देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

साथै, गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाको भनाइ छ। 

राति देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।