काठमाडौँ महानगरले आफ्ना नगर प्रहरीलाई नेपाल प्रहरीकै जस्ता पद र दर्ज्यानी चिन्ह दिएर सडकमा पठाएको छ। तर पालिकाका प्रहरीलाई यस्ता दर्ज्यानी चिन्ह दिने कानूनी व्यवस्था छैन।
काठमाडौँ- “एकपटक जफत भइसकेको साइकल वा ठेलागाडा फिर्ता लिन आए पनि हामी दिदैनौँ। कतिपय ठाउँमा हाम्रा प्रहरी नपुग्दै आफैँ ठेला घोप्ट्याएर सिन क्रिएट गर्ने काम भएको छ। पूरै भिडियो नदेखाएर हाम्रो प्रहरीलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ। ७७ जिल्लाको मान्छे यसरी काठमाडौँमा आएर व्यवसाय गर्दा काठमाडौँको हालत के हुन्छ?”
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे असार २६ गते सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिइरहेका थिए। उनी 'ड्युटी'मा हुँदा गाढा हरियो पोशाक र त्यस्तै रङको टोपी लगाउँछन्। पोशाकमा खुकुरी, डन्डा क्रस र दुईतारा भएको दर्ज्यानी चिन्ह हुन्छ। यो नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) ले लगाउने दर्ज्यानी चिन्हसँग हुबहु मिल्छ।
पाण्डे असार २७ गते राष्ट्रिय सभागृहमा नगर प्रहरीहरूलाई भेला पारेर नागरिकलाई गर्ने व्यवहार र नगर प्रहरीको आचरणबारे 'ब्रिफिङ' गर्दै थिए। नागरिकस्तरबाट नगर प्रहरीले अभद्र व्यवहार गर्नेगरेको गुनासो आउन थालेको भन्दै उनले आचरण सुधारका लागि निर्देशन दिए। “नागरिकले ‘तँ’ भने पनि सहनु, तर यताबाट 'तँ' भन्नु भएन। ‘तँ’ भनेको थाहा पाएँ भने कारबाही गर्छु,” उनले नगर प्रहरीलाई सम्झाएनन् मात्र, चेतावनी पनि दिए।
महानगर प्रहरीले साइकल र ठेलागाडामा व्यवसाय गर्नेहरूलाई लखेटीलखेटी सामान जफत गरेका भिडियो एकपटक होइन, पटक–पटक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। नगर प्रहरीको यस्तो व्यवहारको आलोचना भएपछि पाण्डेले आचरण सुधार गर्न निर्देशन दिएका थिए।

काठमाडौँ महानगरले पाण्डेलाई प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षक (एसपी)ले प्रयोग गर्ने दर्ज्यानी चिन्ह दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग हुबहु मिल्ने दर्ज्यानी चिन्ह महानगरको नगर प्रहरीलाई पनि दिने आधारचाहिँ के होला? जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृत आफूहरू पनि काठमाडौँ महानगर प्रहरीको बर्दीमा देखिने फुलीबारे स्पष्ट नभएको बताउँछन्।
“हाम्रो परिसरसँग सहकार्यका लागि नगर प्रहरीहरू दिनहुँजस्तो आइरहन्छन्। उनीहरूको फुली देख्दा अचम्म लाग्छ,” ती प्रहरी अधिकृत भन्छन्, “हामी पनि कन्फ्युज्ड छौँ। कुन ऐन र कानूनमा टेकेर फुली लगाएका होलान् भन्ने कुरा बडो गम्भीर छ।”
हालसम्म काठमाडौँ महानगरसँग प्रहरी ऐन छैन। महानगरपालिकाले आफ्नो नगर प्रहरी भने २०७२ सालदेखि नै सञ्चालन गरिरहेको छ। अहिलेसम्म विनियमावलीका भरमा मुलुकको राजधानीमा प्रहरी जस्तै देखिने नगर प्रहरीहरुले बलजफ्ती गरिरहेको देखिन्छ।
२०७४ को निर्वाचनपछि पाँच वर्ष स्थानीय तह हाँकेका जनप्रतिनिधि बिदा भएर अर्को निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएको पनि एक वर्ष नाघिसकेको छ। तर नगर प्रहरी सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बनेको छैन। काठमाडौँ महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले भने असार २६ गते राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा ‘महानगर प्रहरी विधेयक २०८०’ पेश भएको बताए।
के आधारमा दिइयो दर्ज्यानी?
काठमाडौँ महानगरका नगर प्रहरीमा जवान, हवल्दार, असई, सई, इन्स्पेक्टर, डीएसपी र एसपी गरेर स्थायी सेवाअन्तर्गतका १६५ र करारका सहित ३१६ जना कार्यरत छन्। नगर प्रहरीका तल्लोदेखि माथिल्लो दर्जासम्मले नेपाल प्रहरीले प्रयोग गर्ने दर्ज्यानी चिन्ह प्रयोग गर्दै आएका छन्। नगर प्रहरी प्रमुख पाण्डेले एसपीको दर्ज्यानी चिन्ह प्रयोग गर्छन्।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (क) मा नगरपालिका र गाउँपालिकाले नगर प्रहरी वा गाउँ प्रहरी गठन गर्न सक्ने व्यवस्था छ। तर त्यहाँ नगर प्रहरीको काम, कर्तव्य र अधिकारबारे मात्रै चर्चा छ। त्यस्तै, काठमाडौँ महानगरले बनाएको नगर प्रहरी सम्बन्धी विनियमावली २०७२ मा पनि नगर प्रहरीको दर्ज्यानी चिन्हबारे स्पष्ट उल्लेख छैन।
काठमाडौँ महानगरका सहायक प्रवक्ता दीपक अधिकारी २०७२ सालमा जारी भएको विनियमावलीअनुसार नै महानगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको दाबी गर्छन्। तर उक्त विनियमावलीमा नगर प्रहरीमा भर्ना हुन चाहनेका लागि योग्यताबारे मात्र उल्लेख छ। नगर प्रहरीको छनोट प्रक्रिया कस्तो हुने, के आधारमा कुन पद दिने तथा दर्ज्यानी चिन्ह के हुने वा कस्तो हुने उल्लेख छैन।
नेपाल प्रहरीका पूर्वएसपी रवीन्द्र रेग्मी नगर प्रहरीले नेपाल प्रहरीकै दर्ज्यानी चिन्ह प्रयोग गर्दा आमनागरिकमा भ्रम सिर्जना भएको बताउँछन्। ती चिन्हको प्रयोग विवादास्पद पनि रहेको र यसमा संघीय सरकारको गृह मन्त्रालयले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने रेग्मीको भनाइ छ।
“सरकारले यो विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्छ। देशको सुरक्षा निकायसँग नगर प्रहरीलाई दाँज्न मिल्दैन। फरक संगठन भएका कारण उनीहरूको पोशाक फरक हुनुपर्छ र ओहदाको लागि छुटै चिन्ह हुनुपर्छ,” रेग्मीले उकालोसँग भने, “काम कर्तव्य र अधिकार फरक भएका कारण नेपाल प्रहरीको दर्ज्यानी चिन्ह प्रयोगभन्दा पनि दुरूपयोग हुने खतरा बढेको छ।”

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि नेपाल प्रहरीको दर्ज्यानी चिन्ह प्रयोग गर्न नहुने बताउँछन्। प्रयोग गर्दा पनि सम्बन्धित संस्थाको अनुमति चाहिने उनको भनाइ छ। “यो विषयमा महानगर र नेपाल प्रहरी दुवैले भविष्यमा थप विवाद नहोस् भनेर स्पष्ट पार्नुपर्छ। यसलाई दुवैले समन्वयकारी ढंगबाट हल गर्नुपर्छ,” ठकुरी भन्छन्।
काठमाडौँ महानगरका सूचना अधिकारी वसन्त आचार्य भने नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्न नियमावली र ऐन नचाहिने दाबी गर्छन्। नगर प्रहरीको काम पनि नेपाल प्रहरीकै जस्तो भएकाले उस्तै दर्ज्यानी चिन्ह दिइएको उनको भनाइ छ। महानगरपालिकाले २०५१ सालदेखि नै नगर प्रहरीलाई नेपाल प्रहरीको जस्तै दर्ज्यानी चिन्ह प्रदान गर्दै आएको उनी बताउँछन्।
“जतिखेर संविधानमा नगर प्रहरी नै थिएन, त्यतिखेर नै महानगरको बोर्डले निर्णय गरेर दर्ज्यानी चिन्ह प्रदान गरिएको हो,” आचार्यले उकालोसँग भने, “हामी पनि सरकार हौँ। हाम्रो पनि अधिकार छ, त्यसलाई प्रयोग गरेरै नगर प्रहरी राखेका छौँ र ओहदाअनुसार दर्ज्यानी चिन्ह प्रदान गरेका छौँ। यो बहस गर्ने विषय नै होइन।”
दर्ज्यानी चिन्हबारे छैन समन्वय
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी कुबेर कडायत नगर प्रहरीले किन उस्तै दर्ज्यानी चिन्ह प्रयोग गरिरहेको छ भन्नेमा आफूहरू पनि स्पष्ट नरहेको बताउँछन्। पहिला नै महानगरलाई एउटै किसिमको दर्ज्यानी चिन्ह नराख्न अनौपचारिक रूपमा भनिएको उनी बताउँछन्।
“हामीले अलिक पहिला नै एकै खालको दर्ज्यानी चिन्ह नराख्न भनेका थियौँ। एकै खालको हुनु पनि हुँदैन। पहिला ललितपुर महानगर प्रहरीको पनि हाम्रोजस्तै थियो, तर अहिले उनीहरूले परिवर्तन गरेका छन्,” कडायतले उकालोसँग भने, “काठमाडौँ महानगरले पनि परिवर्तन गर्नुपर्ने हो, हालसम्म गरेको देखिँदैन।”
नगरभित्रको सुरक्षा, अतिक्रमित जग्गा भत्काउनेदेखि निषेधित क्षेत्रमा व्यवसाय गर्नेहरूलाई हटाउनेलगायत कार्यमा महानगर प्रहरीसँग नेपाल प्रहरीले समन्वय गरिरहेको छ। नेपाल प्रहरी र नगर प्रहरी भनेर नाम मात्र फरक भएका कारण नेपाल प्रहरीको दर्ज्यानी चिन्ह प्रयोग गर्नु गलत नभएको काठमाडौँ महानगरका सूचना अधिकारी आचार्यको दाबी छ।
“दुवै प्रहरीको काम एउटै भएपछि किन ऐन कानूनमा लेखिनु पर्यो? नेपाल प्रहरीले पनि हामीसँग समन्वय र सहकार्य गरिराख्नु भएकै छ। हामीलाई लाग्दैन उहाँहरूलाई कुनै किसिमको आपत्ति छ,” आचार्य भन्छन्, “यदि उहाँहरूलाई आपत्ति छ भने औपचारिक तवरबाट महानगरलाई चिठ्ठी लेख्नुपर्यो।”
नेपाल प्रहरीबाट दर्ज्यानी चिन्हको विषयमा औपचारिक रूपमा पत्र नआएको उनले बताए।
सेक्युरिटी कम्पनीका सुरक्षा गार्डलाई नगर प्रहरीको बर्दी
फुटपाथ व्यवसायीलाई अभद्र र अमानवीय व्यवहार गर्ने सातजना नगर प्रहरीलाई असार २६ गते काठमाडौँ महानगरले कारबाहीस्वरूप करार रद्द गरेको छ। ती नगर प्रहरीको करार रद्द गरेर उनीहरूलाई महानगरमा पठाउने सेक्युरिटी कम्पनीमा नै फिर्ता गरिएको छ। गत मंसिरयता खराब आचारण देखाएर फुटपाथ व्यवसायीसँग प्रस्तुत भएकाहरूलाई फिर्ता पठाइएको नगर प्रहरी प्रमुख पाण्डे बताउँछन्।

काठमाडौँ महानगरमा हाल करारका ११७ सहित ३१६ नगर प्रहरी छन्। करारमा लिइएकाहरू युनिक सेक्युरिटिजमार्फत नगर प्रहरीमा आएका हुन्। "सात जनालाई कारबाही गरेर फिर्ता पठाइएको छ। उनीहरूको ठाउँमा कम्पनीले नयाँ मान्छे पठाउँछ," पाण्डेले भने।
महानगरले युनिक सेक्युरिटिजसँग गत मंसिरमा १६२ जवान उपलब्ध गराउने सम्झौता गरेको थियो। त्यतिबेला पठाइएका १६२ मध्ये ८१ जना मात्रै महानगरले तोकेको मापदण्डभित्र परेका थिए। पछि ३६ जना थपिएको थियो। सम्झौताअनुसार महानगरले करारका एक नगर प्रहरी बराबर प्रतिमहिना २० हजार ५२३ रुपैयाँ उक्त कम्पनीलाई दिन्छ।
अहिले महानगरले थप १०० जना नगर प्रहरी भर्ना गर्ने भएको छ। धेरैवटा क्षेत्रमा काम गर्नुपरेको र हाल रहेको जनशक्ति अपुग भएको कारण जनशक्ति थप्नु परेको पाण्डे बताउँछन्। अनौठो त के भने सेक्युरिटी कम्पनीबाट करारमा ल्याइएका सुरक्षा गार्डलाई महानगरपालिकाले सिधै नेपाल प्रहरीको जस्तै दर्ज्यानी चिन्ह लगाएर सडकमा पठाउँछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
