साइकलमा ‘फुड डेलिभरी’ गर्नेलाई सुरक्षासम्बन्धी तालिम

साइकलमा ‘फुड डेलिभरी’ गर्नेहरू सडकमा अपहेलित र बढी असुरक्षित रहेकाले तालिम प्रदान गरिएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठको भनाइ छ। 

काठमाडौँ– काठमाडौँ उपत्यकामा साइकलमा ‘फुड डेलिभरी’ गर्नेहरूलाई सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ। उनीहरूको सडक सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै नेपाल साइकल सोसाइटीले तालिम प्रदान गरेको हो।

आर्थिक रूपले कमजोर र निम्नवर्गका युवाको रोजगारीका लागि यस्ता काम गरिरहेकाले उनीहरूलाई तालिम दिइएको सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए। 

“धेरै युवा पठाओ, फुडमाडौँ, भोजलगायत कम्पनीमा ‘फुड डेलिभरी’का लागि साइकल प्रयोग गरिरहेका छन्,” उनले भने, “काठमाडौँको अत्यन्त व्यस्त सडकमा उनीहरूको जिजीविषाको संघर्ष स्पष्ट देखिन्छ।”

साइकल प्रयोगकर्ताहरू सडकमा ठूला गाडीबाट अपहेलित र बढी असुरक्षित रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

“पुराना र साधारण साइकल चलाएर गुजारा चलाइरहेका उनीहरू बस, ट्रक, ट्रिफरलगायत ठूला गाडीबाट हेपिने गरेका छन्,”  उनले भने, “सहभागीमध्ये सात जनालाई ‘हाइ भीज जर्सी’ प्रदान गरियो।” 

कार्यक्रममा सहभागीले आफ्ना अनुभव र संघर्षका कथा सुनाएका थिए।