सुनसरी र मोरङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा  दिउँसो पनि मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

काठमाडौँ– कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो बर्षा जारी भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भारी वर्षाका कारण सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङ खोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीको सम्भावना छ। यस्तै, होचा स्थानमा डुबानसमेत हुनसक्ने भएकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मनसुनी वायुको प्रभावले देशभर नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले ‍जनाएको छ। यसैगरी राति गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।