‘देश खोक्रो बनाउनेलाई लखेट्न सकियो, ९ गोली लागेकोमा पछुतो छैन’

रबरका गोली लागेर एम्बुलेन्समा हालेपछि उनले त्यहीँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा हाले। शरीरको माथिल्लो भाग रगताम्य देखिने उक्त भाइरल भिडियोमा उनी भन्दै थिए– म छाती थापेर आको...

तस्वीर: सागर/उकालो

काठमाडौँ– वीर अस्पतालको एउटा बेडमा ३० वर्षीय युवा पल्टिरहेका छन्। उनको छाती र घाँटीमा ब्याण्डेज छ। भर्खरै शल्यक्रिया गरेकाले जमेको रगत र विकार पदार्थ निकाल्न दुई वटा साना पाइप जोडिएको छ। देब्रे खुट्टामा पनि प्लास्टर गरिएको छ।

शल्यक्रियाको पीडाले ज्यान हलचल गर्न नसक्ने अवस्थामा रहेका उनी भेट्न आउनेसँग सानो स्वरमा कुरा गरिरहेका छन्। जेनजी आन्दोलनको क्रममा उनलाई रबरका नौ वटा गोली लागेको छ। गत बिहीबार शल्यक्रिया गरेर ती गोली निकालिएको छ।

वीर अस्पतालका नाक, कान, घाँटी र कार्डियोथोरासिक भास्कुलर एन्ड सर्जरी (सीटीभीएस) टिमले आठ घण्टा लामो शल्यक्रिया गरेर उनको घाँटी र छातीबाट ६ वटा गोली निकाल्यो। उनका उपचारमा संग्लग्न चिकित्सकका अनुसार, अझै घाँटीबाट एउटा गोली निकाल्न सकिएको छैन, दुई ठाउँमा ठूलो प्वाल देखिए पनि भित्र गोली छिरेको छैन।

उनी हुन् पर्साको ठोरी गाउँपालिका–२ का नेत्रबहादुर थापा। साउदी अरबियाबाट नेपाल फर्किएको दुई महिना पनि पूरा भएको थिएन। चार वर्ष साउदी बसेर फर्किएका उनी विशिष्ट सीपयुक्त श्रमिकको रूपमा जापान जान भाषा पढिरहेका थिए।

हरेक बिहान बानेश्वरस्थित एउटा कन्सल्टेन्सीमा कक्षा लिएर दिउसो आफैले पढ्नु नेत्रबहादुरको दैनिकी थियो। उनी साउदी हुँदा नै श्रीमती जापान पुगिसकेकी थिइन्। उनलाई श्रीमतीले नै खर्च भरथेग गरिरहेकी थिइन्। 

तर गत भदौ २३ गतेको घटना उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो। त्यो दिन पनि उनी भाषाको कक्षा लिएर काँडाघारीस्थित कोठा फर्किए। खाना खाएर टिकटक हेर्दा जेनजी आन्दोलन भइरहेको भिडियो छ्याप्छ्याप्ती देखे। अनि आन्दोलनमा सहभागी हुन बानेश्वरतिर हानिए।

उनी पुग्दा आन्दोलन बानेश्वर चोकमा आइसकेको थियो। त्यही भिडमा मिसिए। भिड संसद् भवनतर्फ अगाडि बढ्दा प्रहरीले रोक्न खोजिरहेको थियो। प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास हान्न थाल्यो।

उनी पनि अगाडि बढेर ढुंगा हानिरहेका थिए। त्यही बेला नजिकै रहेका दुई जना आन्दोलनकारीलाई गोली लाग्यो। एकाएक गोली चल्न थालेपछि आन्दोलनकारीको आक्रोश झनै बढ्यो। उनी अझ अघि बढेर ढुंगा हान्न थाले। त्यही बेला उनको छातीमा गोली लाग्यो।

प्रहरीले करिब १० मिटर दूरीबाट गोली बर्साएको उनी बताउँछन्। रगत बग्न थालेपछि उनलाई एम्बुलेन्समा हालियो। “गोलीको आवाज सुनियो, तर कसले कहाँबाट चलाएको केही देखिएन,” उनी भन्छन्।

nullगोली लागेर एम्बुलेन्समा हालेपछि उनले सोही दिन अपलोड गरेको एउटा भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। शरीरको माथिल्लो भाग रगतले लत्पतिएको अवस्थामा उनी जोशिलो स्वरमा भनिरहेका थिए, “म छाती थापेर आको... मलाई गोली लाग्यो... चोरको साथी चोर हो नि... गोली लाग्यो...।”

गोली लागेर अस्पताल लगिँदै गर्दा पनि उनी जोशिलो आवाजमा ‘जय नेपाल’ भनिरहेका थिए। शरीर रक्ताम्य भए पनि ‘देशको लागि गोली थापेँ’ भनिरहेका थिए। “आगामी पुस्ताको लागि थोरै परिवर्तन गर्न सकेँ भनेर होला मलाई त्यति बेला गोली लागेको पनि खासै दुखेको थिएन,” अस्पतालमै उपचाररत उनी भन्छन्।

पहिलो भिडियो अपलोड गरेको केही समयपछि अस्पतालको बेडबाट अर्को भिडियो हाले। त्यो भिडियोमा रगतले लत्पतिएको टिसर्ट खोलिएको थियो। छाती र घाँटीमा गोली लागेको नौ वटा प्वाल देखिन्थ्यो।

आँखैअघि पाँचजनाको मृत्यु
आन्दोलनकारीले उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याएका थिए। त्यतिञ्जेल त्यहाँ धेरै घाइते पुगिसकेका थिएनन्। सिभिल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई ट्रमा सेन्टर लगियो। त्यहाँ घाइतेहरू धमाधम ल्याइन थाल्यो।

छातीमा गोली लागेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको उनले आँखैअघि देखे। धेरैजसो घाइतेको टाउको, छाती, पाखुरा र पेटमा गोली लागेको थियो। रगतले लत्पतिएका १०० हाराहारीमा युवा देखेपछि आन्दोलनले उग्ररूप लिएको उनले बुझे।

ट्रमा सेन्टरको इमर्जेन्सी बेडमा नअटेका घाइतेलाई भुईंमा राखिएको थियो। “मलाई त पहिलो चरणमा हानिएको रबरको गोली लागेको थियो, पछि अस्पतालमा रियल बुलेट लागेर अंगभंग भएका घाइते देखेपछि सरकारप्रति झनै रिस उठ्यो, अस्पतालबाट उठेर फेरि आन्दोलनमा जान मन लागिरहेको थियो” नेत्र भन्छन्।

nullशल्यक्रियामा संग्लग्न सीटीभीएस सर्जन डा. दिनेश चापागाईंका अनुसार, उनलाई रबरको गोली लागेको हो। रबरको गोली भए पनि नजिकबाट हानिएको कारण छातीको भित्रसम्म प्वाल छ। अस्पताल ल्याइपुर्‍याउँदा धेरै नै रगत बगिसकेको थियो। 

शल्यक्रिया गरेर गोली निकालेपछि उनी खतरामुक्त छन्। तर संक्रमणको जोखिम उस्तै भएको डा. चापागाईं बताउँछन्। “छाती र घाँटीमा एकदम ठूलो प्वाल पारेर गोली छिरेकाले रिकभर हुन समय लाग्छ। धन्न मुटु र फोक्सोमा गोलीले छोएको थिएन र बचाउन सजिलो भयो,” उनी भन्छन्।

नेत्रबहादुर भाग्यले बाँचेको उनको घाँटीको गोली झिकेका सर्जन डा. रविभूषण सुवाल बताउँछन्। डा. सुवालका अनुसार, घाँटीबाट मष्तिष्कमा रगत जाने रक्तनलीको छेउमै गोली लागेको थियो। त्यो गोली रक्तनलीमा लागेको भए मष्तिष्कमा रक्तसञ्चार अवरुद्ध भएर ज्यान जानसक्थ्यो। “उनको घाँटी र छातीमा त्यति धेरै गोली लागेको देख्दा भाग्यले बाँचेको जस्तो लाग्छ,” उनी भन्छन्।

‘नेताहरूकै कारण बिदेसिन बाध्य भएँ’
कक्षा १२ सम्म पढेका नेत्रबहादुर साउदी जानुअघि होटलमा सामान्य काम गर्थे। घर परिवारका सदस्यलाई भने राम्रो जागिर खावस् भन्ने अपेक्षा थियो। तर भनेजस्तो जागिर पाएका थिएनन्। 

सधैँ पैसाको अभाव भएपछि विदेश जाने सोच बनाए। “जति काममा घोटिए पनि सामान्य आवश्यकता पूरा गर्न पनि पैसा भएन, त्यसपछि साउदी हिँडे” उनी भन्छन्, “देशमा उद्योगधन्दा भइदिएको भए यतै काम पाइन्थ्यो नि।”

साउदीमा उनले होटलमा कफी बनाउने काम पाए। चार वर्ष बसेपछि देशमै फर्केर आफ्नो सीपअनुसारको काम गर्न चाहन्थे। जापान गएकी श्रीमतीसँगको सल्लाहमा लगानी गर्ने सोच बनाएका थिए। तर देशमा सानोतिनो व्यवसाय गरिरहेका साथीभाइ र आफन्तले ‘यहाँ लगानी गरेर डुबिन्छ, विदेश नै जाऊ’ भन्न थाले।

अनि उनी गोठाटार बसेर जापानी भाषा पढ्न थाले। तर आफूजस्ता युवा विदेश जान बाध्य हुनुपरेकाले सरकारप्रति आक्रोश थियो। पुराना नेताले आलोपालो सरकार चलाउञ्जेल नागरिकका दुःखका दिन नसकिने उनको बुझाइ थियो। 

उनी सामाजिक सञ्जालमा नेताहरूलाई प्रश्न गरिरहन्थे। तर नेता सुध्रिन्छन् झैँ लाग्दैनथ्यो। “नेताहरूको भ्रष्टाचारले गर्दा यो देश भद्रगोल भएको हो, यी नेताको चंगुलबाट देशले मुक्ति पावस् भनेर आन्दोलनमा होमिएको हुँ,” उनी भन्छन्।

अस्पतालको बेडमा बसेर उनी देशको पछिल्लो अवस्थाबारे जानकारी लिइरहेका छन्। वर्षौंदेखि देशमा राज गरिरहेका नेताहरू राजीनामा दिएर भागेको सुन्दा गोलीले दिएको पीडा भुल्ने आनन्द आइरहेको उनी बताउँछन्। अब देशमा थोरै भए पनि रोजगारी खुल्ने, शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच हुने उनको आशा छ।

उनलाई यो पनि थाहा छ– यत्रो वर्ष सरकार चलाएका नेताले बिगारेको देश बनाउन समय लाग्छ। “यी भ्रष्ट नेताहरूलाई लखेटर नयाँ सरकार बनाउन सकेकोमा खुशी लागेको छ, नौ वटा गोली लागेर घाइते भएकोमा पछुतो छैन,” उनी भन्छन्।