प्रख्यात नायिका इन्ग्रिड बर्गमान् भन्छिन्, ‘वृद्ध हुनु पहाड चढ्नुजस्तै हो। तपाईंलाई अलिकति सास फेर्न गाह्रो होला, तर त्यसपछि देखिने दृश्य झनै स्पष्ट र सुन्दर हुनेछन्।’
‘व्यक्ति जबसम्म सुन्दरता देख्न सक्षम हुन्छ, कहिल्यै बुढो हुँदैन’–फ्रान्स काफ्का।
एक दशकअघि एक 'वरिष्ठतम' व्यक्तिसँग दोस्ती शुरू भयो। हामीबीच नियमित जसो भेटघाट हुन थाल्यो। कहिले बिहानको पैदल यात्रामा त कहिले दूध या तरकारी किन्न जाँदा। उमेरले ८४ पुगे पनि सोचाइमा सधैँ जसो आधुनिकता र नूतनता देखिन्थ्यो। उनीसँग कुरा गर्दा कहिल्यै पनि धर्म, कर्म, पूजापाठ आदि विषय आउँदैनथ्यो, जुन प्राय: वृद्धवृद्धाहरूसँगको भेटघाटमा वार्ताको मुख्य विषय हुने गर्छ।
उनको हिँडाइमा वेग र बोलीमा दम थियो। उनी कहिल्यै आफ्ना घरायसी समस्या, दुःख, बिसन्चो र वेदनाका कुरा गर्दैन थिए, न त कहिल्यै आफ्नो वृद्धावस्थाप्रति चिन्ता व्यक्त गर्थे। छलफलको विषय बिलकुल अनौपचारिक हुन्थ्यो, हामी राष्ट्रिय या अन्तर्राष्ट्रिय राजनीतिक या आर्थिक गतिविधिमाथि चर्चा र अनुमान गर्थ्यौं। उनी अखबार, रेडियो र टिभीबाट प्रसारण हुने समसामयिक समाचारसँग सधैँ 'अपडेट' रहन्थे। उमंग र ऊर्जाका कारण उनको उमेर बेपत्ता हुन्थ्यो। यसबीचको संगतमा उनी फुर्तिला, रोचक र विनोदी देखिए।
केही वर्षपछि उनी कम देखिन थाले। पछि अनायास एक दिन उनीसँग बाटोमा भेट भयो। त्यतिखेर उनी ठ्याक्कै ८८ वर्षमा चल्दै थिए। यतिखेरको उनको हुलिया पहिलेभन्दा फरक थियो। लुगा अलि 'रफ' थियो, मुहारमा उदासी र घबराहट देखिन्थ्यो। मैले सोधेँ, 'दाइलाई सन्चो छैन कि के हो?' उनले 'हो र? म त्यस्तो देखिन्छु र? खासै त केही छैन,' पन्छिन खोजेझैँ गरी उनले उत्तर दिए।
तर उनले आफूलाई अभिव्यक्त नगरिरहन सकेनन्। केहीबेर सँगै हिँडेपछि उनले अलि लामो श्वास फेरे र भन्न थाले, 'पत्नी बाँचिराखेको भए यो अवस्था आउने थिएन। मेरो पेन्सन बुझ्ने दिन चार दिनअघि थियो। मैले भुसुक्कै बिर्सेछु। अहिलेसम्म यस्तो कहिल्यै भएको थिएन। उनी बाँचेकी भए पनि सम्झाइदिने थिइन् होला। आफ्नो एउटै सन्तान हो, उसले सम्झाइदिएको भए नि हुन्थ्यो नि। न त छोराले सम्झायो न त बुहारीले।'
अलि पर पुगेपछि हामी छुट्टियौँ। त्यसपछि उनीसँग मेरो कहिल्यै भेट भएन। कोरोना भाइरसको महामारीले धेरैको बाटो छेकेको समय थियो यो। कोरोना कहरका कारण शहर बजारमा हिँडडुलमा समेत नीतिनियम लाग्न थालेपछि हाम्रो भेटघाटमा 'ब्रेक' लागेको थियो। कुनै अर्को बिहान अखबारमा 'वृद्ध हराएको सूचना'मा मेरो आँखा पर्यो। तिनै मेरा मित्रको तस्वीर सूचनामा समेटिएको थियो। मेरो मन अमिलो भयो, त्यस रात मलाई उति राम्रो निन्द्रासमेत लागेन।
विषम परिस्थितिको उपाख्यान थियो यो। मेरा प्रौढ मित्रको काबुबाहिरको विषय थियो। नियतिको त्यस्तो झट्काबाट जोकोही 'अमिर–फकिर' पनि गुज्रनु पर्ने हुनसक्छ। स्मरण शक्ति नै क्षीण भएपछि आखिर कसको के लाग्छ? उमेर बढ्दै जाँदा स्मृति कमजोर हुने कुरा स्वाभाविक पनि हो।
अपवादबाहेक कमसेकम आजको दिनको मध्यम वर्गको मान्छे आफ्नो जीवनलाई व्यवस्थित गर्न लगभग सक्षम छ। तर यहाँनिर उल्लेख गर्नै पर्छ, सामाजिक र आर्थिक रूपमा विपन्न वर्गलाई भने युवाकाल होस् या वृद्धकाल, सधैँ जीवन चुनौतीपूर्ण हुन जान्छ। त्यसको औषधि सामाजिक न्यायसहितको राज्य व्यवस्था हो।
जवानी: सोच र अभ्यास
मूल विषयमै फर्कौं, बजार र बजारले बेच्ने नक्कली सपनाका पछि नलाग्ने हो भने भावी जीवन कस्तो जिउने भन्ने कुरा आम रूपमा व्यक्तिको हातमा हुन्छ। तर जीवनमा सबै कुरा व्यक्तिको नियन्त्रणमा भने हुँदैनन्। हाम्रो स्वास्थ्य अवस्था, वातावरण, परिवारको समझदारी र संवेदनशीलताजस्ता कुराले हाम्रो उत्तरवर्ती जीवन धेरै हदसम्म प्रभावित हुन्छ। तर पनि एक हदसम्म आफ्नो अविरल प्रयासबाट हामी स्वास्थ्य सन्तुलन कायम राख्न सक्छौँ। आर्थिक अवस्था सुदृढ र सम्बन्धहरू मजबुत बनाउन सक्छौँ।
दीर्घ जीवन हुनु राम्रो कुरा हो, तर त्योभन्दा अझै महत्त्वपूर्ण हो गुणस्तरीय जीवन। सबैभन्दा सुन्दर र सार्थक जीवन भनेको क्रियाशील जीवन हो। निष्क्रियतामा जिउनु बुढ्यौली हो। क्रियाशीलता, सहभागिता, सिर्जनशीलता र आशावादिताले वृद्धावस्थालाई अझै स्वस्थ र तन्दुरुस्त राख्छ। मलाई लाग्छ, जवानी उमेर त पक्कै हो, तर जवानी सोच र अभ्यास पनि हो।
प्रख्यात नायिका इन्ग्रिड बर्गमान् भन्छिन्, 'वृद्ध हुनु पहाड चढ्नुजस्तै हो। तपाईंलाई अलिकति सास फेर्न गाह्रो होला, तर त्यसपछि देखिने दृश्य झनै स्पष्ट र सुन्दर हुनेछन्।'
अर्को प्रसंग जोडौँ। केही महिना पहिले मनाङको तिलिचो ताल हेर्न हामी त्यसतर्फ गएका थियौँ। त्यहाँ पुग्न चार हजार नौ सय ५० मिटरको उचाइ चढ्नुपर्थ्यो। त्यस उचाइमा लेक लाग्ने डर स्वाभाविक थियो। बेसक्याम्पमा बास बस्ने क्रममा एक वृद्ध बेलायतीसँग साँझको खानासँगै बातचित भइरहेको थियो। दुवैले एक अर्काको उमेर सोध्यौँ। म साठीको दशकमा दौडँदै थिएँ भने उनी सत्तरीको। मैले सोधेँ, 'तपाईंको यात्रा तिलिचोसम्म मात्रै त होला नि?’ उनले भने, 'हामी तिलिचोबाट फर्केर थोरंलो पास जाँदै छौँ।' उमेरले उनी मभन्दा नौ वर्ष जेठा थिए र पनि उनको साहस देखेर मभित्र थप ऊर्जा जागृत भयो, तिलिचो ताल पुग्ने आँटमा जाँगर थपियो।
उसो त त्यहाँ पुग्न क्रममा पार गर्नुपर्ने विकराल पहाड, डरलाग्दा बाटा र त्यस क्रममा पहिरोको सम्भावनाले नतर्साएको होइन, तर पनि त्यो तिलिचो शिखर पुग्दाको अनुभूतिसँगै तिलिचो ताल वरिपरिको परिदृश्य अवलोकन गरेपछि आफू अझै जवान रहेछु भन्ने अपरिमित अनुभूति भयो। सुन्दरतामा मुग्ध र मोहित हुने स्वभाव बाँकी रहुन्जेल जवानी बाँकी नै रहने रहेछ।
समाजका जटिलता र बुढ्यौली
साहित्यहरूमा धेरै पटक भनिएको कुरो हो, 'जीवन आरोह र अवरोहहरूको संयोजन हो। दुःख र सुखहरू घाम छाया या रात या दिनजस्तै शाश्वत हुन्। एक पछि अर्को निर्बाध आउने।' त्यो निश्चितता या हकिकत बुझेपछि हामी मान्छे सुखमा धेरै मात्तिने र दुःखमा धेरै आत्तिने गर्दैनथ्यौँ होला। जवानीसँगै बुढ्यौली पनि त लुकेर बसेकै हुन्छ। दुर्घटना या कुनै असाध्य रोगका कारण अल्पायुमै मृत्यु भएन भने हामी सबै पुग्ने त आखिर वृद्धावस्था नै हो। तर जवानीमा यस्तो लाग्छ कि पुष्ट गालाहरू कहिल्यै चाउरिन्नन्।
आजको युग उपभोगवादी युग हो। जीवनस्तर उकास्न आजको युवा हरपल दौडमा छन्। लक्ष्य साधनाका क्रममा उनीहरू कतिपय सामाजिक, पारम्परिक मान्य मूल्य मान्यताहरूलाई पनि तिलाञ्जलि दिन तयार हुन्छन्। भूगोल, आचार–विचार सबै बदल्न सक्छन्। अंग्रेजीमा 'क्याट रेस' भनिने यो दौडमा सधैँ लक्ष्यछेदन नहुन सक्छ।
नेपाली वाङ्गयमा एक लोकोक्ति छ, 'माया उँधौली हुन्छ।' छोराछोरी विवाहपछि आफ्ना सन्तानको हेरचाहमा व्यस्त बन्छन्। सन्तानको रेखदेख, पालन–पोषण र गुणस्तरीय शिक्षाको लागि रातदिन चिन्तारत हुन्छन्। जीवन निर्वाह गर्न अथवा स्तर वृद्धि गर्न कमाउनै पर्यो। देशमा रोजगारीको अवसर न्यून भएपछि कमाउने तुफानी दौडानमा मान्छे कहाँ पुग्छ, थाहै हुँदैन। त्यस क्रममा उमेर ढल्केका बाआमा ओझेलमा पर्नु अस्वाभाविक होइन।
अनि यो प्रतिस्पर्धात्मक समयमा जति कमाउँदा पनि कम हुन्छ। अर्कोभन्दा राम्रो घरमा बस्नु पर्ने, बच्चाहरूलाई महँगो विद्यालयमा पढाउनै पर्ने। जन्म दिन, विवाहको वर्षगाँठ धूमधामसँग मनाउनै पर्ने आदि आदि। स्रोत र खर्चमा भारी अन्तर भएपछि या आम्दानीले खर्च धान्न नसक्ने भएपछि कमाउनका लागि परिबार त्यागेर लाहुर जाने त नेपाली समाजको परम्परा नै हो। यसो भएपछि प्रौढहरू निरीह बन्नु नौलो भएन।
कहिलेकाहीँ वृद्धवृद्धा आफैँ पनि भावनामा डुबेर ठूलो गल्ती गर्छन्। छोराछोरीलाई भएभरको सम्पत्ति सुम्पन्छन् र आफू नंगो बन्छन्। बुढेसकालमा छोराछोरीहरूले पालिहाल्छन् भन्ने अति आत्मविश्वासबाट धोका पाउँछन्। छोराछोरीप्रतिको अति आशक्तिले जीवन दाउमा राख्दा आफ्नै जीवन नर्क बन्न पुग्छ। परनिर्भरता सबैभन्दा डरलाग्दो हुन्छ, पूर्णायुका लागि स्वाधीनता सधैँ आवश्यक पर्छ।
छोराबुहारीहरूको त उमेर हुन्छ। बलिया हातपाउ र प्रशस्त समय भएकाहरूले जेसुकै गरेर पनि खान सक्छन्, आफ्नो बालबच्चाको लालन पालन गर्न सक्छन्।
तर उमेरले नेटो काटेपछि शरीर शिथिल हुँदै जान्छ, चाहेर पनि काम गर्ने ताकत हुँदैन। सहाराको आवश्यक पर्दै जान्छ। र, सहाराका लागि अहिले यान्त्रिक प्रविधिको समेत विकाश भएको छ, हुँदै छ। पैसा तिर्न सक्दा सहायता दिने जनशक्ति पनि उपलब्ध हुन्छ। अतः बुढ्यौलीका लागि आफ्नो थैली बलियो हुँदै तयारी गर्नुपर्छ। थैलीले साहस बढ्छ। थैलीले साधन स्रोत उपलब्ध गराउँछ।
अर्को पक्ष
प्रौढताको अर्को पक्ष छ। खासगरी जागिरेहरू अवकाशपछि शिथिल र दुर्बल देखिन्छन्। सक्रिय जीवनबाट निष्क्रिय बन्नुकै कारणले पनि शिथिलता आएको हुनसक्छ। खासगरी पहिले उच्च पदमा रहेर काम गरेकाहरू पहिलेको सेवा सुविधा, धाक र रवाफबाट पनि वञ्चित हुनेबित्तिकै आफू रित्तिएको अनुभूति गर्छन्। कति त अवसादमा समेत पुग्छन्।
अवकाश जीवनलाई जीवनको नयाँ शुरूआतका रूपमा लिन सक्दा त्यसको मजा लिन सकिँदो हो। हिजोको दिनमा, कमाउने व्यस्ततामा अधुरा रहेका इच्छाहरू पूरा गर्ने अवसरका रूपमा समेत प्रयोग गर्न सकिँदो हो।
ठूलो संयोगबाट घटित एक अवसर र उपहार हो जीवन। होस् र शान्तिपूर्वक सार्थक जीवन जिउने प्रयत्न गर्नुपर्छ। दीर्घायु जीवनको लक्ष्य अवश्य हो र त्यसका लागि जीवन सक्रियता र सिर्जनशीलता सधैँ आवश्यक छ। जवानी भनेको मन पनि हो। मनलाई सधैँ प्रसन्न र शरीरलाई फुर्तिलो राख्न सके भने जवानी कहिले पनि जाने छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
