टी–२० महिला विश्वकपको एशिया छनोट खेल्न मलेसिया जाने टोलीको बिदाई

मलेसियामा नेपालले टी–२० विश्वकपको एशिया छनोटअघि चार देश सम्मिलित टी२० आई श्रृंखला खेल्नेछ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० महिला विश्वकपको एशिया छनोट खेल्न जाने टोलीलाई बुधबार बिदाई गरेको छ। 

क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले उनीहरूलाई क्यानको केन्द्रीय कार्यालय मुलपानीमा कार्यक्रम आयोजना गरी बिदाई गरेका हुन्।

एशिया छनोटअघि नेपालले मलेसियामा चार राष्ट्र सम्मिलित टी–२० श्रृंखला खेल्नेछ। नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखला खेल्नेछ। उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ।

पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन्। नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ। त्यस्तै, अगस्ट २५ मा घरेलु टोली मलेसियासँग खेल्नेछ। फाइनल खेल अगस्ट २६ मा हुनेछ ।

त्यसपछि नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आईसीसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्नेछ। सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो। 

क्यानले ट्वान्टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो। खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। 

टोलीका अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन्। नेपालले भारतीय प्रशिक्षक देविका दिलिप पल्शिकरलाई यही प्रतियोगिताका लागि ब्याटिङ प्रशिक्षण नियुक्त गरेको छ। मुख्य प्रशिक्षक भने श्यामसनजंग थापा छन्।