ललिता निवास प्रकरण : १७ जनामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

अदालतले आरोपीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

काठमाडौँ– ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपीलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो। यसअघि सीआईबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो।

त्यसपछि अहिले पुनः सीआईबीले अनुसन्धान थालेको हो। आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सीआईबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ। केही आरोपीहरूले भने बन्दी प्रत्यक्षीकरण रिट दिएका छन्।