गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थान हल्कादेखि मध्यम वर्षा हुनेछ।

वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने सम्भावना छ।

बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।