यात्रा
उठाउने बित्तिकै त्यसको जिम्मेवारी आफ्नो काँधमा आउँछ भने किन कसैले समान उठाउँछ? त्यसैले त जापानमा हराएको सामान बाटोमै रहन्छ, सम्बन्धित अधिकारीले मात्र उठाउँछन्।
थ्येनफू अन्तर्राष्ट्रिय विमानस्थल, छेन्दु (चीन) बाट नारिता, जापान जान लाग्दा मलाई घर जान लागेझैँ अनुभूति भएको थियो। पान्डाको सहर छेन्दु छोड्दै गर्दा पान्डालाई एकदम 'मिस' गरेको अनुभव भएको थियो।
प्राय: एक्लै यात्रा गर्न रुचाउने मान्छे म। यसो गर्दा मलाई हल्का डर त लाग्छ, तर डरले मिर्गौलाभन्दा ठ्याक्कै माथि उत्पन्न हुने एड्रनलिन रसले आफू जीवित छु भन्ने अनुभूति दिन्छ। हल्का डरको त्यस्तो नशा मलाई समय समयमा चाहिन्छ, जसले कहिल्यै नहिँडेको बाटो हिँड्न प्रेरित गर्छ।
नारिता इन्टरनेसनल एयरपोर्टबाट इमिग्रेसनको जाँचबुझपछि, आफूसँग भएको एउटा स्याउ इमिग्रेसनमा बुझाउँदै बाहिर निस्कन लागेँ। जापानमा फलफूल र कुनै पनि बिउ बिजन बाहिरबाट लैजान सख्त मनाही रहेछ। स्थानीय जैविक सुरक्षाको लागि जापान सरकारले त्यसो गरेको होला।
त्यसपछि नारितामा मलाई लिन आउने मान्छेको खोजी गर्न लागेँ। दुई वटै हातमा सुटकेस गुडाएर अलिक अगाडिसम्म हिँडे। तर मलाई लिन आउने मान्छे त्यहाँ कतै पनि देखिनँ।
त्यसपछि मलाई लिन आउने मान्छेले सायद अरू कसैलाई नै पठाएको पो हो कि भन्ने लागेर मेरो नाम लेखिएको ब्यानर/कागज हेर्नतिर लागेँ। फ्याट्टै पो देखिहालेँ त्यस दिन आफ्नो नाम–प्रकृति मैनाली। २-३ कक्षामा पढ्ने बच्चाले लेखेझैँ अंग्रेजीमा लेखिएको नाम मेरै थियो। नामको स्पेलिङ गलत थियो, तर जेजे भए पनि पर्चा बोक्ने मान्छेले मलाई पर्खेको थियो।
पर्चा बाहकलाई मैले आफू नै प्रकृति भएको जानकारी गराएँ। उहाँले 'ओके ओके' भन्नुभयो। पटक्कै अंग्रेजी नजान्ने, एक जना चिनियाँ मूलको मान्छे मलाई लिन आउनुभएको रहेछ। उहाँलाई आउने एउटा मात्र अंग्रेजी शब्द थियो 'ओके ओके।'
विदेशीसँग कुरा गर्न प्रयत्न गर्नेमध्ये फिटिक्कै अङ्ग्रेजी नआउने व्यक्तिहरूले समेत 'एस नो' भनेको सुनेको थिएँ। तर उहाँले जानेको त्यही 'ओके' मात्र रहेछ।
वाङ रहेछ उहाँको नाम। जसरी पनि सञ्चार गर्नै पर्ने बाध्यता भएपछि चिनियाँ भाषालाई अंग्रेजीमा ट्रान्सलेट गर्न मिल्ने ‘वि च्याट’मा हामी जोडियौँ। त्यसपछि भने हामीबीच कुराकानी अलिकति सजिलो भयो। वाङले नारिता एक्सप्रेस रेलको २ वटा टिकट लिनुभयो। सायद मेरो लागि जाने-फर्किने टिकट र उहाँको लागि भने एकतर्फी टिकट। मेरो टिकटको उहाँले ५००० येन तिर्नुभयो।
हामीले सिन्जुकुसम्म सँगै यात्रा गर्यौँ। गन्तव्य पुग्न सिन्जुकीमा अर्को रेल परिवर्तन गर्नुपर्ने रहेछ। पहिलो रेलबाट ओर्लिएर मैले अर्को चढ्दै गर्दा उहाँ भने हतार हतार रेलबाट बाहिर निस्किनु भयो। बिस्तारै रेलको ढोका बन्द भयो, उहाँ रेलबाहिर छुट्नु भयो। बिस्तारै रेल उहाँबाट छुट्दै गर्दा कुनै फिल्मको सानो बालक पात्र आमासँग छुटेझैँ महसुस भयो मलाई। मैले उहाँलाई छुटेको रेलबाट देखुन्जेल हेरिरहेँ। वाङ रेलमा नचढेपछि मात्र थाहा पाएँ कि अबको यात्रा एक्लै गर्नुपर्ने छ। मलाई यति बेलासम्म आफू कुन स्टेसनमा झर्नुपर्ने हो भन्नेसम्म पनि थाहा थिएन।
रेलको ढोकाको ठिक अगाडी मोनिटर देखिने गरी म दुई वटा सुटकेस लिएर एकदम अलमल्ल उभिएको छु। अफिस छुट्ने समय भएकोले रेलमा भिडभाड छ, बस्ने सिट छैन। १३० किलोमिटर प्रति घण्टाको गतिको रेलमा स्वयंको शरीरमा नियन्त्रण हराएको छ। त्यसमाथि दुई वटा सुटकेसको अल्झो छ। पालैपालो कहिले ठुलो त कहिले सानो सुटकेस गुडेर वरपर उभिरहेको मान्छेलाई हैरान पार्न पुगेको छ। पालैपालो उनीहरूलाई म सरी भनिरहेछु।
त्यसपछि ठुलो सुटकेसलाई खुट्टाले च्यापेर, सानोलाई हातमा अड्काएर लामो डन्डीको पाइपमा हात घुसाउँदै सुटकेस व्यवस्थापन गर्ने प्रयास गरेँ। यो गर्दै गर्दा मैले पहिलो पटक सुटकेसको पाङ्ग्रासँगै खुट्टा पनि नोटिस गरे। यसभन्दा अगाडिको यात्राहरूमा मलाई एयरपोर्टमा मान्छेहरू गाडी लिएर आउँथे। रेलमा यसरी सुटकेस लिएर गुड्न परेको थिएन र सुटकेसको खुट्टा मैले पहिले ख्याल गरेको थिइनँ, पाङ्ग्राले दुःख दिएपछि मात्र खुट्टाको प्रयोग बुझेँ।
सुटकेसलाई खुट्टा पट्टीबाट बसाएपछि सुटकेस गुड्न छोड्यो। मेरो हात र खुट्टा एक पटक फेरि स्वतन्त्र भए। तर मेरा आँखा ढोका माथिको मोनिटरका बन्दी छन्। यात्रुको आवतजावत हुँदा अलिक अग्लो मान्छेले मोनिटर एकै छिन छेक्दा पनि ढल्की ढल्की त्यो मोनिटर हेर्न एक पल पनि छुटाएको छैन।
वाङ र म नारिताबाट सिन्जुकुसम्म यात्रा गर्दा पर्याप्त समय थियो कुरा गर्न। तर उहाँले मलाई यात्राको योजनाबारे केही पनि जानकारी दिनु भएको थिएन। मलाई उहाँले नै गन्तव्यमा पुर्याइदिनुहोला भन्ने लागेको थियो। तर वाङसँग अचानक छुट्टिएपछि मात्र मैले वाङसँगको कुराकानी सम्झने कोसिस गर्न लागेँ। हामीले खासै केही कुरै गरेनौँ, जति गर्यौँ, त्यो कुनै मैले भुलेझैँ लाग्दैन। अब भने वाङसँगका प्रत्येक कुरा सम्झँदै तिनको अर्थ खोज्न थालेँ।
वाङले मलाई जापनिज भाषामा लेखिएको तर १९:५५ मात्र अंग्रेजीमा लेखिएको रेलको रुट मोबाइलमा देखाउनुभएको थियो। त्यो सम्झिएँ। त्योबाहेक मैले उहाँको अरू कुनै पनि कुरा बुझेको थिइनँ। रेलबाट उहाँ छुटेपछि म बढ्यो अन्योलमा परेँ। कहाँ झर्ने हो म? मैले गन्तव्य त भेटाउँछु? उहाँले देखाएको १९:५५ अंक मैले सम्झिरहेँ। अनि लाग्यो कि सायद १९: ५५ बजे यो रेल जहाँ पुग्छ, सायद त्यही स्टेसनमा हो म ओर्लने।
हुन त एक्लै यात्रा गर्न हिँडेको, सानोतिनो घटनाले केही ठुलो अधैर्यता खासै आउनु नपर्ने हो, तर अहिले भर्खरको घटना मेरो अपेक्षा अनुरूप थिएन। गन्तव्यमा मलाई कसैले पुर्याउँछ भन्ने अपेक्षाको कारण यस घट्नाबाट म अचम्मित र अन्योलमा थिएँ। घटनाले त्यति डरलाग्दो नतिजा सिर्जना गरेको थिएन, जति मेरो अपेक्षाले गरेको थियो। संसारको कुनै पनि कुनामा कोही पनि यात्री हराउँदैन भन्ने मलाई थाहा थियो, अनि उनीहरू मलाई लिन आउँछन् भन्ने पनि थाहा थियो। त्यसो हुँदाहुँदै पनि डर लाग्यो।
पहिलो पटक म जापानमा छु, न त फोन छ, न त सिम कार्ड, न त इन्टरनेट नै!
अब रेलभित्र मेरा आँखा मान्छेहरूतर्फ दौडिन थाले। कसैसँग सहयोग मागौँ कि भन्ने नलागेको होइन, तर मागिनँ। स्टेसन आउनै लाग्दा स्पिकरबाट बज्ने सन्देश र आवाजसँगै मलाई लागिरहेथ्यो–एक छिन मौन बस्छु, एक छिन कुर्छु, एक छिन हेर्छु, एक छिन सुन्छु।
रेलभित्र प्राय: सबै जना कालो कोट, कालो जुत्ता र कालै प्यान्टमा सजिएका थिए। प्राय: सबै जना फोनमा झुन्डिएका थिए। दायाँ पट्टिको कुनामा एक जना केटी किताबजस्तो केही पढ्दै छे। उबाहेक सबै जना फोन हेर्दै छन्। कोही गेम खेल्दै, कोही मेसेज पठाउँदै, कोही अनलाइन सपिङ गर्दै, कोही मुभी हेर्दै, कोही शायद आफ्नो अफिसको काम गर्दै। सबै जना कामबाट घर फर्किँदै छन्। थकित उनीहरू एकदमै सिधा उभिएका छन्। न त दायाँ, न त बायाँ। घोसे मुन्टो लगाएर फोनभन्दा अरू केही हेरेका छैनन्। कहीँ कतै केही हेर्ने चेष्टा छैन उनीहरूको।
म ढोकामाथिको मोनिटरमा कैद थिएँ, उनीहरू फोनमा। फरक यत्ति हो कि उनीहरूलाई आफ्नो थाहा थियो, तर म अलमल्ल थिएँ। बिरानो देशमा भाषाको समस्या थियो। एक मन लाग्यो–म यहीँ हराएँ भने? मैले फोनमा ठेगानाको लागि मेसेज चेक गर्न थालेँ। त्यहाँ क्यारोलको सन्देश देखेँ। म पुग्नुपर्ने ठाउँ अकिसिमा रहेछ। यो सबै टुक्राटुक्रा सूचनाबाट मैले-यो रेल १९:५५ बजे अकिशिमा पुग्ने रहेछ भन्ने निस्कर्ष निकालेँ।
रेल चढेको लगभग ४० मिनेटपछि १९:३० (बेलुकी ७ बजेर ३० मिनेट) बजेतिर अकिशिमा भन्ने नाम पहिलो पटक मैले मोनिटरमा देखे। अनि म झर्ने स्टेसन यही हो भनी ढुक्क भएँ। यहाँ मलाई लिन कोही पक्का आउनेछ। अनि ठिक १९:५५ (बेलुकी ७ बजेर ५५ मिनेट) बजे म अकिशिमा आइपुगेँ। आफू ओर्लिनु पहिले दुई वटा सुटकेस ओराल्नु थियो। पहिला ठुलो सुटकेस र त्यसपछि सानो सुटकेस ओरालेँ। दंग पर्दै अकिशिमाको स्टेसनमा ओर्लिएँ।
मैले दायाँबायाँ दुवैतिर एकै पटक हेरेँ। तर स्टेसनमा मलाई लिन कोही पनि आएको थिएन। फेरि एक पटक म अवाक् भएँ। स्टेसन बाहिर मान्छेहरू थिए, वरपर बस्ती र बजार थियो अनि त्यहाँ म थिए। अनि २ वर्ष अगाडी किनेको सिल्भर रंगका दुई वटा सुटकेस।
रेललाई पिठ्युँतर्फ फर्काएर उभिएकी ६०-६५ वर्षकी झैँ देखिने एक महिलासँग सहयोगको पहिलो आग्रह राखेँ मैले। उनलाई अंग्रेजी बोल्न नआउने रहेछ। सायद पाकासँग भन्दा भर्खरका युवायुवतीसँग भाषा सजिलो हुन्छ होला भन्ठानेँ। एक जना मास्क लगाएकी भर्खरकी केटीसँग 'मलाई तिम्रो इन्टरनेटको हटस्पट' सेयर गर न अथवा यो नम्बरमा फोन गरिदेऊ न भनेर आग्रह गरेँ। आफ्नो सबै बयानपछि उसले आफ्नो फोनमा सिम कार्ड नै छैन भनी। रोकिएर आलिक बेर नै रोकिएको देख्दा उसले केही सहयोग गर्न खोजेकी हो कि भन्ने लागेको थियो।
फेरि म अर्को अधबैँसे मान्छेकोमा गएँ। उनले पनि सुन्दै नसुनी आफ्नो बाटोमा लागे। चौथो, पाँचौँ हुँदै म धेरै मान्छेसम्म पुगे। तर कुनै उपाय लागेन। यति ठुलो सहरमा एक जना मान्छे पनि छैन, जसले मलाई एक कल फोन गर्न दिन्छ? कोही छ यहाँ, जसले मलाई २ मिनेटको लागि इन्टरनेट सापटी दिन सक्छ?–मैले आफैलाई सोधे?
कसैले फोन दिइहाल्यो भने पनि कल गरेर आफू यहाँ छु भन्न पनि त आफू कहाँ छु भनेर थाहा हुने पर्यो! त्यसपछि मेरो आँखा चारैतिर घुम्न थाले। रातको सवा ८ बजिसकेको छ। वरपर भएका संरचनामध्ये सबैभन्दा अग्लो टावर ‘मोरी टाउन’मा मेरो आँखा अडियो। हरियो लोगोमुनि कालो अक्षरले लेखिएको ‘मोरी टाउन’ मेरो लागि जापानको पहिलो सम्झन लायक ल्यान्डमार्क बन्यो।
म फेरि एक पटक सहयोगको अपिलमा लागेँ।
त्यहाँका भर्खरका केटाकेटी सबैको कानमा एयरफोन थियो। तीमध्ये एक जना केटाकोमा गएँ। सायद उसले गीत सुन्दै थियो। मैले आफ्नो कुरा सुरु गर्न नपाउँदै उसले 'नो नो' भन्दै मलाई रोक्यो।
तीमध्ये एक जनाले मलाई 'उतातिर जाऊ' भनेर इसाराले अर्को दिशा देखायो। मैले त्यसै गरेँ। अलिक परसम्म हिँडेपछि पछाडि फर्किएर हेरेँ, तर ती मान्छेहरू मेरा लागि नभएका कारण 'यी मान्छे हुन् र?' झैँ लाग्यो। मैले आफ्ना दुई वटा सुटकेसमात्र देखेँ। मैले जहाँ छोडेको, त्यहीँ बसिराखेका। म जहाँ पुग्छु त्यतै पुग्न तयार भएर मलाई नै कुरेर बसेजस्तो।
त्यसपछि म अर्को एक जना मास्क लगाएकी कलेज पढ्ने उमेरको केटीकहाँ पुगेँ, "क्यान आइ मेक अ कल याट दिस नम्बर?" ( यो नम्बरमा फोन लगाइदिन सक्नुहुन्छ?) मैले बोल्नुअगाडि नै उसले मेरो आग्रह अस्वीकार गरी। यो केटीले पहिले नै मैले अरू कसैसँग मदत मागिराखेको देखेकी थिई।
म एकदमै अचम्मित भएँ।
वाङले मलाई रेलमा छोडेभन्दा पनि बढी अवाक्! मैले नेपाल सम्झिएँ अनि नेपालको मान्छे सम्झिएँ। सहयोग मागेको बखत कुनै पनि नेपालीले अर्को देशको नागरिकलाई यस्तो व्यवहार गर्न सक्छ?
यो प्रश्नको उत्तरभन्दा महत्त्वपूर्ण मेरो लागि आजको जोगाड थियो। सायद म गलत स्टेसनमा पो पुगेँ कि भन्ने मेरो पहिलो अनुमान थियो। मैले एक जनालाई मात्र होइन, दुई जनालाई नै यो स्टेसनको नाम सोधेँ। दुवैले उत्तर दिए–अकिशिमा!
…
कसरी मान्छे यस्तो हुन सक्छ? के साँच्चिकै यस्तै हुन्छ मान्छे?
तर, आँखा हट्यो त माल गायबजस्तो देश होइन यो। यो देशमा कसैले कुनै समान बाटोबाट उठाउने वाला छैनन्। उठाउने बित्तिकै त्यो समानको जिम्मेवारी आफ्नो काँधमा आउँछ भने किन कसैले समान उठाउँछ? त्यसैले त जापानमा सामान बाटोमै रहन्छ, सम्बन्धित अधिकारीले मात्र उठाउँछन्। समान हराएको मान्छे सम्बन्धित निकायमा जान्छन्, र सामान फिर्ता लिन्छन्।
यति बेलासम्म मैले ब्याचलरमा ‘बिजनेस ल’ पढ्दा जापानमा बाटोको सामान उठाउँदा कति कानुनी जिम्मेवारी हुन्छ भन्नेबारे पढेको सम्झिएँ। पढेको सबै कुरा काम लाग्दैनन्, तर कहिलेकाहीँ काम लाग्छ। अब मैले सुटकेसबारे चिन्ता गर्न बिलकुलै छोडिदिएँ।
त्यसो हुँदाहुँदै पनि परबाट मैले आफ्नो सुटकेस नियालेँ। मैले छोडेकै ठाउँमा थियो त्यो। म पनि त्यहीँ थिएँ, जहाँ छुटेको थिएँ। अब के गर्ने? एउटा अर्को प्रश्न आयो मनमा। यही स्टेसनमा रात बिताउन पर्यो भने कता बस्न ठिक होला भनेर ठाउँ खोज्न थालेँ।
अन्तिम प्रयासस्वरूप मैले एक जना अंग्रेजी जान्ने मान्छेलाई पुनः त्यही आग्रह राखेँ।
त्यो मान्छेले अरू धेरैले नदिएको उत्तर दियो, "आइ कान्ट कल एन अननन पर्सन।" (नचिनेको मान्छेलाई म फोन गर्न सक्दिनँ।) कत्ति सरल उत्तर थियो त्यो। नचिनेको मान्छेलाई उनीहरू कल गर्दैनन् भन्नेबारे बल्ल बुझेँ।
उसले मलाई "तिमि रेल स्टेसन जाऊ, पुलिस स्टेसन यहीँ नजिक छ" भनेर बतायो। म ढुक्क भएँ।
जापानीहरू नचिनेको मान्छे र अरूले बाटामा हराएको सामान उस्तै देख्छन्, हेर्दै हेर्दैनन्।
हराएको सामानभन्दा बढी आफू केही होइन जापानमा म भन्ने अनुभूत गरेँ। सामान बाटामै रह्यो भने त्यो समान लिन पुलिस त्यहीँ आउनेछ भन्ने बुझेँ। तर पुलिस कहिले आउँछ? अनि म समान पनि त होइन, जो हिँड्न सक्दैन, म त स्वयम् पुलिस स्टेसन या रेल स्टेसन जान सक्छु।
त्यसैले, मैले मेरो दुई वटै सुटकेस गुडाएँ। अंग्रेजी बोल्न जान्ने त्यस मान्छेले मलाई रेलको स्टेसनतिर लिएर गयो। हामी एलिभेटर चढेर १ तल्ला माथि गयौँ। त्यहाँ अलिक परबाट मैले ‘दियर सी इज’ (लौ, उनी आइन्) भनेको सुनेँ। मलाई लिन आउने क्यारोल र गिशिला त्यहीँ हुनुहुँदो रहेछ।
…
मैले टाउको लुकाउने छाना पाएँ। जापानले मलाई मेरो डर र डरले दिने हल्का मज्जाको अनुभूति एक पटक फेरि गरायो। म कृतज्ञ छु यो अनुभवप्रति। आरिगातो गोजायमास।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
