तका छोराछोरीको जीवन जहिल्यै सहज थियो। सामान्य हुनेखाने परिवारका मुलिले प्वाल परेको चार पैसे वा पाँच पैसे ढ्याक स्कुले छात्रलाई दैनिक खाजा खर्च दिने गर्थे। तर त्यो पैसासमेत जोगाउन विद्यार्थी बाध्य हुन्थे, किनकि कुनै दिन अकस्मात् कापी सिद्धिएको क्षण बुबाले किन्दिन सक्नुहुन्न कि भन्ने डर उनीहरूमा रहन्थ्यो। आजको दिनमा झैँ आमाले समेत किताब–कापी किनीदिने समय थिएन त्यो। घरका आर्थिक हर्ताकर्ता प्राय: बा या हजुरबा हुन्थे।
अचम्मको समय थियो, काठमाडौँमा आजको भन्दा निक्कै बढी जाडो हुन्थ्यो। अहिलेजस्तो भुवादार कपडा र ज्याकेट उतिखेर कहाँ पाउनु? त्यसैले मान्छेका कपडा प्रायः सुतीनिर्मित हुन्थे। स्कुले विद्यार्थीको पोसाक हाफ पाइन्ट (कट्टु) र कमिज (सर्ट) हुन्थ्यो, जाडो र गर्मीमा अलिक बाक्लो र पातलोको मात्र फरक हो। जाडो नै छेक्न त, प्रायसँग उनी धागोको साधारण स्वेटरसम्म हुन्थ्यो। मिनपचास (जाडोयाम)को छुट्टीको नगिच त लुगलुग काम्दै वा दौड्दै जिउ तताएर विद्यालय जाने-आउने गरिन्थ्यो। २०२२ को माघमा दिउँसो भएको प्रवेशिका परीक्षामा चिसोले हात कठ्यांग्रिँदा दुवै हात बेस्कन रगडेर तताएको सम्झँदा आज अर्नभ अचम्मित हुन्छ। कति सारो जाडो हुन्थ्यो त्यति बेला हगी!
'शौचालयको सिकसिक'
काठमाडौँ वा नेपालका कुनै पनि शहर बाहिरका गाउँठाउँमा काँठ, पहाड, मधेशसमेतमा सम्भ्रान्त परिवारका घरमा बाहेक आममानिसका घर परिवेशमा शौचालय हुँदैनथे। पहाड र मधेशका गाउँमा त नदी, तलाउ, कुलो, खोल्सो आदि पानी उपलब्ध हुने स्थान विशेषका किनारा नै खुला शौचालयको रूपमा प्रयोग हुन्थ्यो। एकाध ठाउँमा अहिले पनि त्यस्तो अभ्यास होला पनि।
दिशा पिसाब अत्यन्त फोहोर बस्तु भएकाले त्यसको व्यवस्थापन घर वरपर गर्नुहुँदैन भन्ने आमधारणा थियो। अलि हुने खाने परिवारका घरमा चर्पी नै भए पनि घरबाट भएसम्म दुई/चार सय फिट टाढा हुन्थे। चार वटा करिब पाँच फिटे बाँस वा काठ गाडेर मान्द्रो, भकारी, बोरा, पुरानो बाक्लो कपडाजस्ता बस्तुले घेरेर, पस्ने कुना यसो तानेर वा सारेर काम चलाउने गरी चर्पी बनाइन्थ्यो।
कतिपय चर्पीको आकाशतर्फ खुल्लै हुन्थ्यो, कतिपय भने काँचो इँटाको गाह्रोमा माथि जस्ताले ढाकेका पनि पाइन्थे। त्यस्तोमा भने जस्ताकै ढोका हालिन्थे। शौच स्थलको भुइँमा माटो सम्याएर दिशा खस्ने प्रयोजनका लागि प्वाल राखिन्थ्यो। शौच गर्दा बस्नका लागि चेप्टा ढुंगा वा दुई/दुई वटा इँटा बिछ्याइन्थ्यो। दिशापिसाब भएसम्म तल्लो कान्लोमा रहेको खाल्डोमा झर्ने व्यवस्था हुन्थ्यो। समथर जमिन मात्र हुँदा खाल्डोमा झर्ने व्यवस्था हुन्थ्यो।
सामान्यतः दूधको पुरानो बट्टामा पानी लग्ने वा पुरानो या पत्रुमा भाँडामा पानी लिएर 'दीर्घ शौच' गर्न जाने चलन थियो। अर्नभ सम्झन्छ– उसको घर बानेश्वरमा पनि पहिले अलि कुनामा जुटका बोराले बारेको चर्पी थियो। बिसको दशकको शुरूमा भने इँटाको गाह्रो लगाएर घरको अगाडि नै नुहाउने धारा र पक्की शौचालय बेग्ला बेग्लै बनाइयो।
साझा र ट्रली बस
काठमाडौँमा २०१९ देखि साझा बस सञ्चालनमा आयो। रत्नपार्कदेखि गौशालासम्मको यात्रामा जताबाट चढेर जता उत्रे पनि १० पैसा शुल्क लाग्थ्यो। विद्यार्थीले त्यत्रो पैसा कहाँबाट जुटाउन्? उनीहरू हिँडेरै स्कुल आउजाउ गर्थे। उस बखत कार्यालय, विद्यालय वा स–साना काम विशेषले यताउति गाउँशहर आउजाउ गर्न हत्तपत्त बस चढिँदैनथ्यो। हतारको अवस्थामा मात्र बस चढिन्थ्यो। त्यसको अर्थ, बस चढ्नु एक प्रकारले बिलासी विषय थियो।
उतिखेर काठमाडौँमा शहर भन्नाले टुँडिखेलको पश्चिम र विष्णुमती नदीपूर्वमा रहेका एक आपसमा टाँसिएका घरलाई मात्र मानिन्थ्यो। बागबजार, डिल्लीबजारलाई पछि मात्र शहर भनिन थालेको हो। बानेश्वर त पछिसम्मै 'महादेवस्थान आदर्श गाउँ पञ्चायत' नै थियो।
चीन सरकारको सहयोगमा काठमाडौँ–कोदारी राजमार्ग २०२६ सालमा सम्पन्न भयो। २०३२ सालदेखि काठमाडौँ–भक्तपुर (सूर्यविनायक) बिन्दुसम्म चीन सरकारकै सहयोगमा ट्रली बस सञ्चालनमा आयो। यो सेवा करिब २५ वर्ष निर्बाध चल्यो र बन्द भयो। हामीले माल पाएर चाल पाए पो! यसबाट सिकेर अन्य अन्य केन्द्रबिन्दुमा यस्ता सेवा विस्तार गर्नुको साटो आफ्नै देशको विद्युतबाट चल्ने एक मात्र नमुना यातायातको साधन इतिहासमा बिलायो।
घर र बसोबास
उपत्यकाका कोरा शहरबाहिरका घर प्रायः भित्र काँचा इँटा र बाहिर पोलेको इँटाबाट बन्ने गर्थे। अधिकांश घरको स्वरूप भुइँतला, मटानतला र धुरीतला गरी तीनतले हुने गर्थ्यो। काठका दलान राखेर, सोमाथि दाउराका चिर्पट बिच्छ्याएपछि, मुछेको माटोको बाक्लो परत राखेर तला छापिन्थ्यो। यही प्रक्रिया गरेर झिँगटी वा टायलले छाइएका धुरी भने दुई, तीन वा चार पाखे पनि हुन्थे। सामान्यतः एउटा पाखोमा सानो कौशी बनाउने चलन थियो। झ्याल ढोका कम चौडाइका र साना हुन्थे। भित्र काँचो इँटाले बनाउँदा गाह्रो बाक्लो हुने, माटोको भुइँ र ससाना झ्यालहरूले गर्दा बाहिरको चिसो भित्र कम छिर्ने भई घर न्याना हुन्थे।
पुरानो बानेश्वरमा झन्डै चार रोपनी जग्गामा तलको झिँगटीको छानोजस्तै छाना, बाहिर पाकेको इँटा र भित्र काँचो इँटाले बनेको गाह्रो, तीन पाखेमध्ये पूर्वतर्फ कौशी निकालेको, मोहडा दक्षिण भएको, उत्तर चापिएको घर र बाँकी सबैतिर मकै भटमास र तरकारी लगाउने बारी नै अर्नभको घर परिवेशको चिनारी थियो।
अर्नभ सानो छँदाको समय यहाँ जाडो अधिक हुने गर्थ्यो। उसलाई सम्झना छ तीसको दशकसम्म काठमाडौँमा बाह्रै महिना सिरक ओढ्नुपर्थ्यो। जाडो याममा त सिरकमाथि राडी पाखी वा काम्लो थप्नुपर्थ्यो। कतिसम्म भने पुस महिनामा घरको कौसीमा अघिल्लो साँझ एउटा भाँडोमा अलिकति दूधमा पानी मिसाएर भोलीपल्ट हेर्दा जमेर बरफ बनेको हुन्थ्यो। त्यसैलाई आइसक्रिम भन्दै चपाउनुको बाल्य मजा अवर्णनीय थियो।
पानी र खोला
जाडोकै कारण पूजाआजा वा अन्य 'चोखोनितो' गर्नुपर्ने अवसरबाहेक शनिवार लुगा धोइन्थ्यो। अर्नभ अलिअलि बुझ्ने भइसक्दासम्म घरमा धारा जोडिइसकेको थियो। तर घरमै धारा हुनुपर्ने जरुरी उतिखेर खासै थिएन। पैसा खर्च गरेर धारा जडान गराउन नसक्नेहरूको हकमा केही घरलाई पायक पर्ने गरी अमुक गौँडाहरूमा सार्वजनिक धारा राखिएका हुन्थे। ती धारामा बिहान पाँच बजेदेखि करिब नौ, साँढे नौ बजेसम्म मज्जाले आउँथ्यो। बेलुका करिब तीनदेखि छ–सात बजेसम्म धारामा अटेसम्म पानी आउँथ्यो। त्यो पानी सिधै पिउनयोग्य हुन्थ्यो।
तीसको दशकसम्म उपत्यकाका सबै नदीमा कन्चन र स्वच्छ पानी बग्थे। त्यसो हुँदा धाराको पानीमै मात्र भर पर्नुपर्ने बाध्यता थिएन। कपडा धुँदा ठूलो माटोको अटलमा केही बेर भिजाएर मिचिमिची धुने गरिन्थ्यो। तेल परेका वा धेरै मैलो भएका कपडाहरू सजिलै सफा नहुने हुँदा खड्कौँलो, फोसी, तसला आदिमा खरानी हालेर पानीमा उमालिन्थ्यो। पकाइका ती कपडालाई केही बेर पकाउने र तत्पश्चात् मुग्रोले चुटिचुटी सफा गर्नुपर्थ्यो। यस्तो काम दिनमा गर्न सहज हुने हुँदा नदी किनारमै कपडा धोइपखाली गरिन्थ्यो।
अर्नभलाई धोबी खोलामा नुहाएको, माछा समातेको, बागमतीमा पौडी खेलेको अहिले पनि याद आउँछ। धारामा पानी नआउँदा पनि 'भोलि आउँछ कि' भन्ने आशामा मासिक शुल्क तिरिरहनुपर्ने अवस्था थिएन। घरघरमा जमिनमुनि ट्यांकी बनाएर पानी सञ्चय गर्न र मोटर लगाएर छतको ट्यांकीमा पानी तान्नु आवश्यक थिएन।
पानी कम हुन थालेपछि बिस्तारै उपत्यकामा जनमानसले कौसीमा ट्याङ्की राखेर पानी सञ्चय गर्न थाले। कति समय त मोटर नलगाईकनै तीन तलासम्म पानी निर्बाध चढ्थ्यो। पछि बिस्तारै जमिनमुनि पनि पानी सञ्चय गर्नु अपरिहार्य हुँदै गयो। अब त जसको घरको मोटर शक्तिशाली छ, उसैकोमा पानी तानिन्छ। अरूचाहिँ हेरेको हेर्यै।
जन्ममितिविहीन नागरिकता
त्यस बखत (२२ सालतिर) को नेपालमा नागरिकता लिन जन्ममिति उल्लेख गर्नुपर्ने थिएन। अर्नभकै उदाहरण लिँदा शाही नेपाली जंगी अड्डाका ग्याजेटेड अफिसर सुब्बाले वर्ष १६ को भनी सिफारिस गरिदिएपछि बागमती अञ्चलाधीश कार्यालयले उनलाई सजिलै नागरिकता प्रदान गर्यो। अर्नभ १६ वर्ष लागेको थियो, तर पुगेको थिएन। कागजकै प्रामाणिक उमेरको खोजी हुन्थ्यो भने त करिब दुई वर्षपछि मात्रै ऊ १६ वर्ष पुग्नेवाला थियो।
यस्ता गाँजेमाजे प्रसंगहरू सुन्न र पढ्न रमाइला लाग्छन्।
पुतलीसडकस्थित पद्योदयबाट प्रवेशिका परीक्षाका लागि फाराम भर्ने क्रममा शिक्षकले अर्नभलाई भने, ‘तेरो नेपाली उमेर टिपिदिनु, हामी अंग्रेजी तारिखमा उल्था गरेर भरिदिने छौँ।' उसले आफ्नो उमेर २००७ असोज ११ भनेर टिपोट फाराममा नत्थी गरेर छोडेको हो, तर प्रमाणपत्रमा उसको उमेर त ८ नोभेम्बर १९५१ बनेर आएछ। नेपाली तिथिमा ५६ वर्ष ८ महिना १५ दिन जति घटाउनु पर्नेमा के-के गरिएछ के-के?
अर्नभले विश्वविद्यालयको २१ वर्ष जागिर खायो। विश्वविद्यालयमै काम गरिरहेको भए उसले कागजअनुसार पूरा ६३ वर्षसम्म नोकरी गर्न पाउँथ्यो, फाइदै हुन्थ्यो, तर उसले त्यो चाहेन र ३२ वर्ष बढिदेखी ऊ विश्वविद्यालयको निवृत्तिभरण पाइरहेको छ। घाटा पनि हो कि– उसले पच्चिस सालमा नासुमा लोकसेवा दियो, अठार वर्ष पुगेको प्रमाण पेस गर्ने भनी नतिजा स्थगनमा पर्यो, पेस गर्न सकेन अनि उसले जागिर छाड्नुपर्यो र पछि विश्वविद्यालयको जागिरे भयो।
घट्टेकुलो र राजकुलो
गुलाबी पुस्तालाई कुरा बुझ्न सहज हुन्छ, जानेका कुरा लेखिहालौँ:
नेपालमा बाटो वा सडक कसरी बन्छन् भन्ने कुरा पनि रमाइलो छ। जंगल र पहाडमा पनि सहज ठाउँ हिँड्दै जाँदा ती खुँदिएर बाटो बने। मान्छे हिँडिरहँदा ती बाटो नै रहे, मान्छे हिँड्न थालेपछि बाटो पनि मेटिए। खेतबारीका अलिक अग्लो र अलि चाक्लो आँठो, आली, डिल अथवा पानी बग्ने कुलोको डिल जे भनौँ, त्यसैमा टेकेर हिँड्ने गर्दै जाँदा पनि बाटो बने।
स्वभावतः अग्लो चाक्लो आँठोको दायाँ-बायाँ अलग परिवारका जमिन हुन सक्थे। बिस्तारै बस्ती गाउँबाट शहरमा परिणत हुन थाल्यो। हिँड्ने बाटोले पुगेन, मोटर गुड्ने मार्गसमेत चाहियो। त्यही डिल वा आँठो यस्सो धस्याउँदा तिन फिट जति हुँदो रहेछ। अनि दुईतिरको जग्गाबाट तीन/तीन फिट लिएर मोटर गुड्ने मार्ग बनाइन थाल्यो। त्यतिले दोहोरो मोटर आवतजावत गर्न कठिन भयो। तब चौडा सडक चाहिने भयो, त्यसैमा फेरि दुवैतिर केही केही फिट थप्न थालियो। प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ?
यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्? काठमाडौँकै कति राजकुलो या घट्टेकुलोहरू हाल मार्ग वा सडकमा यसै गरी रूपान्तरण भएका छन्। उदाहरणका लागि मैतीदेवी चोकबाट दक्षिण पश्चिम जाने मार्गको नाम घट्टेकुलो मार्ग छ। त्यस्तै, इमाडोलमा ग्वार्कोबाट पूर्व जाँदा कमलपोखरी पुग्ने बेला दक्षिणतर्फ जाने अथवा बानेश्वर भीमसेन गोलामुनिको नयाँ बानेश्वरसम्म पुग्ने मार्गको नाम नै राजकुलो मार्ग छ।
नाम छ घट्टेकुलो र राजकुलो, हिँड्छन् सवारी साधन र मान्छेहरू। खास उमेरका मान्छेहरू घट्ट र कुलोका अर्थ बुझ्दा हुन्। गुलाबी उमेरका नानीबाबुहरूचाहिँ अन्योलमा पर्दा हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
