जीवन कुनै कविको कल्पनाजस्तो हुँदैन, नत चित्रकारले कोरेको सुन्दर चित्रजस्तो हुन्छ। वास्तविक जीवनका वास्तविक चुनौती र समस्या हुन्छन्।
पृथ्वीमा उत्पत्ति भएका अनेकन् प्राणीमध्ये उच्चतम बौद्धिक प्राणीका रूपमा मानव स्वयंले आफूलाई व्याख्या गर्ने गरेको छ। २१औँ शताब्दीको तेस्रो दशकसम्मका मान्छेले आर्जेको भौतिक विकास र आविष्कारहरूले त्यसलाई पुष्टि गर्छ। पृथ्वीमा भएका प्राकृतिक स्रोतसाधनको अधिकतम प्रयोग गर्दै मानिसले संसारलाई चकित पार्ने खालका आविष्कारहरू त गरेको छ नै, अन्य ग्रहमा समेत मानव बस्ती बसाउने महत्त्वाकांक्षी योजनामा वैज्ञानिकहरू लागेका छन्। अन्य तीन देशपछि बुधबार चन्द्र सतहमा भारतको चन्द्रयान–३ को सफल अवतरणले सफलताको छनक दिन्छ।
पृथ्वीमा भएका अन्य प्राणीका तुलनामा मान्छेले आफ्नो दिमागी सामर्थ्यको प्रयोग गर्दै मूल रूपमा सामूहिक प्रयत्नमार्फत मानव जातिलाई विश्व विजेता र पृथ्वीको मालिक बनाएको पक्कै हो। तर यहाँ भने कहिलेकाहीँ खास मान्छेलाई तिनका एकाध विशेषतालाई लिएर कसरी देवता या राक्षसका रूपमा चित्रण गरिन्छ, र त्यो किन गलत छ भन्नेबारे चर्चा गरिनेछ। व्यक्ति स्वयं देवता/राक्षस बन्छ या समाजले बनाउँछ भन्नेबारे पनि व्याख्या गर्ने प्रयास गर्नेछु।
भगवान् र राक्षसको परिभाषा भिन्न-भिन्न धर्म र धार्मिक पुस्तक/परम्पराले भिन्न–भिन्न दृष्टिकोणबाट गरे पनि दया, माया र करुणासहितको 'अलौकिक शक्ति' भगवान् भए भने त्यस्तो शक्ति भएर पनि दुरुपयोग गर्ने र नकारात्मक शक्तिका रूपमा राक्षस चित्रित भए। इस्लाम र इसाई मतले राक्षसलाई ‘सैतान’ पनि भन्छन्।
आमरूपमा सामान्य मानिसको भन्दा भिन्न ओज, क्षमता, चालचलन आदि भएका मानिसलाई समाजले भगवान्सँग तुलना गर्छ वा भगवान्को दर्जा दिन्छ। नेपाली समाजमा विविध कालखण्डमा कतिपय मान्छेको देवत्वकरण गरिएका छन्। समय कालखण्डमै त्यही मान्छेको राक्षसीकरण पनि भएको छ।
दार्शनिक राजनीतिज्ञको छवि बनाएका दिवंगत नेता प्रदीप गिरि भन्नुहुन्थ्यो, 'व्यक्तिगत रूपमा मानिसका अनेकौँ कमी–कमजोरी हुन्छन्। त्यसैले मानिससँग व्यक्तिगत होइन, वैचारिक अपेक्षा राख्नुपर्छ।' पक्कै पनि, भिन्न सामाजिक र सांस्कृतिक परिवेशमा हुर्के बढेका मानिसमा भिन्न गुण, अवगुणका साथसाथै सबल र दुर्बल पक्ष हुनु स्वाभाविक हो।
एउटै मानिसमा कुनै पक्षमा निपुणता र कुशलता हुन्छ भने अन्यमा नहुन सक्छ। त्यसो हुँदा मूल रूपमा मान्छेले गर्ने असल प्रयत्नका आधारमा मान्छेलाई मूल्यांकन गर्नुपर्ने हो। तर एकाध काममा निपुणता देखाएपछि या वाक्पटुता देखाएपछि हाम्रो समाजले व्यक्तिलाई नायक बनाउन हतारो गरिहाल्छ। गिरिले हाम्रो समाजको चरित्रलाई लक्षित गर्दै भनेका पनि थिए– जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागा समाज हो।
खास समयमा मान्छेले आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्छ। तर समयको गतिशीलताले मान्छेलाई सधैँ एकनास, क्रियाशील र प्रभावकारी नराख्न सक्छ। एक समयमा सुयोग्य देखिएको व्यक्ति समयसँगै अयोग्य देखिन सक्छ। समयसँगै व्यक्तिको बोली, व्यवहार र आदर्शमा समेत परिवर्तन आउन सक्छ। कुनै बेलाका भौतिकवादी–क्रान्तिकारी मोहनचन्द्र अधिकारी आज आध्यात्मिक मार्गतिर प्रवृत्त छन्। तर यो मानवीय स्वभाव हो। परिवर्तन भौतिक–जैविक दुनियाँको सत्य हो।
सधैँ एउटा मान्छे नायक रहिरहन सम्भव पनि हुँदैन। मान्छेको वृद्धि र क्षमताको सीमा हुन्छ। तर, जब समाजले भगवान् मानेको मान्छेलाई कल्पनाको दुनियाँबाट वास्तविक दुनियाँमा भेट्छ अनि त समाजले मान्छेसम्म बन्ने मौकासमेत नदिईकन सिधै राक्षस बनाइदिन्छ।
नेपाली समाजका पछिल्ला दशकको इतिहास पल्टाएर हेर्ने हो भने यहाँ थुप्रै राजनीतिक नेतादेखि समाजसेवी कुनै कालखण्डमा भगवान् बनाइएका छन् भने अर्को क्षणमा राक्षस बनाइएका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राजनीतिक जीवनको सक्रिय क्षणमा धेरै दानवीकरण गरियो।
कोइराला बाँचुन्जेल उनीविरुद्ध भए नभएका लाञ्छना लगाइए, धेरै पटक पुतला जलाइए। तर आफ्नो र राजनीतिक जीवनको अन्तिम कालतिर कोइरालाले राजतन्त्र अन्त्य, गणतन्त्र स्थापनादेखि र धर्मनिरपेक्षता कायम गर्ने सवालमा महत्त्वपूर्ण भूमिका खेले। 'जनयुद्ध'लाई शान्तिपूर्ण बैठानमा उनको परिपक्व भूमिकाबारे शायदै कसैले प्रश्न उठाउन सक्ला।
भूमिगत छापामार युद्धमार्फत नेपालका गाउँ र देहातसम्म आफ्नो प्रभाव फैलाएर अन्ततः गणतन्त्र स्थापनाको नेतृत्व लिएका कुनै बेलाका क्रान्तिकारी नेता प्रचण्डलाई दशकयता यति धेरै दानवीकरण गरियो कि उनले दलित, जनजाति, महिला र पिछडिएका वर्गलगायतको हितमा गरेको ऐतिहासिक योगदानलाई बिर्सिइयो। यस्तो सामाजिक दृष्टिदोषको सिकार अन्य नेपाली राजनीतिज्ञसमेत बनेका छन्।
नेताहरू बितेर गएपछि भने तिनको योगदान र सदाचारबारे चर्चा हुने अर्को प्रवृत्ति पनि हामीकहाँ छँदैछ। राजा महेन्द्रका तमाम खराबीका बीच उनले पनि नेपालको कूटनीति र राजनीतिमा केही महत्त्वपूर्ण योगदान गरेका छन्, उनको योगदानलाई सन्तुलित रूपमा समालोचना गर्ने क्रममा प्रशस्त त्रुटि हाम्रा विद्वान लेखक र समाचालोचकहरूमा समेत देखिने गरेको छ।
पछिल्ला दिनमा नेपाली राजनीतिमा उदाएका रवि लामिछाने हुन् वा बालेन शाह, हर्क साम्पाङ, सीके राउत या रञ्जिता श्रेष्ठहरू नै किन नहुन्, नेपालीहरू अलि धेरै हतारिएर तिनलाई बेलुनझैँ हावामा उडाइरहेका त छैनन्? एक समय भावनामा बहकिएर आफूले अपेक्षा गरेका राजनीतिक नेतालाई अत्यन्तै धेरै सद्भाव प्रकट गर्नु र छोटो समयमा नै तिनलाई लखेट्न थाल्नु हाम्रो समाजको तीतो यथार्थ हो। सम्भवतः अति महत्त्वाकांक्षा र नायक पूजक संस्कृतिकै असर र प्रभावका रूपमा पनि यसलाई लिन सकिएला।
सीताराम कट्टेल र कुन्जना घिमिरे कुनै समय कलाकारिता मात्रै नभएर समाजसेवामा पनि चम्किएका नाम थिए। तर 'गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण'को महत्त्वाकांक्षी परियोजनामा हात हालेर त्यसमा असफल भएयता उनीहरूको 'नायकत्व'लाई मान्छेले बिर्सेका छन्। भूकम्पपछि आवासविहीन कैयौँ विपन्न परिवारलाई तिनले गरेको योगदान पनि लोकस्मृतिबाट हराएझैँ लाग्छ। समाजको स्वास्थ्यका लागि यो गम्भीर विषय हो।
दुनियाँमा हरेक व्यक्तिको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ, तर एउटा दृष्टिकोणबाट राम्रो देखेपछि हतारिँदै स्तुति गर्ने र कुनै खराबी देख्नेबित्तिकै दानव करार गर्ने कुराले हामी कसैको उचित मूल्यांकन नगरिरहेका हुनसक्छौँ। हाम्रो समाजको यस्तो उदेकलाग्दो विशेषताका कारण देवत्कवरण र दानवीकरणमा पर्ने दुवै थरी मारमा पर्ने गरेका छन्। मान्छे हुनबाट वञ्चित भएका छन्। नेता त भए नै, चन्दा संकलन गरेर समाजसेवा गर्नेदेखि कहलिएका खेलाडी, पत्रकार, लेखक, व्यापारीहरू देवत्वकरण र दानवीकरणको मारमा पर्ने गरेका छन्। यसो गर्ने सर्वसाधारण पनि पीडित हुने नै भए।
समाजले नायक ठहर्याएका व्यक्ति अति सामान्य हुन् र तीबाट केही पनि अपेक्षा गर्न हुँदैनथ्यो भन्ने तर्क यो पंक्तिकारको होइन। समाजमा विशेष योगदान गर्नेहरूमा पक्कै केही फरक क्षमता, साहस अनि महत्त्वकांक्षा हुन्छ। उनीहरूका कर्मले केही व्यक्ति, सिंगो समाज र देशको जीवनमा सकारात्मक नतिजा दिएका पनि हुन्छन्।
जीवन कुनै कविको कल्पनाजस्तो हुँदैन, न त चित्रकारले कोरेको सुन्दर चित्रजस्तो हुन्छ। वास्तविक जीवनका वास्तविक चुनौती र समस्या हुन्छन्। त्यसो हुँदा हर मान्छेका सार्वभौम स्वभाव हुन्छन्। मानवीय कमजोरी हुन्छन्, कोही मान्छे जमिनभन्दा माथि हुँदैन। त्यसमाथि कसैलाई सधैँ एकनास र सदाबहार रहिरहोस् भन्ने अपेक्षा राख्नु आफैँमा अवैज्ञानिक धारणा हो। सोही कारण मान्छेको देवत्वकरण र दानवीकरणभन्दा वस्तुगत समीक्षा र संयम समीक्षा आवश्यक हुन्छ।
नेता हुन् वा अभिनेता, पढाउने गुरु हुन् वा धर्मगुरु, ती सबै मानव-जीवका रूपमा यस धर्तीमा अवतरित छन्। हरेकका आ-आफ्नै विशेषता हुन्छन्। बेलायती कूटनीतिज्ञ तथा कुशल वक्ता विन्स्टन चर्चिल भन्थे– मानव जीवनमा कोही पनि परिपूर्ण हुँदैन।
त्यसो हुँदा मानिसलाई समग्रतामा बुझ्नुपर्छ। त्यसो हुँदा कसैलाई पनि भगवान् र राक्षस बनाउने कुराले त्यस व्यक्तिप्रति न्याय गर्दैन। देख्दै नदेखेको र भेट्दै नभेटेको कल्पनाका भगवान् र राक्षससँग मान्छेलाई तुलना गरेर असम्भव अपेक्षा व्यक्तिबाट राखिरहनुभन्दा उस/उनको राम्रो पक्षको प्रशंसा गर्नुस्। नराम्रो पक्षको विरोध गर्नुस् वा रचनात्मक सल्लाह सुझाव दिनुस्। यसले व्यक्तिलाई आफ्नो वस्तुगत र साँचो आत्ममूल्यांकनका लागि प्रेरणा मिल्नेछ भने तपाईंलाई समेत निराशामा पुग्नबाट रोक्नेछ। यस्तो आलोचनात्मक चेतको विकासले व्यक्ति र समाजकै कल्याण हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
