मणिपुरका महिलाहरूको एउटा 'अपराध' यो पनि हो कि उनीहरू आफ्नो नागरिकताबारे सचेत छन्, उनीहरू वर्षौंसम्म धर्नामा बस्छन्, आवश्यक पर्दा सेनाविरुद्ध समेत प्रदर्शन गर्छन्।
पछिल्ला दिन भारतको पूर्वोत्तर मणिपुरबाट आएका भिडियोहरूले हाम्रो आङ जिरिङ्ग हुन्छ। त्यसले मस्तिष्कलाई शून्य पार्छ, र रगतलाई कतै नसाहरूमै जमाउलाझैँ गर्छ। यस्तो किन हुन्छ? किनभने हामीले यस्ता भिडियोमा अन्याय र अपमानको भयानक अमानवीयता आफ्नै नांगो आँखाले देख्न सक्छौँ।
तर मणिपुरले त यसअघि पनि यस्ता दृश्यहरू देखेको छ। यस्तै अमानवीयताकै कारण धेरै वर्षअघि मणिपुरका महिलाहरूलाई राज्यविरुद्ध नग्न प्रदर्शन गर्नसमेत बाध्य पारेको थियो। (उतिखेर उनीहरूले पूर्वोत्तरका नागरिकहरूविरूद्ध भारतीय राज्यले र खास गरी सैनिक बलले विभेदकारी व्यवहार गर्ने गरेको भन्दै भारतीय सैनिकविरुद्ध प्रदर्शन गरेका थिए। सं.)
यसपटक समेत महिलाविरुद्धको क्रूरताको यो एक्लो घटना हो वा धेरै महिला यस्तै भयानक उत्पीडनको शिकार भए भन्नेबारे हामीलाई थाहा छैन। तर, हाम्रा अरू थुप्रै नागरिकले यस्तो दुःख भोगेका छैनन् भन्ने कुरामा शंका छ। दंगा, युद्ध वा कुनै पनि किसिमको द्वन्द्वमा महिला यस प्रकारले सिकार हुने कुरा लगभग आम इतिहासका विषय हुन्। र, त्यसका धेरै प्रमाणहरू समेत भेटिन्छन्।
तर ती इतिहासका घटनाले हामीलाई चिन्तित पार्दैनन्, किनकि ती घटना हाम्रो आँखाअघि भएका थिएनन्। घटनाको वास्तविक तस्वीर हाम्रो आँखाले नदेखेको भएर हामीलाई तिनले धेरै प्रभाव नपारेको हो।
तर यस्तो अन्याय सर्वत्र व्याप्त छ र न्याय संयन्त्रले कैयौँपटक यस्ता घटनालाई संरक्षण गरेको देखिन्छ।
बिल्कीस बानोका बलात्कारी, तिनको सार्वजनिक सम्मान तथा राज्यप्रति तिनको उदारता यति भर्खरैको हो कि त्यसलाई याद गर्नसमेत प्रयत्न गर्नुपर्दैन। त्यसैगरी, देशका ख्यातिप्राप्त पहलवानहरू बलात्कार र महिला हिंसाविरुद्ध अनशनमा बसे, वर्षाको रातमा खुला आकाशमुनि सुते, प्रहरीको कुटपिट झेले, तर उत्पीडनका आरोपी बृजभूषण शरणसिंह (भाजपा नेता)को एउटा रौँ पनि झरेन। के यसले हाम्रो चेतनामा समस्या भएको संकेत गर्दैन? यदि, त्यसो होइन भने मणिपुरको भिडियो देखेर लज्जित हुनुपर्ने हक तपाईं हामीमा कति छ?
अहिलेको सत्तारुढ दलले यस विषयमा केबल गोहीको आँसु बगाएको छ भनी प्रमाणित गर्न, आत्मनिरीक्षणका लागि अथवा राजनीतिक रूपमा लाञ्छित गर्न यो टिप्पणी लेखिएको होइन। सत्य यो हो कि यी घटनाहरू हाम्रो समाज र देशको असफलताको परिणाम हो।
हामी उनीहरूप्रति दयालु हुँदा उनीहरू (महिला र युवती)लाई हामी बुहारी र छोरी बनाउँछौँ, निर्दयी भएपछि लुगा फुकालेर भिडियो बनाउँछौँ। यसपटक पनि 'छोरी–बुहारीको इज्जत'को विलापले हामी अझै आफ्नो पाखण्डबाट मुक्त हुन तयार छैनौँ भन्ने देखाउँछ।
यसो भनेर मणिपुरका लागि बगेको हाम्रो आँसु नक्कली हो भन्न खोजिएको होइन, त्यो आँसु पक्कै वास्तविक हो। मणिपुरको भिडियोले धेरैलाई वास्तवमै त्रस्त र आतंकित बनाएको हुनसक्छ। लाजै पनि लागेको हुनसक्छ। तर यी आँसु र लाजको के मूल्य? रुन त हामी कतिपय चलचित्र हेर्दा पनि रुन्छौँ– नक्कली कथा हेर्दैछौँ भन्ने थाहा पाउँदा पाउँदै पनि रून्छौँ। अनि फिल्म हलबाट बाहिर निक्लेर ‘पपकर्न’ खाँदै अर्को फिल्मको प्रतीक्षा गर्छौं।
के मणिपुर पनि हाम्रो लागि यस्तै घटना हो, जसले हामीलाई केही समय रुवाउँछ, केही क्षण बेचैन बनाउँछ, तर त्यसपछि भने हामी दिनहुँ आफ्नो घृणाको राजनीतिमा लागिरहन्छौँ, जबसम्म अर्को कुनै भिडियो बाहिर आउँदैन।
यस्तो आशंका हुनुका कारण छन्, यो तर्क निराधार छैन। सन् २०१२ डिसेम्बर १६ को निर्भया घटनापछि हामीले महिला हिंसाविरोधी धेरै कडा कानून बनायौँ, तर त्यसले अहिलेसम्म पनि खासै परिवर्तन भएको देखिएको छैन। महिलामाथि हुने उत्पीडन र हिंसामा कुनै कमी आएको छैन।
मणिपुरको सन्दर्भमा यो घटनाको अर्को निराशाजनक पक्ष पनि छ। मणिपुरका महिलाहरूको एउटा अपराध यो पनि हो कि उनीहरू आफ्नो नागरिकताबारे सचेत छन्, उनीहरू वर्षौंसम्म धर्नामा बस्छन्, आवश्यक पर्दा सेनाविरुद्ध प्रदर्शनसमेत गर्छन्, प्रहरीले आफ्नो नियन्त्रणमा लिएका व्यक्तिलाई थुनामा लैजान दिँदैनन्। तर आफ्नो स्वतन्त्रताका लागि लड्ने उनीहरूलाई अन्ततः यस्ता सजायहरू दिइन्छ (सडकमा नांगै घुमाइन्छ)।
निःशन्देह, यस मामलामा जटिल पक्षहरू छन्। एकअर्काको विरुद्धमा उभिएका दुई जनजातिले एक अर्कासँग बदला लिइरहेका छन्। पुरुषलाई मारिएको छ, महिलालाई बर्बर व्यवहार गरिएको छ। मणिपुर र महिलाको मामलामा यो असफलताको अर्को पक्ष पनि छ। हामी मणिपुरलाई हाम्रो देशको हिस्सा मान्दैनौँ। त्यस्तै, महिलालाई नागरिक मानिँदैन।
यसको पछाडिको राजनीति जेसुकै होस्, त्यो विभाजनकारी छ, यसमा सन्देह छैन। कुनै पनि राष्ट्रमा यस्तो विभाजनकारी राजनीति स्विकारिनु हुँदैन। तर विडम्बना अहिले सत्तामा रहेका मान्छे यस्तै राजनीतिका लागि परिचित छन्। धर्म र जातका आधारमा विभेद गर्छन्, पढे–जानेको मनुस्मृतिअनुसार लिंगका आधारमा मान्छेलाई विभेद गर्छन्। निर्भयाका दोषीलाई फाँसी दिन्छन्, तर बिल्किसका दोषीलाई माला लगाउँछन्।
बिल्किसका अपराधी र मणिपुरका अपराधीबीच खासै फरक छैन। दुवै पुरुष हुन्। अन्य समुदायसँग बदला लिने क्रममै भएका घटना हुन् दुवै। र, बदला लिने सबैभन्दा सजिलो र 'निमुखा' माध्यम महिला नै हुन् भन्ने दुवैले बुझेका छन्।
हामी मानौँ या नमानौँ, विश्वभर महिलामाथि हुने बलात्कार पनि राजनीतिक दमनको एउटा औजार हो। यो औजार कहिले सेनाले प्रयोग गर्छ, कहिले धार्मिक झन्डा बोक्नेहरूले, कहिले तथाकथित आन्दोलनकारीहरूले, कहिले दंगाकारीहरूले र त कहिले अरू कुनै वर्गले।
पुनः मणिपुर नै फर्किऊँ। त्यहाँ दुई महिना लामो भीषण हिंसा भयो। यस्तो घटनापछि कुनै पनि सरकार सत्तामा कायम रहनु अनैतिक हुन्छ– विशेषगरी जुन सरकारको मुख्यमन्त्रीलाई पूर्वाग्रह र पक्षपातको आरोप लगाइएको छ र शान्ति समितिमा समावेश भएका व्यक्तिहरूले नै त्यस्ता आरोप लगाइरहेका छन्। तर, महाराष्ट्रदेखि बंगालसम्म राष्ट्रपति शासनको माग गर्ने दलहरू मणिपुरका विषयमा भने मौन छन्। यता, प्रधानमन्त्री भने सबै राज्यलाई कानून र व्यवस्था कायम गर्न अपिल गरिरहेका छन्। यो अपिलको भिडियो आफैँमा लाजमर्दो हो।
वास्तवमा, सत्यचाहिँ के हो भने हामीले हाम्रा धेरै प्रदेश तथा धेरै समुदायहरूको राजनीतिक हैसियत र उनीहरूको समान नागरिकतालाई कहिल्यै सम्मान गरेका छैनौँ। यो देशमा दलित, अल्पसंख्यक, महिला र उनीहरूको पक्षमा उभिएका आन्दोलनकारीहरू नै अन्यायबाट बढी मारमा पर्नु कुनै संयोग होइन, किनकि उनीहरूलाई नै जेल हालिएको छ। जमानत स्वीकार गरिएको छैन। कपडा फुकालेर नांगो बनाएर भिडियो बनाइँदै छ, सामाजिक सञ्जालमा भिडियोलाई भाइरल बनाइएको छ। यति हुँदाहुँदै पनि सत्तापक्षको एउटा पातसमेत झुक्न तयार छैन।
त्यसो हुँदा, हाम्रा नागरिकलाई उनीहरूको नागरिकता स्थापित गराऊँ, महिलालाई बुहारी र छोरीको दर्जा उनको घरभित्र मात्रै कायम राखौँ, समाजमा उनलाई नागरिक मानौँ र सम्मान गर्न सिक्नु जरुरी छ। जबकि, देशका अन्य नागरिक समूहको हकमा पनि हामीले त्यस्तो व्यवहार गरेका छैनौँ। हामीले सम्मानपूर्ण व्यवहार नगरेसम्म अन्याय, अवहेलना र अमानवीय व्यवहारका यस्ता भिडियोहरू आउँदै रहनेछन् र हामी केही छिनका लागि लज्जित हुनेछौँ।
प्रियदर्शन लेखक तथा साहित्यकार हुन्। (सत्यहिन्दीबाट भावानुवाद।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
