नियात्रा
आस्था धर्मले मात्र निर्माण हुँदो रहेनछ, संस्कृतिले मात्र निर्माण हुँदो रहेनछ। धार्मिक र सांस्कृतिक आस्थाबेगर पनि पवित्र तीर्थस्थल बन्दो रहेछ कतिपय ठाउँ। ब्युटी बोर्डिङको सौन्दर्य सायद यही हो।
नाम सुन्दै कति सुन्दर होला भन्ने कल्पना गर्दै मखलेल बनेको मेरो मन मूल प्रवेशद्वारमा आइपुग्नासाथ ‘हिस्स बुढी हरिया दाँत’ भयो। प्रवेशद्वारमा पुरानो फलामे बार छ। अगाडि उभिएको एकतले भवन निकै जीर्ण देखिन्छ। भवना मात्र होइन, भवनलाई घेरिएको पर्खाल पनि उस्तै छ। पर्खाललाई नै टेको बनाएर उभिएका छन् केही थान रूखहरू। पोथ्रा भुईंबाट उठ्न खोज्दै छन् सानो बगैँचामा।
अलिअलि भने पनि अंग्रेजी जानेको म, ‘ब्युटी’ शब्दलाई ‘सुन्दरता’का रूपमा अर्थ्याएर भौतिक सुन्दरता खोज्न लालायित थिए मेरा आँखा। प्राक्कल्पना एउटा तर दृश्य अर्को।
साँघुरो किल्ला तर भीडभाडयुक्त। सदियौँ पुरानो ढाका बजारको जस्तो भिडभाड त होइन तर आवतजावत निरन्तर छ। भवनका भित्तामा झार उम्रिएको छ। भुईंमा कुनै सजावट छैन। माथि उक्लिन एकातिर काठ भर्याङको छ, अर्कोतिर सामान्य सिँढी लगाइएको छ।
‘यो हामी लेखकहरूका लागि, भाषालाई माया गर्नेहरूका लागि, देशलाई माया गर्नेहरूका लागि पवित्र तीर्थस्थल हो,’ बंगाली साहित्यकार प्राडा. ओनिजा रहमानको यो जानकारीपछि ब्युटी बोर्डिङको सुन्दरताको फरक पाटोमा घोत्लिन्छु म।
स्मृतिदंशले मनमा डस्न आइपुग्छ। ‘ढाका पुग्ने हो भने, ढाका बजार र ब्युटी बोर्डिङ पुग्नुभएन भने बांग्लादेश नपुगेसरह हुन्छ।’
मित्र विजयराज आचार्यको यो भनाइमा मैले सोधेको थिएँ, ‘त्यहाँ त्यस्तो विशेष के छ?’
‘पुरानो ढाका बजार बांग्लादेशको बौद्धिक व्यापारको मुटु हो। बांग्लादेशको सारा प्रकाशक त्यहीँ रहेका छन्। त्यहीँबाट देशभर छरिन्छन् पुस्तक। सबै बौद्धिक सामग्री एकै थलोमा पाइन्छ। कति सजिलो! हामीकहाँ प्रकाशन केन्द्रहरू छरिएको कारण पुस्तक व्यापार सजिलो छैन। ब्युटी बोर्डिङ त्यहाँको आस्थाको केन्द्र हो।’
विजयजीको यो सामान्य जानकारीपछि सामान्य विम्ब बनेको थियो मनमा ढाका बजारबारे।
‘ढाकाको जाम। ढिलो हुन सक्छ। अलि चाँडै निस्कनु होला है।’ साहित्यकार ओनिजा रहमानको आग्रहलाई शिरोधार्य गर्छौं हामी। अनभिज्ञ छौँ, ढाकाको सवारी यात्रा र गन्तव्यबारे। आग्रह गर्छौं आलमलाई, अलिक चाँडै आइदिन। दश नबज्दै पुग्छौँ हामी ढाका नेसनल मेडिकल कलेजमा। जहाँ भेट्नु थियो डा. ओनिजा रहमान, प्रोडा. मिजानुर रहमान कालोल र लेखक हुमायूँ कबिर धालीलाई। उहाँहरूकै अगुवाइमा घुम्नु छ ढाकाका केही महत्त्वपूर्ण स्थान। हाम्रो बास थियो– मेट्रो इन्टरनेसनल होटल, मिरपुर–११ मा। त्यहीँबाट मेट्रो रेल चढेर फार्म गेटनजिक उत्रेका थियौँ।
ढाका अटोको शहर। रिक्साको शहर। फार्म गेटमा झर्दा मात्र होइन रिक्साबाट नेसनल मेडिकल कलेज आइपुग्दा पनि सडकभर रिक्सैरिक्सा। डा. ओनिजाका साथ २०० वर्ष पुरानो सेन्ट थोमस चर्च र ढाका बजार पैदल हिँड्दा पनि जताततै उस्तै छ। ब्युटी बोर्डिङ आइपुग्दा भने अटो र रिक्सा अलि पातलिए।
बजारबाट केही सय मिटर मात्र पर रहेको ब्युटी बोर्डिङ हामी हिँडेर नै आइपुगेका छौँ। नजिकै छ बांग्लादेशको बौद्धिक व्यापारस्थल, पुस्तक व्यवसायको केन्द्र। यो लेखकहरूका लागि तीर्थस्थल। आस्था केन्द्र। यस वृद्ध स्वरूपमा उभिएको भवनको सौन्दर्यको मर्मको पोयो खोल्नु छ मैले। यसको सौन्दर्य भौतिक संरचनामा होइन भावनात्मक सम्बन्धमा जोडिएको संकेत थियो– नजिकै रहेको पुस्तक बजार।
कुर्ची र टेबल छन् बाहिर चौरमा। मान्छेहरू ओहोरदोहोर गरिरहेछन्। युवाको उपस्थितिको बाहुल्यता देखिन्छ यहाँ। भित्र होटल छ। भ्याइनभ्याई देखिन्छ। आगन्तुक चिया नास्ता खान व्यस्त छन्। व्यस्त छन् कोही– भवनलाई पृष्ठभूमिमा पारेर विभिन्न पोजमा तस्वीर खिच्न।
चौरमा राखिएको कुर्चीमा बस्न पनि पालो ढुकेर पर्खनुपर्छ हामीलाई। खाली हुनासाथ कब्जा जमाउँछौँ। धनप्रसाद सुवेदी, टीकाराम उदासी, शान्ता दाहाल, राजकुमारी कुँवर, विमला खनाल र इन्द्र चौधरी, हामी सबै घेरामा बस्छौँ। आलम, ओनिजा, कालोल र धाली पनि छन् साथमा।
‘यिनी सहयोगी, सवारी चलाउँछन् हाम्रा। सवारी चालकभन्दा बढी पारिवारिक सदस्य। हामी काममा व्यस्त। हाम्रा बच्चा यिनैले हुर्काएका हुन्,’ आफ्नो सवारी चालकको प्रशंसा गर्छिन् ओनिजा। नाम भने याद राख्न सकिनँ मैले। मुस्कुराउँदै हात जोडे उनले। ‘अहिलेको जमानामा यति असल र इमानदार मान्छे पाउन सहज छैन,’ मनमा लाग्छ।
एक जोडी नवजवान विवाहको पहिरनमा त्यहाँ आइपुग्छन् र तस्वीर खिच्न थाल्छन्।
‘यो यस्तो ठाउँ हो। यी जोडी बेहुलाबेहुली हुन्। यहाँ फोटो सेसन सकेपछि बल्ल वैवाहिक कार्य सम्पन्न गर्दछन्।’ छक्क पर्छौं हामी ओनिजाको कुरो सुनेर। कालोल र धाली पनि समर्थन जनाउँछन् यसमा।
‘अनि यहाँ किन त?!’ शब्द शान्ता दाहालको भए पनि जिज्ञासा हामी सबैको थियो।
‘यो ठाउँको विशेषता नै यही हो। हरेकले शुभकर्म गर्नुअघि सम्भव भएसम्म यहीँ आइपुग्छन्। यो जोडी यहाँबाट फर्केपछि विवाह कर्म सम्पन्न गर्नेछन्,’ थप स्पष्टीकरण डा. ओनिजाकै थियो।
जहाँ धार्मिक आस्था छैन। जहाँ संस्कृति जोडिएको छैन। नेपालमा त्यस्तो फरक ठाउँ कहाँ होला जहाँ पुगेर शुभ कर्मको थालनी होस्। जीवनको महत्त्वपूर्ण निर्णय गर्नुअघि पुग्नैपर्ने ठानियोस्। सम्झने प्रयास गर्दछु। अहँ, त्यस्तो कुनै नाम झुल्कँदैन मनमा।
लाग्छ– आस्था धर्मले मात्र निर्माण हुँदो रहेनछ, संस्कृतिले मात्र निर्माण हुँदो रहेनछ। धार्मिक र सांस्कृतिक आस्थाबेगर पनि पवित्र तीर्थस्थल बन्दो रहेछ कतिपय ठाउँ। ब्युटी बोर्डिङको सौन्दर्य सायद यही हो। सौन्दर्यको खोजमा बहकिएको मनको केही गुत्थी सुल्झिएझैँ लाग्छ।
नवप्रवेशी जोडी केही तस्वीरहरू खिचेर निस्कन्छन्। एकछिनमा आइपुग्छन् कालोल र ओनिजाका दुई छोरी– नाजीफ ताज्रिया रहमान तीतिर र सरना ताज्रिया रहमान तीतिर। दुवै बालस्रष्टा हुन्। मायालाग्दा छन् र प्रतिभाका धनी पनि। एकछिन मिठो स्वरमा नेपाली गीत गाएर उल्लासमय पारे उनीहरूले वातावरणलाई– फूलबुट्टे सारी, सपक्क पारी पछ्यौरी मलमलको... कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो... हामीले साथ दियौँ ताली बजाएर।

हामीसँगै थिए बंगाली कवि ताहामिज सैरजाद। फुर्सदमा यहाँ आउँदा रहेछन् उनी। उनी मात्र होइन, हरेक लेखक र देशभक्त नागरिक यहाँ आइपुग्न पाउँदा मखलेल हुँदा रहेछन्। अर्का कवि कुमार सुसान्त सरकार पनि उनकै साथमा छन्। म उपस्थितसँग यसको महत्त्वबारे प्रस्ट पार्न आग्रह गर्दछु।
हामीसँगै हाम्रा कुराहरू सुनिरहेका छन् एक युवक। उनको नाम आर्फिद। ढाकाकै रहेछन् उनी। उनी सुनाउँछन् ब्युटी बोर्डिङको ८० वर्षे पुरानो इतिहास। बंगला भाषाको भाषिक समृद्धि र राष्ट्रिय स्वतन्त्रता संग्रामसँग जोडिएको रहेछ यो ठाउँ।
प्रसिद्ध बंगाली कवि सन्सु अहमदले यहीँ बसेर साहित्य सिर्जना गरेका रहेछन्। यो घर स्वतन्त्रता संग्रामताकाको त्यही अखडा रहेछ, जहाँ बसेर संघर्षका योजना बन्दा रहेछन्।
राष्ट्रिय भावनासँग जोडिएको एउटा आस्थाको केन्द्र। अग्रज साहित्यकारहरूको अखडा। यसैको आँगनमा हामी आराम गरिरहेका छौँ। अपार आनन्दको अनुभूति हुन्छ मनमा।
राष्ट्रिय स्वतन्त्रताको आन्दोलन हामीले गर्नु परेन। त्यसैले यससँग जोडिएको आस्थाको केन्द्रप्रतिको भावना कस्तो हुन्छ परिकल्पना मात्र गर्न सक्थेँ म। नेपाली राजनीतिको सन्दर्भमा नयाँसडक एउटा विम्ब हो, साहित्यको सन्दर्भमा पिपलबोट। ब्युटी बोर्डिङ बङ्गलादेश र बङ्गला साहित्यको सन्दर्भमा त्यही थियो सायद। अझ त्योभन्दा पनि बढी।
म सम्झन्छु प्रकाश गुरागाईंको ‘जङ्कसन पिपलबोट’। पिपलबोट र नयाँ सडकलाई केन्द्रमा राखेर इतिहास उधिन्ने प्रयास गरेका छन् कृतिमा उनले। नेपाली राजनीति र साहित्यमा पिपलबोट र नयाँ सडकले पारेको प्रभावको उत्खनन गर्ने प्रयत्न गरेका छन् उनले। ‘ब्युटी बोर्डिङलाई केन्द्रमा राखेर पुस्तक लेखिएको होला कि नहोला?’ जिज्ञासा जाग्छ मनमा।
त्यसो त, नजिकै छ एउटा विरासत बोकेको ढाका विश्वविद्यालय। हरेक परिवर्तनको साक्षी र संवाहक। सुरक्षा संवेदनशीलताका कारण हामी त्यहाँ पुग्न सकेनौँ। मेट्रो ट्रेनको यात्राका क्रममा ट्रेनभित्रबाट हेरेर चित्त बुझाएका थियौँ हामीले। ‘शेख हसिनाले सत्ता छाड्नुपर्ने गरी ढाका विश्वविद्यालयबाट उठेको आन्दोलन र ब्युटी बोर्डिङले बोकेको पवित्र राष्ट्रियताको भावनाबीच कत्तिको दूरी होला?’ तर्कना गर्छ मनले।
म पल्टाउँछु इतिहासको पाना, बौद्धिक अखडाको विम्ब बनेको ब्युटी बोर्डिङको– बंगला बजारको छेउमा रहेको यो भवन जमिन्दार श्री शुधीर दासको मौजा रहेछ। जीर्ण देखिएको यो संरचना भने सायद कम्तीमा पनि १२५ वर्ष पुरानो हो। किनकि, यस भवनमा सन् १९४७ भन्दा अघि 'सोनार बंगला' दैनिक पत्रिकाको कार्यालय थियो। पत्रिकाको नाम रवीन्द्रनाथले जुराएका हुनाले उनको समयसँग जोडिन्छ यो भवन। त्यहाँ उपस्थित बंगाली युवा आर्फिद भने ३०० वर्ष पुरानो हो भन्दै थिए। भवनको संरचना हेर्दा अविश्वास नै गर्नुपर्ने कुनै ठोस आधार थिएन मसँग।

बंगला साहित्यको निर्माणकाल, सन् १९४०–१९६० को अवधि यो साहित्यिक अखडा बनेको रहेछ। पुस्तक मुद्रण, प्रकाशन र वितरणको। लेखकको भेटघाटको केन्द्र पनि रहेछ यो।
बंगला बजारमा आइपुग्ने लेखकलाई नै लक्षित गरी नलिनी मोहन साहले ब्युटी बोर्डिङ सञ्चालन शुरू गरेका हुन्। ‘ब्युटी’ उनको छोरीको नाम। ‘बोर्डिङ’ सशुल्क आवासगृह। सायद, पाहुनालाई पारिवारिक वातावरण दिने उद्देश्यले उनले ‘होटल’ नभनेर ‘बोर्डिङ’ नाम दिए। यही नाममा आठ दशकअघि शुरू भएको होटल र रेस्टुरेन्ट आजसम्म चलिरहेको छ। प्रयत्नशील छ, आफ्नो विरासत धान्न।
ब्युटी बोर्डिङको स्थापनापछि होटल मात्र रहेन, महत्त्वपूर्ण सिर्जनात्मक केन्द्र, बौद्धिक बहसको अड्डा बन्न पुग्यो र बन्न पुग्यो बंगला स्वतन्त्रता संग्रामको एउटा हिस्सा। संघर्षका कैयौँ योजना यसकै आँगनमा बने। परिणाम, कोपभाजनको शिकार बन्यो पाकिस्तानी सेनाको। सन् १९७१ मा होटलका मालिक प्रह्लाद साहसहित १७ जना पाहुनालाई सेनाले कब्जामा लियो र हत्या गऱ्यो। कति निर्दोष मान्छे आततायीको शिकार बने होलान्? मनमा आक्रोश जाग्छ, अनि मनमनै विरोध गर्छु निरंकुश सत्ताको।
त्यसपछि बन्द हुने स्थितिमा पुग्यो ब्युटी बोर्डिङ। ५० को दशकमा प्रख्यात बंगाली कवि शाहिद कादरी, निर्मलेन्दु गुनले आफ्ना कतिपय कृति यहाँ बसेर लेखेका रहेछन्। आधुनिक बंगाला साहित्यमा पाँच दर्जनभन्दा बढी कृति दिएर आफ्नो विशिष्ट स्थान बनाउने सैयद शमसुल हक (सन् १९३५–२०१६) ले पनि कतिपय कृति यहीँ बसेर लेखेका हुनाले यो ठाउँलाई सम्मानदृष्टिले हेर्दा रहेछन् साहित्यप्रेमी।
चित्रकार देवदास चक्रवर्ती, कवि शमसुर रहमान, अबु जफर ओवैदुल्लाह, रफिक आदाज र अलमहमूदको साँझको चिया पिउने अखडा रहेछ यो। बंगला साहित्यका आधारस्तम्भहरूको एउटा महत्त्वपूर्ण अखडा, बौद्धिक समुदायको चियागफको अड्डा। राष्ट्रिय स्वाधीनतासँग जोडिएको पवित्र भूमि। एउटा होटलले राष्ट्रनिर्माणमा, भाषाको समृद्धिमा यति महत्त्वपूर्ण भूमिका खेलेको बिरलै उदाहरण होला सायद संसारमा।
श्रद्धाले पहेँलो रङले पोतिएको भित्ताको अवलोकन गर्छु। कवि इमरूल चौधरीको प्रयत्नमा ‘ब्युटी बोर्डिङ सुद्धि शोङ्घो’ अर्थात् ब्युटी बोर्डिङसँग जोडिएका स्रष्टालाई समेट्नका लागि ब्युटी बोर्डिङ सुधी संघ गठन गरेर यसको विरासतलाई फर्काउन गरेको प्रयास थाहा पाएर पुलकित हुन्छु। मनमनै सोच्छु– अझ नवपुस्ताको यसप्रतिको आकर्षणले ब्युटी बोर्डिङले बंगला साहित्यमा नयाँ अध्याय थप्न पनि त सक्छ। लाग्छ– यही त हो ब्युटी बोर्डिङको सुन्दरता। तस्वीर लिन्छौँ बार्दलीमा पुगेर र निस्कन्छौँ त्यहाँबाट अहसान मञ्जिललाई गन्तव्य बनाएर।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
