केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारक तत्त्व हो।
जेन-जी विद्रोहले एक अहंकारी ‘म्याग्लोम्यानियाक’ शासकलाई सिंहदरबारको उच्चासनबाट इतिहासको रछ्यानमा बिजुली गतिमा मिल्काएको महिना दिन बितिसकेको छ तर रन्थनाहट अझै जारी छ। यसले राजकीय सत्ता मात्रै होइन, पार्टी र ब्युरोक्रयाटिक सत्तासमेतमा जबरजस्त प्रहार गरेको छ। राज्य सञ्चालनका मात्रै होइन, सत्तासीन हुन् या सत्ताबाहिरका पार्टी सञ्चालन र नेताशाही समेतका तमाम बेथिति र कुसंस्कार प्रहारको दायरमा परेका छन्। व्यापक संरचनागत एवं संस्थागत सुधार बिना यो विद्रोहले दिएको कार्यदेश पुरा हुनेछैन। चौतर्फी समूल रूपान्तरण अपरिहार्य देखिन्छ।
रटेका सूत्र र सिद्धान्तको कसीमा यो विद्रोहको प्रजाति खुट्याउने र राजनीतिको लवजमा परिभाषित गर्ने भगीरथ प्रयत्न गर्दैछन् राजनीतिशास्त्रीहरू। तर सकस परिरहेको छ। कारण– यो सबै नेतृत्वबिनै, असंगठित तवरमै कसरी सम्भव हुनपुग्यो? यो सुविचारित थियो कि आकस्मिक विस्फोटन? विद्रोहमा क–कसले हात बटाए? ती सञ्चालित हात र सञ्चालन गर्ने टाउका फरक थिए कि एकै? २४ गतेको दावानल आक्रोशको परिणाम थियो कि योजनाबद्ध? अहिलेलाई सवालै–सवाल मात्र छन्, उत्तर छैनन्। तर एउटा कुरा भने स्पष्ट छ– केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारकतत्व हो।
यसअघिका विद्रोह सरकार वा सत्ता विरुद्धमात्रै भएका थिए। तर यो विद्रोह सरकार विरुद्धमात्रै थिएन, होइन। यसको दायरा निकै फराकिलो छ। यसले सरकार, सत्तासीन तथा प्रतिपक्षीलगायत सम्पूर्ण दल र तीनका नेतासमेत विरुद्ध एकै पल्ट विद्रोह गरेको छ र जुन जारी छ। बढ्दो सामाजिक, राजनीतिक एवं आर्थिक असमानताका दोषी सबैका विरुद्ध शंखघोष गरेको छ यसले। उनीहरूले चलाएको ‘नेपोकिड्स’ अभियान कुनै अमुक नेता वा दलप्रति मात्रै लक्षित नभै नेताराजले सृजना गरेको परिवार∕नातावाद विरुद्धको एकमुष्ट प्रहार हो।
सुशासनको माग अति राजनीतिकरण विरुद्धको आवाज हो। बिचौलिया र नेताका होइन, योग्य मान्छे नै पदमा पुग्ने वातावरणको खोजी हो। जेन-जीले अहिले जसरी पैसामा पद र प्रतिष्ठाको किनबेचबाट मुक्ति चाहेका हुन्। न्यायपालिका, व्यवस्थापिकादेखि कार्यपालिकाका पदसम्म किनबेच हुने अवस्थाको अन्त्य खोजेका हुन्। यो विद्रोह अख्तियारदेखि अदालतसम्म ‘झोले’ अनुचरहरूले भर्ने र सत्तामा बसी अकण्टक लुटको धन्दा चलाउने अनेकन् प्रवृत्तिहरू विरुद्धको संखघोष पनि हो। उनीहरूले दलका नेतामा देखा परेका ठालु प्रवृत्ति र कार्यकर्तामा मौलाएको दास प्रवृत्तिलाई पनि दुत्कारेका हुन्। अधिकांश दललाई एक हिसाबले असान्दर्भिक करार गरिदिएको छ।
२३ र २४ भाद्र
सञ्चार प्रविधिसँगै हुर्किएको जेनीजी पुस्ता पछिल्लो समय इन्डोनेसियाबाट प्रभावित हुनपुग्यो। उनीहरूले कुनै वैधानिक आय स्रोत वा व्यवसाय नभएका नेताका सन्तानले महँगा स्कुलमा पढेको, महँगा र ब्रान्डेड सामान प्रयोग गरेको, अवसरहरू प्राप्त गरेको देखे, भोगे। नेता, तीनका सन्तान र नातेदारहरूले आफ्नो भविष्यको मूल्यमा सुख, सुविधा भोग गरिरहेको यथार्थ बुझेर बेचैन थिए जेन-जी। त्यसैले, जेन-जी पुस्ता ‘नेपोबेबी/किड्स’ ह्यासट्याग चलाउँदै नेताराज विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिरहेको थियो।
विद्यादेवी भण्डारीको चुनौतीलाई एक ढंगले परास्त गरी पार्टीमा आफूलाई थप शक्तिशाली र अकण्टक बनाएका ओलीलाई आफ्नो विरुद्ध आवाज र औला उठेको मन परिरहेको थिएन। जेन-जीको यो भावनाले सामाजिक सञ्जालमा अभियानको आकार लिन थालेको सूचना पाएका ओलीले सूचीकृत हुन नआएको बहानामा सामाजिक सञ्जालहरू नै बन्द गरिदिए। आफ्नो मुखै थुनिदिएपछि भने उनीहरूलाई असह्य भयो र २२ गते सडकमै निस्किए।
यद्यपि, उनीहरूले कुनै ठुला माग राखेका थिएनन्। भ्रष्टाचारको अन्त्य, पारदर्शिता, योग्यलाई राज्यका निकायमा नियुक्ति, नातावाद, कृपावादबाट मुक्ति नै उनीहरूका माग थिए, जो एउटा सरकारको दायित्व नै हो। उनीहरूको आवाज सुन्नुको सट्टा केपी ओलीले हियाउँदा उनीहरू बिच्किन पुगे। २३ गते सबेरैदेखि जेन-जी उल्लेख्य उपस्थितिसहित सडकमा उत्रिए। सहभागिताको स्तर देखेर परिस्थितिलाई भड्काउन चाहने तत्त्वहरू पनि सलबलाउन पुगे।
यसबीच, सरकारले चरम दमनमा उत्रिएर १९ जनाको हत्या र सयौँ युवालाई गम्भीर रूपमा घाइते बनाउँदै आगोमा पेट्रोल हाल्ने काम गरिदियो, जसबाट परिस्थितिलाई भड्काउन खोज्ने तत्त्वहरूलाई थप सहजता मिल्यो। सरकारले जेन-जी–रगतको होली खेलेपछि सम्पूर्ण देश स्तब्ध भयो। सुशासन, भ्रष्टाचारको अन्त्य जस्ता आम सरोकारका माग लिएर आफ्ना नाराजगी र विचारहरू अभिव्यक्त गर्ने थलो सामाजिक सञ्जाललाई बन्द नगरिदेऊ भन्दै सडकमा अनुनय गर्न निस्किएका आफ्ना छोराछोरीमाथि छिनभरमै हजारौँ राउन्ड गोली दागिएपछि आम नेपाली जनताको धैर्यताको बाँध टुटेको हो।
२३ गतेको आमसंहार विरुद्ध २४ गते निस्किएको आक्रोशित मानव सागरको आडमा केही हजार वितण्डाकारीले नियोजित रूपमा आगो झोस्दै, लुटपाटको क्रमबद्ध शृङ्खला नै चलाए। मौकाको खोजीमा रहेका आपराधिक तत्त्वहरूले विध्वंसको नेतृत्व गरे। आगजनी, तोडफोड र वितण्डाका हरेक भिडियोमा यसो नगर्न अनुनय गर्ने स्वर पनि सुनिए, जो यो अभियानका वास्तविक आरम्भकर्ता थिए। छानिछानी आगजनी गरेको त छर्लङगै छ। किन र कसले यसरी छानीछानी विध्वंस मच्चायो? कसले जेलहरू तोड्न उक्सायो, नेतृत्व गर्याे, १२ हजार भन्दा धेरै खतरनाक कैदीबन्दी जेल फोडेर बाहिर निस्कने वातावरण बनाइदियो? तीनले समुदायमा छिरेर गरेका जघन्य अपराधका घटना अहिले दिनहुँ बाहिर आइरहेका छन्। यसको जिम्मेवार को हो?
२३ गते निहत्था विधार्थीहरूमाथि ताकिताकि कसले हजारौँ राउन्ड गोली बर्साउन लगायो? त्यस दिन १९ जना जेन-जी मारिएका भनिए पनि हालसम्म हताहत भएका ७६ जनामध्ये धेरै त सोही दिनको गोलीबाट मारिएका हुन्। घाइते हुनेहरू पनि अधिकांश सोही दिनकै गोलीबाट भएका हुन्। जब यथार्थ विवरण खुल्नेछ, त्यो पाशविक जघन्यताको पर्दा पनि खुल्ने नै छ। उत्तर समयले क्रमशः दिँदै जानेछ।
सुरक्षाकर्मीबाट १२ सय भन्दा धेरै घातक हतियार र एक लाख गोली लुटिनुले २४ गते आपराधिक एवं परिचालित तत्त्वहरूले मौकाको लाभ लिँदै संगठित रूपमा परिचालित भएर वितण्डा मच्चाएका थिए भन्ने नै पुष्टि गर्छ। अहिले पनि सयौँ थान घातक हतियार र तिनका हजारौँ राउन्ड गोली तीनै तत्त्वको कब्जामा छ, यस्तो हरकत संगठित प्रयास बिना सम्भव हुँदैन। केही रहस्यहरू खुल्दै पनि छन्।
वितण्डाकारीहरू हाबी हुँदा फैलिएको सन्त्रास र अनिश्चयको बादल अझै घनिभूत छ, फाटिसकेको छैन। त्यसैले धेरै मानिस बोल्न डराइरहेका छन्। कोही ठूलो स्वरले बोलिरहेको छ भने २३ गतेको मुख्य दोषी र २४ गतेको वितण्डाबाट ध्यान मोड्न खोज्नेहरू बोलिरहेका छन्। वास्तविक जेन-जी विद्रोह आरम्भकर्ताको आवाज श्रेय र अवसर लिन तँछाडमछाड गरिरहेकाहरूको होहल्लाका बीच प्रतिदिन मधुरो पारिँदै गएको छ। विध्वंस मच्चाउन भड्काउनेहरू अहिले जस लिने जोडबलमा देखिन्छन्।
विद्रोह सफल कि असफल?
यो विद्रोह सफल कि असफल? सफल भए सफलताको श्रेय कसलाई, असफलताको दोष कसलाई? विद्रोहको लागतले लाभलाई उछिने सफल, लागत चर्काे परे कम सफल ठहरिएला तर असफल भन्न कदापि सकिने छैन। किनभने यो विद्रोहले हामी सबैलाई एउटा ‘फ्रेस स्टार्ट (ताजा सुरुआत)’को सुअवसर प्रदान गरेको छ। तमाम एमाले, कांग्रेसीदेखि नेताराजको दीर्घ रोगबाट ग्रसित भई आफ्नो रचनात्मकता गुमाई गति एवं संज्ञानशुन्य र अकर्मण्यताको आहालमा डुबेका सबैलाई मुक्तिको अभूतपूर्व अवसर मिलेको छ। नागरिकलाई निराश बनाएको अहिलेका दलका हरकतले नै हो। यसर्थ, आ–आफ्नो आकार र इतिहासको अनुपातमा दोषका भागिदार छन् दलहरू। उनीहरूलाई अरूतर्फ औला सोझ्याउने छुट छैन। यसकारण, असफलताको दोष सबैलाई जानेछ भने सफलताको श्रेय भने केवल जेन-जीको अदम्य साहसलाई।
साढे तीन दशकदेखि राज्यको शक्ति र स्रोत साधनमाथि ढलीमली गर्दै आएका तर मुलुकलाई दुर्दशा बाहेक उल्लेखनीय योगदान दिन नसकेका शासकहरूको दुर्दान्त अवसानबाट सामान्यजन खुसी नै छन्। अकल्पनीय विद्रोहको धक्काले ठुला र स्थापित राजनीतिक दलहरू जगैदेखि खलबलिन पुगेका छन्। जति नै सन्तुलन मिलाउन खोजे पनि तीनका शीर्ष नेता कुर्सीबाट पछारिने सम्भावना ज्यादा, सलामत रहने सम्भावना कम देखिदैछ। आफूलाई विद्रोहको म्यान्डेटअनुसार रूपान्तरण गर्नु नै पार्टीहरूका लागि सञ्जीवनी हुनेछ। दलका नेता, कार्यकर्ताहरूले जेन-जीले जस्तै साहस देखाउने बेला आएको छ। अन्यथा, अस्तित्वकै संकट सामना गर्नुपर्नेछ। दलहरूले परिस्थितिले निम्त्याएको यस ऐतिहासिक कार्यभारबाट भाग्न खोज्नु स्वयं र मुलुकका लागि पनि सुखद हुनेछैन।
सामूहिकतामा चल्नु पर्ने पार्टीहरू मुट्ठीभर नेताको मौजा सरह चल्दा मुलुकले यो क्षति व्यहोर्नु परेको हो। जेन-जी विद्रोहको मर्म र भावना अनुरूप राजनीतिक पार्टीहरूले आफ्नो संरचनागत सुधार गर्नु पर्छ। आन्दोलनको रापताप नसेलाउँदै उल्लेख्य सुधारको मार्गचित्र पस्किएर उत्साह जगाउन नसके पुराना शक्तिहरू एकजुट भई विद्रोहले कोरेको अग्रगामी मार्गचित्रलाई कमजोर बनाउने र पुनरागमन गर्ने आशंका पनि सुनिन्छ। तर हामी के पनि नबिर्सिऔँ भने त्यसले उनीहरूको पुनरागमनलाई भन्दा पनि अहिलेको भन्दा ठूलो र ध्वंसात्मक विद्रोहलाई नै अवश्यम्भावी बनाउनेछ, जुन मुलुकका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ।
(उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
