गृह मन्त्रालयको दबाबपछि पक्राउ परेका २०० भन्दा धेरैलाई छाडेको प्रहरी भदौ २४ को विध्वंसमा संलग्न र जेन–जीका नाममा मनपरी गर्नथालेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन फेरि सक्रिय बनेको छ।
काठमाडौँ– यति बेला जेन–जी आन्दोलनकारीहरूकै निम्ति ठूलो टाउको दुखाइ बनेको छ भदौ २४ को विध्वंस। भदौ २३ गतेको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि २४ गते देशैभर चर्केको आन्दोलन विध्वंसमा परिणत भएको थियो।
त्यस दिन देशभर सरकारी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटदेखि प्रहरी कार्यालय जलाएर हतियार लुट्नेसम्मका घटना भए। विध्वंसका एकपछि अर्का घटना र तिनमा संलग्न व्यक्तिहरूका प्रमाण सामाजिक सञ्जालमा छताछुल्ल छन्।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी भइरहँदा मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिँदै गरेको एउटा तस्वीर त्यो दिन बेलुकादेखि नै भाइरल बनेको थियो। त्यो हतियार प्रहरीबाटै लुटिएको थियो।
त्यसको एक महिना चार दिनपछि गत मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एसएलआर प्रदर्शन गर्ने व्यक्ति, ललितपुर महानगरपालिका–२६ सुनाकोठीका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई पक्राउ गरेको छ। उनले सर्वोच्च अदालतभित्र रहेको प्रहरी कार्यालयबाटै एसएलआर लुटेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको थियो। परियारमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप लिएर परिसरले अनुसन्धान गरिरहेको छ।
प्रहरी अनुसन्धानका क्रममा, परियार यसअघि पनि विभिन्न कसुरमा संलग्न रहेको खुलेको छ। ज्यान मार्ने, बैंकिङ कसुर र ठगीलगायत अपराधमा उनी संलग्न देखिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता रहेका एसपी पवनकुमार भट्टराईले बताए।
भदौ २४ कै आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चितवनको कालिका नगरपालिका–६ का विजय लामालाई पनि पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। लामाले आन्दोलनका क्रममा मूर्ति, आइफोनलगायत सामग्री चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले म्याद थपेर थप अनुसन्धान अघि बढाएको छ।
दोस्रो दिनका आगजनी, तोडफोड, लुटपाट र प्रहरी तथा प्रहरी कार्यालयमाथि आक्रमण गर्नेहरूमाथि प्रहरीले देशव्यापी रूपमै कारबाही शुरू गरेको छ। त्यही क्रममा जेन–जीका नाममा अराजकता मच्चाउने र सरकारी अड्डाहरूमा गएर धम्क्याउनेहरूविरुद्ध पनि प्रहरीले अपरेसन थालेको छ।
जस्तो, जेन–जीका नाममा कर्मचारीलाई धम्क्याइरहेका अछामका अर्जुनबहादुर शाही पक्राउ परेका छन्। शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतमा पुगेर जेन–जीका नाममा ठाडै धम्की दिएका भिडियो सार्वजनिक भएका थिए।
यिनै प्रमाणलाई आधार मानेर शाही पक्राउ परेपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनी यसअघि पनि थुप्रै आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। कतिसम्म भने, उनले नेपाल प्रहरीको सहायक निरीक्षकको परिचय–पत्र बोकेको, त्यसलाई देखाएर विभिन्न लाभ लिइरहेको र उनीविरुद्ध ठगीदेखि बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत विचाराधीन रहेको भेटिएको छ।
गृहको अवरोध, पक्राउ परेका २०० जनालाई दबाबमा छाडियो
जेन–जी आन्दोलनको समाप्ती र त्यसकै बलमा गैरदलीय अन्तरिम चुनावी सरकार गठनपछि बिस्तारै लयमा फर्किन थालेको प्रहरीले आफ्ना कार्यालय सञ्चालन गरेसँगै २४ गतेको हिंसा र विध्वंसमा संलग्नहरूलाई पहिचान गरेर पक्राउ गर्न शुरू गरेको थियो। तर यो काममा प्रहरीले शुरूमै ठूलो अवरोध ब्यहोर्नुपर्यो।
पक्राउको क्रम शुरू हुनासाथै असोज ९ गते गृह मन्त्रालयले आन्दोलनमा भएका घटना सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोग गठन भएको र आयोगको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने भन्दै विज्ञप्ति निकाल्यो। त्यति मात्र होइन, मन्त्रालयले धरपकड नगर्न भन्दै देशैभरका प्रहरीलाई परिपत्रसमेत गर्यो।
मन्त्रालयकै यस्तो दबाबपछि प्रहरीले थालेको कारबाही रोकियो। त्यतिन्जेल देशभर पक्राउ परेका २०० जनाभन्दा धेरैलाई हाजिरी जमानीमा छाड्नु परेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी बताउँछन्।
त्यस क्रममा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै व्यक्ति पक्राउ परेका थिए। काठमाडौँ प्रहरी परिसरले मात्र पक्राउ परेका ७१ जनालाई हाजिरी जमानीमा छाडेको थियो।
गृह मन्त्रालयको विज्ञप्ति र परिपत्रले प्रहरीको हात बाँधिए जस्तै भयो। प्रहरीले थप कारबाही अघि बढाउन सकेन। त्यसको १२ दिनपछि, असोज २१ गते जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने भन्दै विज्ञप्ति जारी गरेपछि प्रहरी पुनः सक्रिय बन्यो।
त्यसपछि नै भदौ २४ को विध्वंसमा संलग्नहरू र पछिल्लो समय जेन–जीका नाममा अराजकता फैलाइरहेकाहरू धमाधम पक्राउ पर्न थालेका हुन्। यही क्रममा केही व्यक्तिलाई अदालतमा अभियोजनसमेत गरिएको छ।
आन्दोलनकारीका नाममा नेपाल प्रहरीका एक असईसहित तीनजना प्रहरीलाई कुटेर हत्या गरिएको थियो। प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा हत्या अभियोगमा मुद्दा दायर भएको छ। जसमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) छन्।
उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अनुसार जन्मकैदको सजाय मागदाबी गरिएको छ।
हाजिरी जमानीमा छाडिएकाहरू पुनः अनुसन्धानमा
जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरे पनि गृह मन्त्रालयको निर्देशनपछि हाजिरी जमानीमा छाडिएका ७१ जनालाई प्रहरीले पुनः अनुसन्धानको दायरामा ल्याउने तयारी अघि बढाएको छ। अहिले काठमाडौँ प्रहरीको हिरासतमा यो घटनामा पक्राउ परेका १२ जना छन्।
“केहीलाई हिरासतमा राखेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ,” परिसरका एक अनुसन्धान अधिकृतले भने, “हिजो हाजिरी जमानीमा छाडेकाहरूको हकमा थप प्रमाण जुटाउने काम भइरहेको छ। प्रमाण संकलन भइसकेपछि अपराधमा संलग्न सबैलाई पक्राउ गरिन्छ।”
ती अधिकृतका अनुसार प्रहरी भदौ २४ गते भएका आपराधिक घटनाको सुक्ष्म अनुसन्धानमा जुटेको छ। “सबैभन्दा धेरै आगजनी, तोडफोड, लुटपाट र प्रहरीका हातहतियार लुटने काम उपत्यकामै भयो,” प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, “उपत्यकामा हामीले तत्कालै डेढ सय हाराहारी व्यक्तिलाई पक्राउ गरे पनि गृह मन्त्रालयको ठाडो निर्देशनमा हाजिरी जमानीमा छाड्नु पर्यो। अहिले थप प्रमाण संकलनमा जुटेका छौँ, उनीहरू सबैलाई कानूनी दायरामा ल्याउँछौँ।”
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, एआईजी दानबहादुर कार्की जेन–जी आन्दोलनका क्रममा भएका आपराधिक घटनामा संलग्नलाई कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताउँछन्। “आपराधिक क्रियाकलाप गर्ने जोकोहीले छुट पाउँदैनन्, पाउनुहुन्न। त्यसैअनुसार प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न र त्यसपछि पनि विभिन्न क्रियाकलापमा संलग्नलाई कानून अनुसार कारबाही हुन्छ,” उनले भने, “अहिले त्यही भइरहेको छ।”
आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा प्रहरी मुख्य तारो बनेको थियो। प्रहरी कार्यालयमा आक्रमण, आगजनी र प्रहरीमाथि समेत आक्रमण भएको थियो। त्यस क्रममा तीन प्रहरीको मृत्यु भयो, कैयौँ घाइते भए। अझै पनि १०० हाराहारी प्रहरी अस्पतालमा उपचाररत छन्। प्रहरीका हातहतियार, पोसाक, सवारी साधनसमेत जलाइएको थियो। यस्ता क्रियाकलापमा संलग्नहरूबारे भिडियो, तस्वीरलगायत प्रमाण उपलब्ध गराउन सार्वजनिक आह्वान नै गरेको प्रहरीले अनुसन्धानका आधारमा पक्राउ गर्न थालेको हो।
नेपाल प्रहरीका प्रवक्ता रहेका डीआईजी विनोद घिमिरे आपराधिक गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही अघि बढाएको बताउँछन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक उच्च अधिकृतले सातवटै प्रदेश प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिइसकिएको बताए।
“जेन–जी आन्दोलनका क्रममा भएका घटनाले यसै पनि प्रहरीको मनोबल घटेको थियो, यस्तोमा आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही नगर्ने हो भने प्रहरीको मनोबल झन् कमजोर हुन्छ,” उनले भने, “कानून उल्लंघन गर्ने जो भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
