प्रहरीले गर्‍यो ८ हजार ८९६ थान हातहतियार नष्ट

कानूनबमोजिम जफत भएका, विभिन्न समयमा बरामद भएका तथा बेवारिसे अवस्थामा भेटिएका गरी ८ हजार ८९६ थान हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ– नेपाल प्रहरीले ८ हजार ८९६ थान हातहतियार नष्ट गरेको छ। विभिन्न समयमा कानूनबमोजिम जफत भएका, बरामद भएका तथा बेवारिसे हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६ हजार ७४ थान भरुवा बन्दुक, १७७ थान बाह्र बोर, १ हजार ७६ थान विभिन्न प्रकारका पेस्तोल, २३२ थान म्याग्नम, २९ थान एयर गन, २२९ थान सर्ट गन, ६२६ थान थ्रीनटथ्री राइफल, ३३४ थान रिभल्भर, १० थान ग्यास गन, २५ थान हर्नेट र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८९६ थान हातहतियार बुधबार कानूनबमोजिम नष्ट गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष लगायतको रोहबरमा उक्त हातहतियार नष्ट गरिएको थियो।

काठमाडौँ महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवं विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३)  बमोजिम नष्ट गरिएको प्रहरीले जनाएको छ। फलामलाई पत्रु बनाइ कानूनबमोजिम व्यवस्थापन एवं संरक्षणका लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ।

हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नका लागि हातहतियार, खरखजाना एवं विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जेठ १७ गते पत्र लेखेको थियो।

सोही पत्रअनुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकले कानूनी प्रक्रियाअनुसार हातहतियार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।