रोल्वालिङ पर्यटन क्षेत्रको प्रवर्द्धनमा स्थानीय तहले अग्रसरता नलिएको गुनासो

लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ– दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनसम्बन्धी दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनविद् वैकुण्ठनारायण प्रधान, पर्यटन व्यवसायी उमा खकुरेल, पत्रकार रमेश खड्का लगायतले सो क्षेत्रमा पर्यटन प्रवर्द्धनमा स्थानीय तहले चासो नदिएकोमा चिन्ता व्यक्त गरेका हुन्। 

पर्यटनविद् प्रधानले गौरीशंकर हिमाल वरपरको क्षेत्र धार्मिक पर्यटनको दृष्टिले पनि संसारका लागि महत्त्वपूर्ण गन्तव्य स्थल भए पनि त्यसको विकासका लागि स्थानीय सरकारले सरोकारवाला निकायसँग छलफलसमेत गर्न नचाहेको गुनासो गरे।

उनले विज्ञहरूसँग परामर्श गर्ने, आवश्यक बजेट विनियोजन स्थानीय तहले गर्ने हो भने गौरीशंकर हिमाल र यसको आसपासका रोल्वालिङ क्षेत्र पर्यटकीय गन्तव्य बन्ने र त्यसले स्थानीय स्तरमै आर्थिक समृद्धिको आधार निर्माण हुने तर्क गरे।

“उहाँहरूको बजेट के मा खर्च भएको छ? खानेपानी, बाटो, सिँचाइमा। कम्तिमा १० प्रतिशत पनि बजेट त्यसमा खर्च गर्ने हो भने, विज्ञहरूसँग पनि परामर्श गर्ने हो भने यस क्षेत्रलाई पर्यटकहरूको आकर्षणको गन्तव्य बनाउन सकिन्छ,” उनले भने।

पर्यटन व्यवसायी उमा खकुरेलले रोल्वालिङ क्षेत्रलाई हिमाल आरोहणका लागि प्रशिक्षण दिने मुख्य स्थल बनाउन सकिने उल्लेख गर्दै त्यसमा विशेष ध्यान पुर्‍याउन पनि सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यकता औँल्याइन्। उनले सो क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघल गायतका सरोकारवाला निकायहरूसँगको सहकार्य उपयोगी हुने धारणासमेत राखिन्।

“रोल्वालिङ क्षेत्रमा हिमाल आरोहणका लागि प्रशिक्षण दिने व्यवस्था गर्न सकिन्छ। नेपाल पर्वतारोहणसँग लगायतका सरोकारवाला निकायसँग पनि सहकार्य गरेर यस क्षेत्रलाई पर्यटकहरूको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ,” उनले भनिन्।

सो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि वातावरणको निर्माणमा सो क्षेत्रका सरोकारवालाहरू जुट्नुपर्ने पत्रकार रमेश खड्काको सुझाव थियो। उनले च्छो–रोल्पा जस्ता हिमतालहरू त्यहाँ भए पनि बाटोलगायतका पूर्वाधार विकास नभएका कारण ओझेलमा पर्न गएको पनि स्मरण गराए।

“आन्तरिक पर्यटकहरूलाई हामीले त्यहाँ कसरी पुर्‍याउने भन्ने विषय छलफलको मुख्य विषय हो। टुरिजम भनेर हामीले कथा मात्रै भनेर हुँदैन। त्यसका लागि वातावरण निर्माण गर्नुपर्छ,” उनले भने।

विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले सो क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक आवास, विद्युत् र टेलिफोन निर्माणको कामलाई तीव्रता दिइएको जानकारी गराएका थिए।