दक्षिण कोरियामा बाढीका कारण २० जनाको मृत्यु, हजारौँलाई सुरक्षित स्थानमा सारियो

दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।‍ बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।

दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।‍ मुसलधारे वर्षाका कारण सडक जलमग्न भएको छ, भलबाढीले सवारीसाधन बगाउनुका साथै रेल सेवा अवरुद्ध भएको छ। 

सरकारी अधिकारीका अनुसार अन्य १० जना हराइरहेका छन् भने अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ।

अधिकांश हताहतीका घटना उत्तरी ग्योङसाङ प्रान्तका भएको छ। यहाँ पहाडी क्षेत्रमा गएको पहिरोका कारण घरहरू भत्किएका छन्। आपत्कालीन उद्धारकर्ताले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अति प्रभावित क्षेत्रका सबै घर बाढीमा बगेका छन्। प्रधानमन्त्री हान डक सोले सेनालाई उद्धारकार्यमा खटिन भनेका छन्।

मध्य चुङचियोङ प्रान्तको भूमिगत सुरुङ मार्गमा १९ वटा कार डुबेको अधिकारीहरूले बताएका छन्। विभिन्न स्थानीय सरकारले जारी गरेको उद्धार आदेशका कारण हजारौँ मानिस प्रभावित भएका छन्।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार गोसान बाँधमा स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे पानी बग्न थालेपछि करिब ६ हजार ४ सय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बाँधभन्दा तल्लो क्षेत्रका गाउँका साथै उनीहरूलाई जोड्ने धेरै सडकहरू जलमग्न भएको बताइएको छ। भलबाढीले सडक अवरुद्ध भएका कारण केही बासिन्दाहरू घरमा फसेका छन्।

देशको राष्ट्रिय रेल अपरेटर कोराइलले सबै स्लो ट्रेन र केही बुलेट ट्रेनहरूको सञ्चालन स्थगित गर्ने घोषणा गरेको छ र अन्य बुलेट ट्रेन सेवाहरू अवरुद्ध हुने बताएको छ। कोरियाली मौसमसम्बन्धी कार्यालयका अनुसार आगामी साताको बुधबारसम्म अझै वर्षा हुने प्रक्षेपण गरिएको छ। उसले मौसमी अवस्थाले गम्भीर खतरा निम्त्याउने चेतावनी दिएको छ।

अत्यधिक वर्षाका कारण भारत, चीन, जापानलगायत विभिन्न देशमा पछिल्लो एक सातायता बाढी र पहिरो गएको छ। बाढी आउनुमा धेरै कारणहरू भए तापनि वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण हुने तातो वायुमण्डलले अत्यधिक वर्षाको सम्भावना बढाउँछ।