भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग खेल्ने

भारत लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। अब उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ।

काठमाडौँ– आमन्त्रित टोली लेबनानलाई हराउँदै आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

भारत टाइब्रेकरमा ४–२ ले विजयी हुँदै उपाधि नजिक पुगेको हो। बैंगलरुको कान्तिरभा रंगशालामा दोस्रो सेमिफाइनलमा निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकेरमा पुगेको थियो।

टाइब्रकेरमा भारतका ४ खेलाडीले गोल गर्दा लेबनानका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए। लेवननका कप्तान हसन माटुकको पहिलो प्रहारलाई नै भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेका थिए।

खलिल बदरको प्रहार बाहिरिएको थियो। वालिद स्वर र मोहम्मद सादेकले मात्र लेबनानका लागि गोल गर्न सफल भए। भारतका लागि भने कप्तान सुनिल क्षेत्री, अनवर अली, महेश सिंह र उदान्त सिंहले गोल गरेका थिए।

भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ। कुवेत बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो।