पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती

मन्त्री किराँतीले नेपालीहरूको प्रमुख श्रमगन्तव्य खाडी मुलुकबाट पनि पर्यटक ल्याउनमा जाेड दिनुपर्ने बताए।

काठमाडाैँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन्। 

बुधबार काठमाडौँमा टुरिस्ट बस एसाेसिएसन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए। उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने तर्क गरे।

पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्न पर्यटन विभाग रहेको भन्दै भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको उनकाे भनाइ छ। मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको र पर्यटक ल्याउने बहानामा युराेप भ्रमण गर्न नपाइने पनि बताए। 

"पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो। पर्यटनको प्रवद्र्धन बोर्डले गर्ने हो। भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो। म आइसकेको छु, मन्त्रालयमा म याे हुन दिन्न। भौतिक संरचनामा कमिशन खेल शून्य बनाएर छोड्छु," उनले भने, "पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड पैसा युरोप भ्रमणमा पाइँदैन। हाम्रा दुई छिमेकी राष्ट्रको जनसख्या १३ अर्ब र अर्कोको डेढ अर्ब छ। चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ। भूटान र बंलादेशमा पनि जोड गर्नुपर्छ।"

मन्त्री किराँतीले नेपालीहरूको प्रमुख श्रमगन्तव्य खाडी मुलुकबाट पनि पर्यटक ल्याउनमा जाेड दिनुपर्ने बताए।

यस्तै, आफूले बोर्डका आजसम्मका विकृति,विसंगतिहरू अन्त्य गर्न चाहेको उल्लेख गर्दै बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताए।