विश्वकप छनोट : ६ खेलमा नेपालको २ जित, ४ पराजय

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।

काठमाडौँ– नेपाल एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो।

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ। नेपालले प्रतियोगिताको समूह चरणमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ‘प्लेअफ’मा यूएईलाई ३ विकेटले पराजित गर्‍यो।

नेपाल समूह चरणमा जिम्बावेसँग ८ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो। दुई पटक एक दिवसीय विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग भने १०१ रनको फराकिलो हार बेहोर्‍यो। मंगलबार नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्‍यो।

आयरल्यान्डका ह्यारी ट्याक्टरले सर्वाधिक ६० रन बनाए। उनले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कर्टिस काम्पर ६२, जर्ज डकरेल ३३, लोर्कन टकर २४, मार्क एडेयर १८, एन्डी म्याकब्राइन १७ र  पल स्टर्लिंग १५ रनमा आउट भए। गारेथ डेलानी १६ र ब्यारी म्याकार्थी ४ रनमा अविजित रहे।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। किशोर महतोले २ विकेट लिँदा गुलशन झा र सन्दीप लामिछानेको नाममा १/१ विकेट रह्यो।

त्यसअघि ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो।

नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, ओपनर अर्जुन साउद ४८, कुशल मल्ल ४४, सन्दीप लामिछाने ३२, रोहितकुमार पौडेल २९ र भीम सार्की २० रनमा आउट भए। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आयरल्यान्डका मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग योङ्ले २/२ विकेट लिए। कर्टिस काम्पर, गारेथ डेलानी र एन्डी म्याकब्राइनको नाममा १/१ विकेट रह्यो।