‘पढ्ने विषयको रोजाइमा अभिभावकको चाहना पछ्याउँदा बालबालिकाको आफ्नै क्षमता चाहिँ मर्न सक्छ। छोराछोरीलाई आफ्नो चाहनाअनुसारको बनाउनुभन्दा पनि उनीहरू आफैँ के बन्न चाहन्छन् पत्ता लगाउनु महत्वपूर्ण हो।’
काठमाडौँ– भक्तपुर बस्ने शर्मीला खनालले आफ्नो छोरालाई डाक्टर बनाउने सपना देखेकी थिइन्। तर छोराले इच्छा नदेखाएपछि उनले करकाप गरिनन्।
“डाक्टरलाई हेर्ने दृष्टिकोण समाजमा राम्रो छ। छोराको पढाइ पनि राम्रो छ, उसको भविष्य राम्रो बन्छ भन्ने आशामा उसलाई डाक्टर नै बनाउने सोचेको थिएँ। तर मेरो सोचाइ र उसको इच्छा मिलेन,” उनी भन्छिन्।
१२ पास गरेपछि छोरा कृपनलाई मेडिकल साइन्स पढाउने परिवारको सल्लाह भएअनुसार शर्मीलाले परीक्षा सकिएपछि उनलाई एमबीबीएस ‘इन्ट्रान्स’को तयारी कक्षामा पनि भर्ना गराइन्। केही समय कक्षा लिएपछि भने उनलाई डाक्टरभन्दा पनि कलाकार बन्न मन लाग्यो।
कलामा नै छोराको रुचि होला भन्ने नसोचेकी शर्मीलासँग छोराले आफ्नो इच्छाअनुसारको विषय पढ्न दुई वर्षको समय मागे। “छोराले दुई वर्ष मेरै रुचिको कलाकारिता विषय पढ्छु र त्यसमा सोचेजस्तो भएन भने एमबीबीएसतिर लाग्छु। मलाई डाक्टर होइन, कलाकार बन्न मन छ भन्यो। उसको कुराले एकछिन त अलमलिएँ,” उनले भनिन्।
डाक्टरी पढ्न समय र मिहिनेत खर्च गरिसकेकाले मन नडुलाउन जोड गर्दै सम्झाइबुझाइ गर्दा पनि छोराले अडान नछाडेपछि आफ्नै मन बुझाएर उनको निर्णयमा सहमत भएको शर्मीला बताउँछिन्। उनी भन्छिन्, “चित्रहरू कोरेको देखिन्थ्यो तर उसको रुचि डाक्टर बन्नमा भन्दा कलाकारितामा बढी होला भन्ने सोचेकै थिइनँ।”
अभिभावकको चाहना बदलेर आफ्नै इच्छाअनुसारको शिक्षामा लागेका कृपन अहिले ललितकला अध्ययन गर्दैछन्। फुर्सदको समयमा चित्र कोर्ने र साना बालबालिकालाई पनि चित्रकला सिकाउने काममा व्यस्त पनि भइरहेका छन्।
छोरीलाई डाक्टर बनाउने सपना देखिरहेकी अर्की आमा हुन् भक्तपुरकै चारदोबाटो निवासी सुशीला बस्नेत। उनी भन्छिन्, “मेरो डाक्टर बन्ने सपना थियो, पूरा हुन सकेन, मेरो सपना छोरीले पूरा गछिन् भन्ने आशामा छु।”
आफ्ना छोराछोरी राम्रो शिक्षादीक्षा लिएर असल व्यक्ति बनून् भन्ने सपना सबै बाबुआमासँग हुने भए पनि सन्तानको चाहनालाई पनि ध्यान दिनुपर्ने सुशीला बताउँछिन्।
“भर्खर १० वर्ष पुगेकी छोरीलाई तिमी के बन्छ्यौ भनेर सोध्दा डाक्टर बन्छु भन्छिन्। त्यो सुन्दा अचम्म लाग्छ, कसैले सिकाएजस्तो पनि सुनिन्छ,” उनी भन्छिन्, “हाम्रो कुराले उसलाई प्रभाव पारेकोे जस्तो लाग्छ।”
आफ्ना सन्तान डाक्टर भएको हेर्ने पहिलेदेखिको सपना पूरा गर्ने बाटोमा रहेका बाबु हुन् साँगाका रामकुमार श्रेष्ठ। उनका दुई छोराछोरी १२ कक्षापछि एमबीबीएस पढिरहेका छन्। उनीहरूले आफ्नो चाहनालाई पछ्याएको देख्दा खुशी लागेको उनी बताउँछन्। तर आफ्नो इच्छा पूरा गरिदिने छोराछोरीकै इच्छा के थियो भन्ने चाहिँ कहिल्यै नसोचेको उनलाई महसुस भएको छ।
“पढाइ राम्रो छ, जुन विषय पढाए पनि पढाउनै पर्छ। पुगेसम्म खर्च गरेर पढाउँदा उनीहरूको भविष्य राम्रो हुन्छ भने छोराछोरीलाई के पढ्न मन छ भनेर किन सोध्ने?” उनी भन्छन्, “हामीले उनीहरूको भलाइकै लागि सोचेका हुन्छौँ।”
नेपालमा डाक्टरलाई रोजगारीको व्यवस्था छैन। अरू विषय पढाउँदा त भन् उनीहरूको भविष्य के होला भनेर सोच्नुपर्ने श्रेष्ठ बताउँछन्।
काठमाडौँ, सानोभर्याङ बस्ने लक्ष्मी चापागाईंको विचार भने केही फरक छ। आफ्नो चाहनाभन्दा पनि छोराछोरीको चाहनालाई स्वीकारेर पढ्ने विषय रोज्नुपर्छ भन्ने उनलाई लाग्छ।
“छोराछोरीलाई आफ्नो चाहनाअनुसारको बनाउन खोज्नुभन्दा पनि उनीहरू आफैँ के बन्न चाहन्छन् त्यो पत्ता लगाउनु महत्वपूर्ण हो। परिवारको भन्दा पनि बालबालिकाको रुचिलाई प्रथमिकता दिनुपर्छ,” उनी भन्छिन्, “हाम्रो निर्णयले बालबालिकाको चाहना मार्नु हुँदैन नि।”
लक्ष्मीको विचारमा अभिभावकले सानैदेखि जोड दिएर भनेको सुनेर पनि बालबालिकाले डाक्टर बन्छु भन्न सक्छन्। तर उनीहरूको कलिलो दिमागमा असर पर्ने कुरा गर्नु राम्रो नहुने उनी बताउँछिन्।
“बच्चाहरूको कलिलो दिमागमा के गर्नु उचित हो भन्ने कुराको जानकारी हुँदैन। कतिपय अभिभावक नै पनि अनभिज्ञ भएर आफ्ना सन्तानलाई डाक्टर नै बनाउँछु भन्ने सोचिरहेका हुन्छन्। बालबालिकामा भएको रुचि र सम्भावना नै नबुझी उनीहरूको पढाइ र करिअरको योजना बनाउनु हुँदैन,” शर्मीला भन्छिन्।
डाक्टर, इन्जिनियरजस्ता पेसालाई समाजले नमूना मान्ने र यी पेसाकर्मीले राम्रो कमाइ गरेको देख्दा आफ्नो छोराछोरीलाई पनि त्यस्तै बनाउँछु भन्ने सपना अभिभावकमा हुने गरेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। तर बालबालिकाको क्षमताअनुसार उनीहरूलाई के पढाउने भन्ने कुराको निर्णय लिनुपर्ने उनको सल्लाह छ। किनभने उनीहरूलाई आफ्नो रुचिको पढाइ र त्यसैअनुसारको काम गर्न सजिलो हुन्छ र सन्तुष्टि पनि मिल्छ।
यसरी पढ्नुपर्छ बालबालिकाको रुचि
परिवारले बालबालिकाको चाहनालाई कसरी हेर्नुपर्ला? यसको जवाफमा डा. कोइराला भन्छन्, “पढ्ने विषयको रोजाइमा अभिभावकको चाहना पछ्याउन बाध्य बालबालिका विस्तारै उनीहरूकै इच्छालाई आफ्नो भविष्यको गोरेटो बनाउन थाल्छन्। त्यसले उनीहरूको आफ्नै चाहना चाहिँ मर्न सक्छ जुन राम्रो कुरा होइन। किनभने समयको दौडमा बाबुआमा पछि परिसकेका हुन्छन्। उनीहरूको चिन्तनले बालबालिकाको जीवनमा काम गर्दैन।”
त्यसकारण बालबालिकाले बुबाआमाको चिन्तनलाई सम्मान गर्दै आफ्नो क्षमता पहिल्याएर त्यसैलाई अगाडि बढाउनुपर्ने उनको धारणा छ। आफ्ना छोराछोरीलाई दबाब दिने काम बन्द गरेर उनीहरूको रहरमा आफ्नो रहर कसरी मिलाउने भन्ने कुरामा परिवारले नै जोड दिनुपर्ने कोइरालाको मत छ। बालबालिकाको इच्छाअनुसार अध्ययन गर्ने वातावरण बनाइदिनुपर्ने उनी बताउँछन्।
बालबालिकालाई डाक्टर र इन्जिनियर बनाउनुपर्छ भन्ने मान्यता प्रायः अभिभावकले राख्ने गरेको पाइन्छ। बालबालिकामा यसको असर कस्तो पर्ला? डा. कोइराला भन्छन्, “अभिभावकले खोजेको एउटा र छोराछोरीले खोज्ने अर्काे हुँदा समस्या आउँछ। बाबुआमाले छोराछोरीमा आफ्नो संसार खोज्ने गरेको पाइन्छ। बालबालिकाहरू पहिलेभन्दा धेरै चलाख भएका छन्। आफ्नो चाहनाअनुसारको बाटो रोज्नुपर्छ भन्ने विचार उनीहरूमा प्रबल हुन्छ। चाहनालाई मार्नु भनेको उनीहरूलाई दबाबमा पार्नु हो।”
छोराछोरीको शिक्षादीक्षामा लगानी गरेपछि दबाब दिन पाइन्छ भन्ने चिन्तन प्रायः बाबुआमामा पाइन्छ। त्यस्तो चिन्तनलाई आफूले कसरी हेर्ने भनेर बालबालिकाले पनि सोच्नुपर्ने कोइरालाको सुझाव छ। “पहिलेका अभिभावकको चिन्तनको घेरा सानो थियो। तर अहिले त्यो घेरा फराकिलो भएको छ। छोराछोेरीले आफ्नो निर्णय आफैँ लिन सक्छन् भन्ने चेतना अभिभावकमा पनि विकास हुँदै गएको छ,” उनी भन्छन्।
अहिलेका युवा प्रविधिसँग नजिक भएकाले आफूले कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने जानकारी उनीहरूमा हुन्छ। प्रत्येक पुस्ता पहिलेको भन्दा राम्रो हुँदै जान्छ भन्ने मान्यता रहेको र अभिभावकको विचारमा परिवर्तन हुँदै जानु पनि त्यसैको उदाहरण भएको कोइराला ठान्छन्।
साना बालबालिकालाई सोध्दा उनीहरूले डाक्टर बन्छु भन्नुको कारण के होला? सिकाइविद्हरूका भनाइअनुसार यो एउटा शब्द चिन्तन मात्र हो। त्यसलाई बाबुआमाले पटक–पटक सुनाएर बालबालिकाको टाउकोमाथि थोपरिदिएका हुन्छन्। परिवारले बालबालिकाको अगाडि जस्तो कुरा गर्छन् त्यसको भारी उनीहरूमाथि परिरहेको हुन्छ।
“इन्जिनियर बनाउने भनेको सुनेपछि कसरी इन्जिनियर बन्ने भन्ने कुराले दबाब महसुस हुन्छ। मन र मस्तिष्क बिस्तारै त्यसैमा व्यस्त हँुदै जान्छन्। मनोविज्ञानको भाषामा त्यसलाई कन्डिसन भनिन्छ,” शिक्षा मनोविज्ञानका ज्ञातासमेत रहेका डा. कोराइला भन्छन्, “त्यसो हुँँदा त्यसरी हुर्काइएका बालबालिकाले इन्जिनियर नै बन्ने कुरामा चासो राख्छन्। अभिभावकले गरेको चिन्तनको प्रतिक्रिया उनीहरूको मनस्थितिमा त्यसरी परिरहेको हुन्छ।”
परिवारको दबाबले बालबालिकालाई कस्तो असर परिरहेको हुन्छ? कोइराला भन्छन्, “बालबालिकाकोे चाहना र परिस्थिति बुझेर व्यवहार गर्दा कुनै परिवार पनि गलत हुँदैन।” उनका अनुसार बालबालिकाको रुचि बदलिइरहने हुँदा उनीहरूलाई कहिले डाक्टर, कहिले इन्जिनियर र कुनै बेला खेलाडी बन्ने रहर जाग्छ। किनभने उनीहरूको दिमाग निर्णय गर्न पूर्ण रूपमा सक्षम भइसकेको हुँदैन।
“कुनै एउटा समयमा गएर उनीहरूको चाहना स्थिर हुँदै जान्छ। कुन समयमा स्थिर हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्ने क्षमता परिवारमा हुनुपर्छ। परिवारले धेरै दबाब दिँदा उनीहरूको दिमागमा नकारात्मक असर पर्न जान्छ,” डा. कोइरालाले भने।
परिवारले बच्चाको चाहनालाई सूचीबद्ध गरेर राख्नुपर्ने उनको सल्लाह छ। कतिपय अभिभावकले त्यस्तो अभ्यास गर्दै आएको पनि पाइएको छ। कोइराला भन्छन्, “बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै चाहना पनि स्थिर हुँदै जाने क्रममा उनीहरूले एक वर्षसम्म एउटै चाहनामा निरन्तरता दिएको पाइयो भने त्यो नै सबैभन्दा दीर्घकालीन रोजाइ हो भन्ने कुरा परिवारले बुझ्न आवश्यक छ। त्यसो गर्दा बालबालिका मानसिक समस्याबाट जोगिन्छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
