साउनदेखि बैंकले आफू अनुकूल निक्षेपको ब्याज तोक्न पाउने

हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।

काठमाडौँ– निक्षेपको ब्याजदरमा भद्र सहमतिका नाममा हुँदै आएको ‘कार्टेलिङ’ खारेज गर्न वाणिज्य बैंकहरू सहमत भएका छन्।

नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले आगामी साउनदेखि बैंक आफैँले निक्षेपको ब्याजदर तय गर्न सक्ने निर्णय गरेको हो। साउन एकदेखि लागू हुनेगरी बैकले आफू अनुकूल निक्षेपको ब्याजदर तोक्न सक्ने बैंकर्स संघका सदस्य एवं एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए।

यसअघि वाणिज्य बैंकले भद्र सहमतिका नाममा ब्याजदरमा ‘कार्टेलिङ’ गरेको भन्दै विरोध हुने गरेको थियो। हाल साधारण मुद्दती निक्षेपमा सबै वाणिज्य बैंकले अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका थिए।

बैंकले चाहे बढीमा १० प्रतिशत परिवर्तन गरी निक्षेपको ब्याजदर निर्धारण गर्न सक्छन्। यसो गर्दा निक्षेपको ब्याजदर बढाएमा ११ प्रतिशतसम्म पुग्न सक्छ भने घटाएमा नौ प्रतिशतसम्म कायम हुनसक्छ।

हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।

बचतको ब्याजदर घटेपछि मात्र आधार दर पनि केही नियन्त्रण हुन्छ। बैंकले आधार दरमा केही प्रतिशत थपेर कर्जाको ब्याजदर निर्धारण गर्छन्।

वाणिज्य बैंकले गत मंगलबारसम्म कुल निक्षेप ५० खर्ब ४६ अर्ब हुँदा ४३ खर्ब १ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।