विपद्को सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ।

काठकाडौँ– विपद्को पूर्वतयारी तथा जोखिम व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिने सूचना प्रणालीलाई निश्चित मापदण्डमा आधारित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

बाढीजन्य जोखिम आकलनसम्बन्धी नेपालमा हालसम्म भए–गरेका कार्यका बारेमा जानकारी, अध्ययन तथा नतिजाका बारेमा विचार–विमर्श, यससम्बन्धी अध्ययनको भावी आवश्यकता, अपुग र दिशा निर्देशका बारेमा विज्ञको उपस्थितिमा भएको तेस्रो विपद् संवादमा सहभागीले यस्तो बताएका हुन्।  

अहिलेसम्म जल तथा मौसम विज्ञान विभागले मात्रै विपद्जन्य सूचनाहरू प्रदान गर्दै आइरहेकाले त्यसलाई एउटा मापदण्डमा ढालेर पूर्वतयारी तथा जोखिम व्यवस्थापनको काम गर्न सके प्रभावकारी हुने उनीहरूको जोड थियो।

कार्यक्रममा जलवायुविज्ञ डा. दिलीप गौतम, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्रा.डा विष्णु पाण्डे, नेपाल इन्जिनियरिङ कलेजका प्रा.डा हरिकृष्ण श्रेष्ठले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।  

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आकलन विधि तथा कार्ययोजना गठन गर्न एक कार्यदल गठन गरेको जानकारी दिँदै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले छलफलमा प्राप्त सुझावले कार्यदललाई अध्ययन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ।

इन्जिनियरिङका प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठले बाढीको जोखिम आकलनका लागि धेरै निकायले काम गरिरहे पनि समन्वय हुन नसकेको बताए। उनले यसका लागि आवश्यक मापदण्ड तयार गर्नसके त्यसले व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

प्रा.डा विष्णु पाण्डेले जोखिम आकलनका लागि बनाइएका आधारको परिमार्जनको खाँचो औँल्याए। सो क्रममा प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले मनसुनपछिको विपद्जन्य घटनाका बारेमा जानकारी गराएका थिए।