बालविवाह, प्रसव वेदनासँगैको पतिवियोग र अभावले डस्दाडस्दै सहनुपरेको पितृशोक पार्वतीका अग्निपरीक्षा थिए। ती सबैलाई जितेर उनले बनाएको प्राकृतिक स्रोतसम्बन्धी विवाद समाधान गर्ने छबि चमत्कार झैँ छ।
काठमाडौँ– पार्वती विश्वकर्माको दैनिकी वनजंगल, पानी, सार्वजनिक जग्गा, गिट्टी–बालुवा लगायतका प्राकृतिक स्रोत साधनको विवादका विषयमा समुदायसँग छलफल गर्दैमा बित्छ।
सर्लाही जिल्लाको बागमती नगरपालिका–४ की उनी १५ वर्षदेखि प्राकृतिक स्रोत साधनको विषयलाई लिएर स्थानीयस्तरमा हुने द्वन्द्व समाधान गरिदिने आशाको त्यान्द्रो बनेकी छन्।
यो डेढ दशकको अवधिमा सर्लाहीका प्राकृतिक स्रोतसाधनसँग सम्बन्धित ६० भन्दा बढी विवादहरू उनको नेतृत्वमा समाधान भएका छन्। त्यसमध्येको एउटा हो, हरिहरपुर नगरपालिकामा अवस्थित लक्ष्मीनाथ सामुदायिक वनको विवाद।
वनको नजिकमा पचजछिया र सितायन दुई गाउँ छन्। यी गाउँहरूको बीचमा खाली पर्ति जग्गा थियो। शुरूमा दुवै गाउँका वासिन्दा मिलेर सार्वजनिक जग्गामा वृक्षारोपण गरे। रूख–विरुवा हुर्केर वनजंगल बाक्लिएपछि सामुदायिक वनको व्यवस्थापन गर्ने समयमा दुई गाउँबीच विवाद उत्पन्न भयो।
पचजछिया टोलको नेतृत्व रामचन्द्र चौधरीले गर्दथे जो २०७० सालमा निर्वाचित संविधानसभाका सदस्य समेत भए। अर्को टोलको नेतृत्व रामलखन चौधरीले गर्थे।
रामचन्द्रले नेतृत्व गर्ने पचजछिया टोलका वासिन्दालाई उपभोक्ता नबनाइएपछि विवाद शुरू भयो। बेमेल र मनमुटाव बढ्दै गएपछि वनको उपभोक्ता हुन नपाएका टोलबासीले वन अतिक्रमणलाई बढावा दिने गतिविधि गर्न थाले।
त्यो विवाद तत्कालीन जिल्ला वन कार्यालय सर्लाहीसम्म पुगेर पनि मिल्न सकेन। अन्ततः विवाद समाधानको जिम्मेवारी पार्वती विश्वकर्माको काँधमा आइपुग्यो। २०७१ असोजमा उनले विवाद मिलाउने प्रयास थालिन्। दुई वर्षसम्मको निरन्तर छलफलपछि २०७३ असोजमा बल्ल दुई गाउँबीचको आपसी विवाद साम्य भयो र दुवै गाउँका वासिन्दाहरू हातेमालो गरेर अघि बढ्न तयार भए।
विवाद साम्य भएपछि तत्कालीन संविधानसभाका सदस्य रामचन्द्र चौधरीले आफ्नो कार्यकालमा सांसद विकास कोषबाट वन व्यवस्थापनका लागि ४० लाख रुपैयाँ बजेट पनि पठाए।
संघर्षपूर्ण बाल्यकाल
मानिसलाई तर्कले चित्त बुझाउन सक्ने क्षमताका कारण विवाद समाधानका लागि घण्टौँसम्म बहस गर्न सक्ने पार्वती सर्लाहीका गाउँ टोलमा सामाजिक अगुवाका रूपमा स्थापित भइसकिन्। उनको विगत भने दुःख, पीडा र संघर्षले भरिएको छ।
२०५२ सालमा विवाह हुँदा पार्वती १४ वर्षकी मात्र थिइन्। त्यसको दुई वर्षपछि छोरी जन्मिइन्। आमा बनेको १७औँ दिनमा श्रीमानको दुर्घटनामा परेर मृत्यु भयो। पतिवियोगको पीडासँगै उनी माइतीमा बस्न थालिन्।
माइतमा काम काम गरेर खान पुग्ने जग्गा जमिन थिएन। बाबु अर्काको घरमा हलिया बसेका थिए। ज्याला मजदुरी गरेर आएको पैसाले पार्वती, उनकी बहिनी, काखकी छोरी र बाबुआमाको छाक जेनतेन चलेको थियो। तर उनी माइतमा बस्न गएको एक वर्षमै बुवाको मृत्यु भयो।
गरिबी कतिसम्म पीडादायी थियो भने बुवाको मृत्युपछि अन्त्येष्टिका लागि कात्रो किन्न समेत उनीहरूसँग पैसा थिएन। “बुवाको शव आँगनमा थियो। तर दाहसंस्कारका लागि छोपेर लैजाने कपडा किन्ने पैसा पनि हामीसँग थिएन,” उनी भन्छिन्, “छिमेकीहरूले चन्दा उठाएर बुवाको मृत्यु संस्कार पूरा गरिदिनुुभयो।”
पितृवियोगपछि परिवार पाल्ने जिम्मा पार्वतीको काँधमा सर्यो। अनि नियमितजसो ज्याला मजदुरीमा जान थालिन्। त्यसबेला उनी दिनभर काम गरेबापत ३० रुपैयाँ ज्याला पाउँथिन्। त्यही पैसाले मुस्किलसँग घरपरिवार धान्ने गर्थिन्। त्यसमाथि बिरामी आमाको उपचार गर्ने जिम्मा पनि उनकै थियो। तर ज्याला मजदुरीको पैसाले नपुग्दा पेट पाल्ने कि उपचार गर्ने भनेर बेलाबेला दोधार भइरहन्थ्यो।
बाँच्न कठिन भएपछि सिंगो परिवारले एकैसाथ जीवन समाप्त पार्ने सोच समय–समयमा आउँदा उनको मन विचलित भइहन्थ्यो। तर त्यस्ता अप्रिय पलहरूलाई उनले दह्रो आत्मबलका साथ पन्छाउँदै गइन्।

त्यही क्रममा आफ्नै गाउँको सामुदायिक वन उपभोक्ताका रूपमा पाएको एउटा तालिममा सहभागी हुने अवसरले भने पार्वतीको जीवनको गोरेटो नै बदलिदियो।
२०५९ सालमा बरमबाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णकुमार लामाले उनलाई सामुदायिक वन संरक्षणसम्बन्धी एउटा तालिममा जान प्रस्ताव गरे। उनलाई भने त्यसले खासै आकर्षित गरेको थिएन। “तालिम भन्ने के हो मलाई थाहै थिएन। पहिलो पटक उहाँकै मुखबाट सुनेँ। पढ्न लेख्न आउँदैनथ्यो,” उनी सुनाउँछिन्।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लामाले तालिममा खानासहित दिनको २५० रुपैयाँ भत्ता पनि पाइने भएकाले परिवारको गर्जो टार्न पनि मद्दत पुग्छ भनेर सम्झाए। अभावले डसिरहेको बेला पाएको त्यो जानकारीले भने उनलाई तान्यो।
त्यसबेला दुई दिनमा ५०० पाइने आशाले तालिममा जान तयार भएको पार्वती सुनाउँछिन्। “भोको पेट लिएर सिक्ने कुराले महत्व राख्दैनथ्यो। दुई दिनको आम्दानीले मात्र मलाई लोभ्यायो किनभने एकमुष्ट ५०० रुपैयाँ पाउनु मेरा लागि ठूलो कुरा थियो,” पार्वती सम्झन्छिन्।
यो पनि: अप्ठ्यारा बाटा र अँध्यारो विगत पन्छाएर मिहिनेतले चम्किएकी मीना
२१ वर्षमा चार कक्षाबाट स्कुल प्रवेश
पर्वतीले दुई दिनको तालिम जसोतसो गरेर पूरा गरिन्। त्यसका अरू सबै सहभागी लेख्न र पढ्न सक्ने थिए। तर उनलाई भने लेख्न त परको कुरा, सग्लो अक्षर पढ्न पनि आउँदैनथ्यो।
तालिमबाट फर्केपछि उनको मनमा पढ्नु चाहिँ पर्ने रहेछ भन्ने भावना जाग्यो। त्यसपछि बहिनीको सहयोगमा पढ्न सिक्ने योजना बनाइन्। दिनभर ज्याला मजदुरीमा जान्थिन्। राति १२ बजेसम्म पढ्थिन्। बहिनीले उनलाई पढ्न सघाउँथिन्।
खर्खरी पढ्न र आफ्नो नाम लेख्न सक्ने भएपछि २०६० सालमा उनी घर नजिकैको दिरायत प्राथमिक विद्यालयमा ४ कक्षामा भर्ना भइन्। कक्षाका साना साथीहरूसँग उमेर नमिल्ने र ज्याला मजदुरीले फुर्सद नपाउने हुँदा स्कुल भने गइनन्।
“कक्षामा हाजिर भइनँ, परीक्षा दिन मात्र स्कुल जान्थेँ। गएको दिन विद्यार्थी जति सबैले म्याम भन्दै नमस्ते गर्थे। त्यसबेला आफैलाई देखेर असजिलो लाग्थ्यो,” पार्वती भन्छिन्, “हाँसेर म म्याम होइन, तिमीहरूकै साथी हो भन्थेँ तर कसैले पत्याउँदैनथे।”
दैनिक ज्याला मजदुरी गरेर पढ्दै गरेकी उनलाई २०६४ सालमा अर्को अवसरले साथ दियो। सामुदायिक वन उपभोक्ता महासंघको संविधानसभा सचेतनासम्बन्धी परियोजनामा १८ महिना जिल्ला प्रतिनिधि भएर काम गर्ने मौका उनले पाइन्। त्यसपछि भने पार्वतीलाई कहिल्यै पछाडि फर्कनु परेन।
उनी पढाइलाई निरन्तरता दिँदै विभिन्न संघसंस्थामा जोडिन थालिन्। २०६८ सालमा उनले एसएलसी पास गरिन्। अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर तह दोस्रो वर्ष अध्ययनरत छिन्।
विश्वविद्यालय तहको अध्ययनसँगै प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सर्लाही जिल्ला प्रतिनिधिका रूपमा काम गरिरहेकी पार्वती सामुदायिक वन उपभोक्ता महांसघको केन्द्रीय सदस्य पनि हुन्।
शिक्षाको अवसरलाई उनले आफ्नो लाभका लागि मात्र सीमित राखिनन्। पहिले आफूलाई पढ्न सिकाउने बहिनीलाई नर्सिङ पढाइन्। छोरीलाई ल्याब टेक्निसियन बनाइन्। उनका बहिनी र छोरी अहिले आ–आफ्नो क्षेत्रमा आत्मनिर्भर छन्।
हामीले पार्वतीलाई सोध्यौँ, “आफ्नो विगत र अहिलेको जीवनबीच तुलना गर्दा कस्तो लाग्छ?” उनले एकछिन घोरिएर जवाफ दिइन्, “जीवनको उज्यालो आफैँभित्र हराइरहेको हुँदोरहेछ। अँध्यारोमा छोपिएको त्यही उज्यालो देखाइदिने काम दुईदिने तालिमले गर्यो। त्यसैलाई पछ्याउँदै यहाँसम्म आइपुगेँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
