नेपालको राष्ट्रिय टोली भारत 'ए'सँग डे नाइट क्रिकेट खेल्दै

इमर्जिङ कपमा भारत 'ए'विरुद्ध मैदान उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँचौँपटक डे नाइट क्रिकेटको अनुभव लिँदैछ। तर यो खेललाई ओडीआई मान्यता छैन।

काठमाडौँ- नेपालको राष्ट्रिय टोलीले सोमबार भारत 'ए'सँग 'डे नाइट' क्रिकेट खेल्दैछ। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आफ्नो दोस्रो खेल भारत 'ए' सँग खेल्ने लागेको हो।

स्थानीय समयअनुसार दिउँसो २ बजेबाट खेलाइने यो खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ। पहिलो इनिङ्स प्राकृतिक उज्यालोमा र दोस्रो इनिङ्स कृत्रिम उज्यालोमा खेलाइनेछ। नेपालले डे नाइट खेलको तयारीका लागि आइतबार रातिको समयमा अभ्यास गरेको थियो।

नेपालले यसअघि डे नाइट क्रिकेट खेलिसकेको छ। २०२१ सेप्टेम्बरमा ओमनमा भएको लिग-२ का खेल डे नाइट भएका थिए। नेपालले ओमन र अमेरिकाविरुद्ध खेलेको थियो। नेपालले पहिलो डे नाइट २०२१ सेप्टेम्बर १३ मा अमेरिकाविरुद्ध खेल्दै जित हासिल गरेको थियो। जम्मा चार वटा डे नाइट खेलेको नेपालले दुई वटामा जित र त्यतिमा नै पराजय बेहोरेको छ।

यसपटक ५० ओभरको इमर्जिङ कपमा सहभागी अन्य देशले 'ए' टिम खेलाएका छन्। नेपालले भने आगामी एशिया कपका लागि भन्दै राष्ट्रिय टोली पठाएको छ। यद्यपि, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, आरिफ शेख जस्ता अनुभवी खेलाडीलाई विश्राम दिइएको छ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान 'ए' सँग ४ विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपालले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको थियो। तर टप अर्डर ब्याटर क्रिजमा जम्न नसक्दा नेपालले खराब प्रदर्शन गरेको थियो।

उता, भारत 'ए'ले पहिलो खेलमा यूएई 'ए'लाई हराएको थियो। भारतले युवा खेलाडीलाई समेटेर 'ए' टिम पठाएको छ। भारतीय टिमको कप्तान यस डुलकै कप्तानीमा यू-१९ विश्वकप जितेको थियो।