सीमाको प्रेमको उडानलाई तथाकथित 'अनर' (इज्जत) को सिमाना भत्काउने दृष्टान्तका रूपमा पनि लिन सकिन्छ। दुःखको कुरा, महिला भएकै कारण सीमाका अगणित दुःखहरू बाँकी नै छन्।
राजनीतिक, धार्मिक र रणनीतिक द्वन्द्वको चक्रव्यूहमा फसेका पाकिस्तान र भारत तथा तिनका मिडियाबीच अहिले अर्को नयाँ मसला थपिएको छ; पाकिस्तान–सिन्ध प्रान्तकी सीमा हैदर र उत्तरप्रदेश–ग्रेटर नोयडाका सचिन मिनाको अन्तरधार्मिक र अन्तर्देशीय प्रेम। धार्मिक पहिचानका आधारमा सीमा बलोच–मुसलमान थिइन् भने सचिन हिन्दू। भलै, अहिले सीमाले आफूले धर्म परिवर्तन गरेको बताएकी छन्।
वर्तमान विश्व मानचित्रमा पाकिस्तान र भारत धार्मिक तथा राष्ट्रवादी घृणा, घोचपेच र उत्पीडनका कथाका कारण चर्चा भइरहने देश हुन्। सन् १९४७ मा भारतबाट पाकिस्तान छुट्टिएयता अनेक रूपमा द्वन्द्वरत यी मुलुकबीच खासगरी भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी उदाएपछि घृणाको ‘ग्राफ’ बढ्दो छ। सीमा र सचिनलाई त्यही इन्टरनेटले जोडेको हो, जसमार्फत खासगरी दुई देशका नागरिकप्रति घृणा चढ्दो छ।
चार सन्तानकी आमा र नवयुवकबीचको प्रेम
सन् २०१४ मा पाकिस्तानकै गुलाम हैदरसँग बिहे गरेकी सीमाका चार सन्तान छन्। सीमाले हैदरको पहिले पनि बिहे भएको र त्यसमार्फत दुई सन्तानसमेत जन्मेको बताएकी छिन्। हैदर र सीमा गाउँबाट कराँची आए र त्यहाँ हैदरले रिक्सा चलाएर जीविकोपार्जन गरे/गराए।
सन् २०१९ मा गुलाम हैदर रोजगारीको सिलसिलामा साउदी अरब गएपछिका दिन सीमा र सचिनबीच अनलाइन खेलका माध्यमबाट 'भर्चुअल' भेट हुन थाल्यो। उतिखेर सचिन पब्जीका पुराना खेलाडी थिए भने सीमा सिकारु। उनीहरूले पब्जीमार्फत नम्बर साटासाट गरे, लामा–लामा कुरा गर्न थाले।
सचिन अविवाहित युवक थिए भने सीमा चार सन्तानकी आमा। आफ्नो सबैभन्दा ठूलो सन्तान आठ वर्ष पुगेको सीमा बताउँछिन्। यी दुईबीचको प्रेमले त्यतिखेर नयाँ मोड लियो, जब सचिनलाई भेट्न सीमा हवाईजहाज चढेर यूएईको शारजहाँ ‘ट्रान्जिट’ हुँदै नेपाल आइपुगिन्। काठमाडौँको पशुपतिनाथ मन्दिरमा आएर यी दुईले बिहे गरे। प्रशस्त व्यक्तिगत र अन्तरंग तस्वीर खिचे, भलै पहिलेका उनीहरूका प्रेम तस्वीरहरू अहिले आएर सार्वजनिक हुँदैछन्।
सीमाले आफ्नो प्रेमीलाई यूएईमा भेट्नेबारे पनि सोचेकी थिइन्, तर सचिनसँग राहदानी थिएन। राहदानीबिनै भारतीयहरू नेपाल जान सक्छन् भन्ने उनलाई थाहा थियो। त्यही बुझेर उनी नेपाल आइन् र आफ्नो प्रेमी भेटिन्। काठमाडौँमा एक हप्ता बिताएका यी 'दिवाना'हरू पछि आ–आफ्ना देश फर्के। सीमाका चार सन्तान कराँचीमै रहेका कारण पनि उनलाई सचिनसँगै रहन उतिखेर असम्भव भयो। राहदानी अभाव र सुरक्षाकै कारण पनि सचिनलाई पाकिस्तान पुग्न त्योभन्दा असहज थियो, त्यसैले सीमा र सचिन दुवै आफ्ना घर फर्के।
सीमाका अनुसार कराँची पुगेको त्यस्तै दुई महिनामा आफ्नो नाममा रहेको घर १२ लाख पाकिस्तानी रुपैयाँमा बेचेर उनी चार सन्ततिसहित पहिलेझैँ हवाईजहाजमार्फत पाकिस्तानबाट यूएई हुँदै नेपाल आइपुगिन्। काठमाडौँ ओर्लेर पोखरा पुगेकी उनी त्यहाँबाट दिल्लीको टिकट काटेर आफ्ना चार सन्तानसहित सचिनको घर (ग्रेटर नोइडा) पुगिन्।
यसो गरेर सीमाले सीमा उल्लंघनसम्बन्धी भारतीय कानूनको उल्लंघन गरेकी थिइन् र त्यस कार्यलाई सघाउने सचिन पनि दोषी नै भए। केही समय लुकिछिपी बसेका यी जोडीबारे प्रहरीले थाहा पाएपछि दुवैलाई पक्रियो। अहिले अदालतबाट जमानतमा रिहा भएका यी चर्चित जोडीलाई मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ। उता साउदी अरबमा रहेका गुलाम हैदर आफ्नो श्रीमती पाकिस्तानमै फिर्ता पाउनुपर्ने भन्दै भारतीय प्रधानमन्त्रीलाई समेत गुहारिरहेका छन्।
अनेक व्याख्या
यो प्रेमकथाको अनेकौँ कोणबाट सामाजिक सञ्जालमा व्याख्या भइरहेको छ। कतिपय भारतीयहरू सीमाको प्रेमलाई धार्मिक रूपान्तरणका रूपमा व्याख्या गर्दै रमाइरहेका छन्। यसो किन पनि भइरहेको छ भने भारतमा धार्मिक राष्ट्रवाद चर्को रूपमा फैलिरहेको छ। त्यस्तो राष्ट्रवादी भाष्यले भन्छ– भारतमा मुसलमानहरू हिन्दू स्त्रीहरूसँग बिहे गरेर उनीहरूलाई मुसलमानमा रूपान्तरण गर्छन्। यसो भएसँगै भारतमा हिन्दूको जनसंख्या घट्छ र मुसलमानको वृद्धि हुन्छ। यसो भएपछि भारतमा हिन्दूहरू अल्पसंख्यक हुने खतरा बढ्छ।
यस्तो चिन्तन हाबी भएको समाजमा सीमाको भारत आगमनले स्वतः बालिग र 'काविल' सीमासहित चार निर्दोष बच्चाहरूसमेत पाँच जना मुसलमान स्वतः हिन्दू बन्न पुगेका छन्। यसो हुँदा, कुण्ठाग्रस्त अन्धधार्मिकहरूका लागि यो विषय सानोतिनो विजय नै बन्न पुगेको छ। 'एउटा हिन्दूले मुसलमानको घर भाँडेको मात्रै छैन, उसकी श्रीमतीलाई आफ्नै बनाएको छ!'
कतिपय भारतीयहरू सीमा पाकिस्तानी जासुससमेत हुनसक्ने र भारतविरुद्ध षड्यन्त्रका लागि आएको हुनसक्ने बकम्फुसे तर्कसमेत गरिरहेका छन्। बकम्फुसे यसर्थ कि प्रविधिको यस युगमा अर्को देशको जासुसीका लागि एउटी चार बच्चाकी आमालाई प्रयोग गर्ने कुरा बेकार हो। अर्को कुरा, सम्भवतः यी दुई देशकै सेना, प्रहरी र सरकारी कर्मचारीका वरिष्ठ अधिकारहरू नै एक अर्का देशका लागि सुनियोजित रूपमा काम गर्न सम्भव छ। गरिरहेकै होलान्।
बीबीसीका अनुसार उसका रिपोर्टरहरू सीमाको नयाँ घर पुग्दा कतिपय मान्छेहरू सीमालाई तुलसीको बोटमा पानी हाल्न भनिरहेका थिए। उसो त, मिडियाहरू नियाल्ने हो भने सीमाले 'सीताराम' लेखिएको खास्टो भिरेकी छन्। पहिलेको नियमित 'मुस्लिम घुम्टो'को सट्टा निक्खर रातो घुम्टो ओढेकी छन्। कतिपय 'युट्युबे'हरूले उनलाई 'कुरानका आयत आउँछ कि आउँदैन?' भनेर सोध्दै हैरान पारेका समेत भेट्न सकिन्छ। उनी 'मैले बिर्सेँ' भन्दै विवादबाट बच्न खोजिरहेझैँ देखिन्छ। यस्तो लाग्छ, सीमालाई अहिलेको प्रेम जोगाउनु छ, कथम् भारतले पाकिस्तान फर्काइदेला कि भन्ने त्रास छ। जीवन जोगाउनुपर्ने त्रास जो अर्को छ।
कुन बलमा पुगिन नोयडा?
यी दुईको प्रेम वास्तवमै 'रोमान्टिक' देखिन्छ। पाकिस्तानको कुनै गरिब परिवारमा जन्मेकी, बल्लतल्ल कुनै एनजीओको सहयोगमा साक्षर बनेकी सीमाले प्रेमकै लागि सीमाहरू तोडेर भारतसम्म आउने कुरा आफैँमा दुस्साहसपूर्ण छ। किनकि, पाकिस्तानमा कमसेकम वार्षिक एक हजार 'अनर किलिङ' (पारिवारिक इज्जत प्रतिष्ठाका लागि गरिने छोरी(महिला)को हत्या) हुने गरेको छ। त्यस्तो समाजकी उनी हवाईजहाजमार्फत आफ्नो अवैध प्रेमी भेट्न मात्र गइनन्, दोस्रो पटक हवाई र स्थल मार्ग हुँदै चार सन्तानका साथ अनधिकृत रूपमा 'शत्रुदेश' भारत छिरिन्।
सीमाले त्यो स्तरको हरकत कुन मनोबलले गर्न सकिन्? महिलालाई कठोर अनुशासन र नियममा बाँध्न सिकाउने धार्मिक अनुशासन उनले कसरी तोडिन्? के साँच्चै मान्छेहरू साँच्चै धर्म र धर्मसँग जोडिएका नैतिकतासँग डराउँछन्? के 'हर्मोनल ड्राइभ'को बलमा मात्रै सीमा नोइडा पुगिन्? कि प्रेमका रुमानी कथाहरूले उनलाई नोइडा लपेट्यो?
'एकबारको जीवन'
विभिन्न अन्तर्वार्ताका क्रममा सीमाले प्रेमसँग जोडेर अनेक अभिव्यक्ति दिएकी छन्। प्रेमका लागि देश, धर्म र परिवारको सम्बन्ध त्यागेकी उनले बीबीसीसँग भनेकी छन्, “मान्छेको चोला एक पटकलाई न हो, एक दिन त मर्नै पर्छ। केही वर्षपछि बुढ्यौली र त्यसपछि मृत्यु। मेरा बुवा कुनै बेला जीवित हुनुहुन्थ्यो, मेरै आँखाअगाडि उहाँको देहान्त भयो। अन्ततः मैले मेरो माया रोजेँ।”
उनको यो उत्तर दमदार र दार्शनिक छ। जीवन एक महासंयोग हो। यो एक पटक मात्रै प्राप्त हुन्छ। पण्डित, मुल्लाह र पादरीहरूले जति नै जन्म, पुनर्जन्म, स्वर्ग र नर्कका भाषण छाँटे पनि चैतन्य जीवन एक दुर्लभ अवसर हो। जीवनमै घटित हुने यावत् भावनात्मक र शारीरिक सुखभोग नै स्वर्ग हो। सम्भव भएसम्म अरू मान्छेलाई मात्रै होइन, कुनै जीवलाई समेत कष्ट नदिई सुखभोग गर्नु मानवीय कर्म हो। सीमाले आफ्नो प्रेम प्राप्तिका क्रममा पूर्वपति गुलाम हैदर र आफ्ना सन्तानलाई कष्ट दिइन् भन्न मिल्छ। उमेरजन्य प्रेमाकर्षण, आमा हुनुको जिम्मेवारी लगायतका अनेक भंगालोमा परेकी उनलाई पितृसत्तात्मक समाजले उनी बाँचुन्जेलसम्म प्रश्न गरिरहने छन्। तर एक बारको जीवनमा मनैले खाएको आफ्नो प्रेमीलाई भेटेकी उनी अहिले मुस्कुराइरहेकी छिन्।
वैदेशिक रोजगारीका मनोसामाजिक असर
वैदेशिक रोजगारी पाकिस्तान, नेपाल, बंगलादेश, भारतजस्ता देशहरूको बाध्यता हो। उसो त, विश्वव्यापी रूपमै रोजगारीका लागि परदेश जाने लहर चलेकै छ। यसले खासगरी मर्कामा परेका छन्, सीमा र गुलामजस्ताका विपन्न परिवार। विदेश जाने लहरले सीमाजस्ता महिलाहरू एकै पटक धेरै सन्तान पाल्न हुर्काउन त विवश छँदैछन्, 'पार्टनर'को अभावमा भावनात्मक र शारीरिक आवश्यकताका हकमा पनि ती कुण्ठित हुने गरेका छन्। उता, विदेश गएका पुरुषसमेत शारीरिक र भावनात्मक साथीको खोजीमा भौँतारिन्छन्। लागुपदार्थ र यौनकर्मीको सरसंगतमा पुग्छन्, जसले अवस्था झनै जटिल बनाउँछ।
पब्जीको प्रभाव
इन्टरनेटमार्फत खेलिने पब्जी खेल नेपालमा झन्डै 'दानवीकरण' गरिएको खेल हो, जसलाई २०७५ साल चैत्रमा तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। पछि सर्वोच्च अदालतको आदेशमार्फत प्रतिबन्ध खुल्यो। उसो त, पब्जीजस्तै 'एडिक्टिभ' खेलहरू इन्टरनेटमा हजारौँ संख्यामा भेटिन सक्छन्। भारतमा पब्जीमाथि प्रतिबन्ध जारी छ, तर 'भीपीएन' प्रयोग गरेर पब्जी खेल्न नसकिने होइन।
अन्य कुलतहरूझैँ इन्टरनेट र इन्टरनेट गेमिङका कुलतहरू आजको समाजका चुनौती हुन्। रोजगारी र सही मार्गदर्शनका अभावमा इन्टरनेटमै घण्टौँ बिताउने र आफ्नो र परिवारको आर्थिक उत्थानको साटो परिवारकै बोझ बन्ने व्यक्तिहरू थपिँदै छन्। इन्टरनेटकै माध्यमबाट सिधासाधा मानिस जाली र ठगहरूको चंगुलमा फस्ने सम्भावना त्यत्तिकै छ। इन्टरनेटमार्फत हुने अपराध विश्वव्यापी रूपमा चुलिँदै छ। सीमा र सचिनबीचको यो विचित्र प्रेमकथामा जोडिएको पब्जीलाई राज्य र परिवारले त्यस आँखाबाट हेर्दै पाठ सिक्न सक्छन्।
अन्त्यमा,
भारतमा सचिनको अँगालोमा सीमा रमाउँदै गर्दा गुलाम हैदर साउदी अरबमा आफ्नो घर 'भाँडिएको'मा चिन्तित छन्। आफ्नो घर छाडेर हिँड्ने सीमाप्रति उनी क्रुद्ध छन् भन्ने कुरा टेलिभिजन अन्तर्वार्ताहरूबाटै प्रस्ट हुन्छ, तर आफ्ना कलकलाउँदा सन्तानका मायाले तिनी पक्कै छटपटिएका होलान्। सीमा हैदरलाई आफ्नो नवप्रेम छुट्ला भन्ने त्रास छ। सचिनलाई पनि त्यस्तो पक्कै त्रास होला। सीमा कहिले 'पूर्वश्रीमान्ले लैजान चाहे सन्तान फर्काउन पनि तयार छु' भन्छिन् त कहिले '१६ वर्ष नपुगेसम्म बच्चाको अधिकार आमाकै हुन्छ' पनि भनिरहेकी छन्।
तर उनी एउटै कुरा दोहोर्याइरहेछिन्, “मलाई पाकिस्तान फर्कन मन छैन। त्यहाँ जान चाहन्नँ। म यहीँ मर्न चाहन्छु। ग्रामीण पाकिस्तानमा म पुगेँ भने मलाई त्यहाँ ढुंगाले हानेर मारिनेछ।”
सीमाको यो क्रन्दन समग्र विश्वभरका उत्पीडित महिलाको आवाज हो। उनीहरू विश्वभर अन्धविश्वास, रूढ संस्कृति र मान्यताका कारण पीडित छन्। उनीहरूमाथि जहाँसुकै प्रश्न चिन्हहरू उठाइन्छन्। 'आइमाई भएर यसरी हिँड्छे, यसरी खान्छे, यस्तो पहिरन लगाउँछे' भन्दै पुरुषसत्ता प्रश्न मात्रै तेर्स्याउँदैन, उस्तै परे दपेट्छ पनि। महिलाको योनीमा इज्जत देख्ने हाम्रै समाज यदाकदा इज्जतका लागि छोरी र बुहारीहरूको हत्या गर्छ। संयुक्त राष्ट्र संघको अनुमानमा अनर किलिङकै कारण वर्षमा हाराहारी पाँच हजार महिला/युवतीको हत्या हुने गरेको छ। खासगरी मध्यपूर्व र दक्षिण एशियामा यो महामारीकै रूपमा छ।
सीमाको प्रेमको उडानलाई तथाकथित 'अनर' (इज्जत) र मर्यादाको सिमाना भत्काउने दृष्टान्तका रूपमा पनि लिन सकिन्छ। तर दुःखको कुरा, महिला भएकै कारण सीमाका अगणित दुःखहरू बाँकी नै छन्। सीमाका दुःखका भारी त छँदैछन्, आमाको 'पोइल'सँगै आएका तिनका बच्चाहरू शायद जीवनभर यिनै विषयका कारण लाञ्छितसमेत हुनेछन्।
अहो! यस जगत्मा मान्छेका मान्यता र अन्धविश्वासका कारण मान्छेहरू नै कति उत्पीडनमा छन्। मानव गरिमामाथिका यस्ता भार र दलनका घनचक्करको कहिले अन्त्य होला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
