प्रधानमन्त्री कप: कीर्तिमानी योगफल पूरा गर्दै आर्मी फाइनलमा

जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको हो।

तस्वीर : क्यान

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी योगफल पूरा गर्दै उपाधिनजिक पुगेको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबमाथि २ विकेटको जित हात पार्दै आर्मी लगातार पाँचौं पटक फाइनलमा पुगेको हो।

जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको हो। यसअघि सन् २०१८ मा तत्कालीन प्रदेश ४ (गण्डकी प्रदेश)ले दिएको २४० रनको लक्ष्य अर्को विभागीय टोली एपीएफले पूरा गरेको थियो।

अन्तिम ओभरमा आमीलाई जितका लागि ८ रन चाहिएको थियो। दीपेन्द्रसिंह ऐरीको पहिलो बलमा राजेश पुलामीले कुनै रन लिएनन्। दोस्रो बलमा एज लागेर चौका हुन पुग्यो। तेस्रो बलमा एक रन बटुले। चौथो बलमा दुई रनको अवसर भए पनि राजेशले रन लिन मानेन्।

दुई बलमा दुई रन चाहिँदा पाँचौं बलमा छक्का प्रहार गर्दै राजेशले आर्मीलाई फाइनल पुर्‍याए। राजेशले ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रन प्रहार गरे।

राजेश पुलामी मगरले व्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए। तीव्र गतिका बलर गुलशन झाको ४४औं ओभरको चौथो बलमा दीलिप नाथले राजेशको क्याच छाड्न पुगेका थिए।

त्यसअघि आर्मीका युवा ब्याटर रोहित पौडेल सर्वाधिक ८९ रन बनाएर आउट भए। उनले ८७ बलमा ९ चौका प्रहार गरे।

तीव्र गतिका बलर राशिद खानको बलमा मिड विकेटमा करण केसीबाट क्याच आउट हुन पुगेपछि रोहित घरेलु क्रिकेटमा पहिलो शतक हान्न ११ रनले चुकेका थिए।

ओपनर हरि चौहान ९२ बलमा ८ चौका र १ छक्कासहित ७५ रनमा आउट भए। तेस्रो विकेटका लागि हरि र रोहितले १३५ रनको शतकीय साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए।

कप्तान विनोद भण्डारीले ३० बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए। तल्लोक्रमका विक्रम सोबले १८ बलमा ३ चौका र २ छक्कासहित ३० रन बनाए।

पुलिसका तीव्र गतिका बलर करण केसीले १० ओभरमा ५२ रन खर्चेर ६ विकेट लिए। राशिद खान र ललितले १/१ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो।

पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १४० रनको इनिङ्स खेले। उनले १२५ बलमा ११ चौका र ५ छक्का प्रहार गरे।

दीपेन्द्रको यो राष्ट्रिय प्रतियोगितामा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो। गत वर्ष सम्पन्न घरेलु प्रतियोगिता काठमाडौं मेयर्स कपमा दीपेन्द्रले एपीएफविरुद्ध १४० रनको इनिङ्स खेलेका थिए। प्रधानमन्त्री कपमा यो दोस्रो ठूलो इनिङ्स हो।

यसअघि एपीएफका प्रदीप ऐरीले सन् २०१८ को प्रधानमन्त्री कपमा तत्कालीन प्रदेश-२ (मधेश प्रदेश) विरुद्ध १५८ रन बनाएका थिए। उनले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए। उक्त खेल एपीएफले डक अफ वर्थ लुइस नियमअनुसार ९६ रनले जितेको थियो।

दीपेन्द्र प्रधानमन्त्री कपमा एकै प्रतियोगितामा दुई शतक हान्ने पहिलो खेलाडी हुन्। दीपेन्द्रले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ८२ बलमा ११ चौका र ४ छक्कासहित १०८ रनको शतकीय इनिङ्स खेलेका थिए।

चौथो विकेटका लागि दीपेन्द्र र आरिफ शेखले २०४ रनको दोहोरो शतकीय साझेदारी गरे। प्रधानमन्त्री कपमा यो दोस्रो पटक दोहोरो शतकीय साझेदारी हो।

यसअघि प्रदीप र सुवास खकुरेलले दोस्रो विकेटका लागि २०१८ मा मधेशविरुद्ध २३१ रनको शतकीय साझेदारी गरेका थिए।

आरिफ १०९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल ३२ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा आउट भए। सुनिल धमलाले १३ र अमित श्रेष्ठले १० रन बटुले।

आर्मीका विक्रम सोबले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए। सुशन भारीले १ विकेट लिए।

फाइनल खेल शनिबार हुने छ। पहिलो खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।