ग्रासरूटमा क्रिकेट विकासका लागि लाग्नुपर्ने जिल्ला क्रिकेट संघले हो। तर, पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेक केही काम भएको छैन। ग्रासरूटमा क्रिकेट विकासको अवस्था अत्यन्त दयनीय छ।
क्रिकेट मात्रै नभई समग्र खेलकुदका विधामा विद्यालय तहदेखि नै विद्यार्थीलाई सहभागी गराउनु आवश्यक छ। विश्वविद्यालयसँगै क्याम्पस, विद्यालय, टोल–टोलका क्लबदेखि जिल्ला स्तरसम्म अभ्यास र प्रतियोगिता हुन्छन् भने त्यो नै ‘ग्रासरूट’ खेलकुद हो। भोलिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सफलतम खेलाडीको विकास गर्न आज आधारभूत तहमा खेलिने खेल–अभ्यास र प्रतियोगिता नै ग्रासरूट क्रिकेट हो।
तर दुःखको कुरा, हामीकहाँ सबैजसो खेलको ग्रासरूट विकास हुन सकेको छैन। आधारभूत तहबाटै खेलकुदको विकास हुँदा र माथिल्लोस्तरमा पनि सही व्यवस्थापन गर्न सक्दा राष्ट्रले धेरै पदक र प्रतियोगिता हात पार्ने सम्भावना बढ्थ्यो, त्यसले अर्थतन्त्र र जनताको स्वास्थ्यमा समेत योगदान पुर्याउँथ्यो। तर यसतर्फ राज्य सञ्चालक र खेल क्षेत्रका हर्ताकर्ताहरूले गम्भीरताका साथ चासो दिएको देखिँदैन।
ग्रासरूट क्रिकेटको अवस्था
क्रिकेटको कुरा गर्ने हो भने, माथिल्लो तहमा अवस्था राम्रै देखिन्छ। हामी आईसीसीको ओडीआईको र्याकिङ १५औँ स्थानमा छौँ। टी–२० को र्याकिङमा १७औँ स्थानमा छौँ। र्याकिङमा हामी ठीकठाकै देखिए पनि नेपालमा क्रिकेट कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ। क्रिकेटका समग्र प्रतियोगिता र 'पर्फमेन्स' त्यति सन्तोषजनक छैन। अहिले ४० देखि ४२ वटा जिल्लामा क्रिकेट संघ छन्। तर जिल्लास्तरीय ती संघले अहिलेसम्म काममार्फत आफूलाई प्रमाणित गर्न सकेका छैनन्। जिल्ला नेतृत्वहरूले ३० प्रतिशतसम्म पनि क्रिकेट खेलहरू गराउन सकेका छैनन्। जिल्ला र स्थानीय स्तरमा खेल कार्यक्रमहरू अति थोरै हुने गरेका छन्।
जस्तो कि, राष्ट्रिय टिमको तयारी गर्नु छ भने जिल्लामा खेलाडीलाई बोलाएर दुई दिनको खेल कार्यक्रम गर्ने र त्यहाँबाट छानिएकालाई प्रदेशस्तरीय प्रतिस्पर्धामा पठाउने गरिन्छ। अनि प्रदेशमा तीन/चार दिन खेल प्रतिस्पर्धा/अभ्यास गराएर केन्द्रमा पठाउने अभ्यास हुने गरेको छ। यदि, त्यसलाई नै खेल कार्यक्रम मान्ने हो भने त के भन्नु, तर खेलको साँच्चै उत्थान र विकाश गर्ने हो भने यो गलत अभ्यास हो।
यो त गर्नका लागि गरेको जस्तो मात्रै भयो। कुनै ऊर्जा र तदारुकताबिनाको यस्तो अभ्यास समग्र खेलकुदका लागि हानिकारक छ। खेलकुदका लागि संघसंस्थाले काम गर्ने हो भने त ग्रासरूटको आवश्यकता बुझेरै त्यहीँबाट खेलकुद उकास्न लाग्नुपर्ने हो।
बाँके जिल्लाको कुरा गरौँ, अहिले त्यहाँ क्रिकेट खेलको अवस्था दयनीय छ। यहाँबाट विकसित भएर गएका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत खेल्थे। जबकि, पाँच/छ वर्षदेखि खेलाडीहरू खेलमा सहभागी हुन चाहिरहेकै छैनन्। यसको कारण के हो त? यसको मतलब ग्रासरूटमा क्रिकेट गतिविधि नै भइरहेका छैनन्।
ग्रासरूट क्रिकेटमा लगानी हुन नसक्नुका कारण
अहिले एकखाले प्रतियोगिता आईसीसी र एसीसीको सेड्युलअनुसार नेपाल क्रिकेट संघले अन्डर १६, अन्डर १९, सिनियर, टी–२० खेल गराउँछ। यस्तो खेलमा देशभरबाट प्रतियोगितामार्फत खेलाडी छानेर सहभागी बनाउनुपर्ने हो, तर खेलाडीलाई सिधै बोलाएर खेलाउँदै छौँ। त्यो दुर्भाग्य हो। क्लब स्तरमा म्याच गराएर छानिएकालाई जिल्लामार्फत भिडाएर प्रदेशका लागि छनोट गर्ने र प्रदेशमार्फत छानिएकाहरूलाई राष्ट्रिय प्रतियोगितामा लैजानुपर्ने हो। त्यसो नगरेर जति जना आउँछन्, तिनलाई खेलाउने साह्रै खेलाँची पाराको काम भइरहेको छ। मापदण्ड र तदारुकताको अभावमा यसो भइरहेको हो।
ग्रासरूटमा क्रिकेट विकासकै लागि मूल रूपमा लाग्नुपर्ने जिल्ला क्रिकेट संघ हो। तर अहिलेचाहिँ पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेकका काम भएको छैन। यस हिसाबले हेर्दा, ग्रासरूटमा खेल विकासको अवस्था अत्यन्त दयनीय छ। तर उनीहरूको कार्यक्रम खोइ? जबकि, उनीहरू लक्षित कार्यक्रम नै ग्रासरूट तह हो।
पहिलो त, अलिकति विकास र सम्भावना भएका खेलसम्बन्धी सबैजसो राष्ट्रिय संघहरू प्रायः विवादित छन्। फुटबल, क्रिकेट र बक्सिङसम्बन्धी संघहरू सधैँ विवादमा पर्छन्। क्रिकेट र करातेमा भर्खरै मात्र विवाद समाधान भएको देखियो। भन्नुको अर्थ, खेल विकाससम्बन्धी स्थापित राष्ट्रिय संघहरू विवादित छन् र तिनीहरूभित्रको विवाद हल गर्न सरकारबाट हुनुपर्ने पहल पनि बिलकुलै कम देखिन्छ।
विवाद हल गरेर अगाडि बढ्दा तल्लो तहमा बजेट विनियोजन गर्ने, ग्रासरूटमा रहेका निकायहरूसँग समन्वय गर्न सम्भव हुन्छ। राष्ट्रिय संघहरूले पनि खेल विकासका कार्यक्रमहरू अघि बढाउन सहज हुन्छ। त्यसको बिलकुलै अभाव छ हामीमा।
एउटा खेलसम्बन्धी संघको नेतृत्वकर्ता एउटा राजनीतिक पृष्ठभूमिको र अर्को संघको नेतृत्व अर्को पृष्ठभूमिको हुँदा पनि त्यहाँ राजनीतिक द्वन्द्व हुने गरेको देखिन्छ। यी सबैका बाबजुद गत वर्ष क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले राम्रो प्रदर्शन गर्न सफल भयौँ।
यस्तो अवस्थामा हामीसँग खेल प्रायोजकहरू फालाफाल हुनुपर्ने हो। कार्यक्रम सम्पन्न गर्नका लागि प्रायोजक उत्तिकै आवश्यक पनि छन्। तर प्रायोजककै अभाव झेलिरहेका छौँ हामी। यो वर्ष फुटबलमा प्रायोजक नै थिएन। भर्खरै फुटबलले प्रायोजक पाएको छ।
संघका योजना र क्रियाकलापबाट असन्तुष्ट भएकै कारण प्रायोजकहरू आएनन्। संघका पदाधिकारीहरूका व्यक्तिगत स्वभाव, व्यवहार र पेसागत क्षमता तथा दक्षताको अभावका कारणसमेत प्रायोजक नआएका हुन्। संघहरू आन्तरिक झै–झगडामा रुमलिएका कारण नै समग्र खेल क्षेत्रलाई असर पारेको हो।
गत चैत्रमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ र वैशाखमा कीर्तिपुरमा भएको एसीसी प्रिमियर कपको खेल हेर्न झुम्मिएका नेपाली दर्शकहरू सम्झनुहोस् त! रुझेर-भिजेर र रुखमा चढेरसमेत आफ्नो देशका खेलाडीको समर्थनमा उर्लिए! तर खेलप्रति त्यति मोह र प्यार दिने नेपाली क्रिकेट खेल दर्शकलाई हामीले सम्मानसमेत गर्न सकेका छैनौँ।
आईसीसीको भूमिका
क्रिकेटको अन्तर्राष्ट्रिय नियमनकारी निकाय हो आईसीसी। फरक–फरक क्षेत्रमा आफ्नै प्रकारका क्रिकेटका नियमनकारी निकायहरू छन्। उनीहरूले आफ्ना 'सेड्युल'का कार्यक्रम अघि सार्छन्: अन्डर १६, अन्डर १९, सिनियर, ओडीआई, टी–२०। त्यसबाहेक पनि उनीहरूले विभिन्न देशलाई 'डेभलपमेन्ट फन्ड' र अपरेसनलन फन्डसमेत पठाउँछन्। नेपालले समेत पाउँछ त्यस्तो फन्ड।
त्यसो हुँदा, नेपालले पनि खेलकुदमा लगानी गर्न डराउनु भएन। अन्डर १२ र अन्डर १३ र अन्डर १४ क्रिकेटसमेत गर्नुपर्यो। त्यसो भए पो, हामीले अन्तर्राष्ट्रियस्तरको अन्डर १६ का प्रतियोगिताहरू जित्न सक्छौँ, उत्कृष्ट खेलाडी विकास गर्न सक्छौँ।
त्यसका लागि विद्यालय स्तरदेखि नै नियमित रूपमा गर्नुपर्ने कार्यक्रम हुन सकिरहेका छैनन्। क्रिकेट कहिलेकाहीँ कीर्तिपुरमा देखिए पनि ग्रासरूटमा विलुप्त छ। आजभन्दा २० वर्षअघि बरु तल्लो तहमा समेत क्रिकेटका प्रतियोगिता हुने गर्थे। जतिखेर फन्डिङ थिएन, त्यतिखेर बरु क्रिकेट थियो। आज राम्रो पैसा आइरहेको छ, तैपनि हामीले तल्लो तहमा प्रतियोगिता गरिरहेका छैनौँ। यो दुर्भाग्य हो।
हामी अहिले 'टेस्ट प्लेयिङ कन्ट्री' बन्नेबारे सोचिरहेका छौँ। तर भौतिक पूर्वाधारमा पछि नै छौँ। त्यसो हुँदा ग्रासरूटदेखि राष्ट्रिय स्तरसम्मको क्रिकेटको विकासका लागि स्टेडियम, पिच र सोहीअनुसारका सुविधा, खेलसम्बन्धी तालिम र प्रशिक्षण पनि आवश्यक छ।
ग्रासरूट स्तरको क्रिकेटको विकास गर्ने हो भने क्रिकेटलाई विद्यालयमा पुर्याउनै पर्छ। त्यसका लागि जिल्ला क्रिकेट संघलाई बढीभन्दा बढी जिम्मेवार बनाउनुपर्छ। जिल्ला स्तरमा क्रिकेट प्रतियोगिता गराउने, स्कुल तहमा कार्यक्रम गराउने र खेलमा स्थानीय क्लबहरूसमेत ल्याउनुपर्छ। एउटा खेल खेलेर ६ महिना सुत्ने अहिलेको अभ्यासले सबै खालको खेलको विकास अवरुद्ध हुन्छ।
क्षेत्री नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा खेलकुद अभियन्ता हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
