पार्टी खोल्ने ‘मुड’मा छैनन् बालेन

जेनजी आन्दोलनले कैयौँ कुरा बालेनले सोचेझैँ भइदिए– ओली सत्ताच्युत बने, दलहरू रक्षात्मक अवस्थामा पुगे। यो अवस्थामा धेरैको दबाबका बाबजुद प्रधानमन्त्री बन्न नचाहेका बालेन पार्टी खोल्न पनि अनिच्छुक छन्, किन?

काठमाडौँ– जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका मन्त्रीहरूलाई व्यक्तिगत सुरक्षाका लागि सत्तादेखि सबथोक छाडेर सैनिक ब्यारेकमा पुग्नुपर्ने अवस्थामा पुर्‍याएको दिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई उनकै सल्लाहकार, सचिवालयका सदस्य र निकटवर्तीहरूको तारन्तार फोन आउन थाल्यो। बालेनलाई उनीहरु सबैको आग्रह लगभग एउटै थियो– “युवाहरूले तपाईंलाई खोजिरहेका छन्, देशले तपाईंलाई चाहिरहेको छ। नयाँ प्रधानमन्त्रीका रूपमा अघि बढ्नूस्।”

बालेनले उनीहरूका कुरा सुने मात्र, खासै जवाफ दिएनन्। उनको सचिवालयका एक सदस्यका अनुसार बालेनको आनीबानी र स्वभावसँग परिचित रहेका कारण कसैले पनि दोहोर्‍याएर आग्रह भने गरेनन्। त्यसरी आग्रह गर्नेमध्ये कतिपयले साँझसम्म बालेनले पक्कै केही निर्णय लिनेछन् भन्ने आकलन गरेका थिए। 

तर त्यस्तो केही भएन।  

भोलिपल्ट, भदौ २५ गते जेनजीको भर्चुअल (डिस्कर्डमा आयोजित) बैठकबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा बालेनकै नाम सर्वसम्मतिले प्रस्ताव गरियो। त्यसलगत्तै जेनजी समूहका अगुवाले बालेनलाई टेलिफोन गरे। तर मोबाइल फोन ‘स्वीच–अफ’ गरेर बसेका बालेन जति नै प्रयास गर्दा पनि उनीहरूको सम्पर्कमा आएनन्। निकटस्थहरूमार्फत प्रधानमन्त्री बनिदिन गरेको आग्रहमा पनि कुनै जवाफ दिएनन्। 

अबेर राति, करिब १० बजे उनले फेसबुक र एक्समा लेखे, “...यो बेला कृपया नआत्तिनुहोला, धैर्य राख्नुहोला। अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो। यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव, पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।”  

त्यसपछि मात्र उनका सल्लाहकार, सचिवालय सदस्य र निकटस्थहरूले बुझे– बालेन अहिले नै अन्तरिम प्रधानमन्त्री बन्न चाहँदैनन्, बरु दल दर्ता गराएर निर्वाचनमार्फत पूर्णकालीन सरकारको प्रधानमन्त्री बन्न चाहन्छन्। आन्दोलनलगत्तै आफूलाई जेनजी अगुवाका रूपमा चिनाएका, त्यतिबेला नयाँ प्रधानमन्त्री टुंगो लगाउन राष्ट्रपति र सेनापतिसँग वार्ता गरिरहेका गैरसरकारी संस्था ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले यसबारे भिडियो नै बनाएर फेसबुकमा पोस्ट गरे। त्यो भिडियोमा बालेनलाई ६ महिना मात्र नभई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन चाहेको उल्लेख गर्दै उनले भनेका थिए, “बालेन फर फाइभ इयर्स, नट फर जस्ट सिक्स मन्थ्स्। ..उनलाई चुनाव जिताएर ल्याउने हो।”

तर बालेन खासमा उनले दाबी गरेजस्तो तयारीमा पनि देखिँदैनन्। बालेननिकट रहेर काम गरिरहेका थुप्रै व्यक्तिसँग कुरा गर्दा उनले अहिलेसम्म दल खोल्ने कुनै योजना बनाएकै देखिन्न। बालेनको सचिवालयमा प्रेस सहजकर्ताको काम गरिरहेका सुरेन्द्र बजगाईं भन्छन्, “बाहिर मात्रै दल खोल्ने हल्ला भएको हो। त्यस्तो कुनै तयारी छैन।” 

उनले जेनजी आन्दोलन सकिएयता बालेन नियमित रूपमा कार्यालय (काठमाडौँ महानगरपालिका) आइरहेको र कार्यालयबाट समयमै घर फर्किने गरेको बताए।  

बालेनले नयाँ दल खोल्ने तयारी त के, त्यसको कुरा र चर्चासमेत नगरेको उनीनिकट रहेका गनेश पौडेल बताउँछन्। पौडेलका अनुसार निकटस्थहरूले दल खोल्न सुझाव दिए पनि बालेनले चासो नै देखाएका छैनन्। 

“बाहिर हल्ला भएजस्तो दल खोल्नेबारे कुनै खालको तयारी वा छलफल भएको छैन। खासमा उनी यसमा इच्छुक नरहेको बुझिन्छ,” पौडेलले भने, “तर अहिलेको समयमा रहर वा इच्छाभन्दा पनि बाध्यात्मक स्थिति आइलागेको छ। अब उनीसँग दल खोल्नुको विकल्प छैन।”

राजनीतिबारे बालेनः छैन चासो
गत जेठ २८ गते सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशका आधारमा गरेको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरिदिएपछि बालेनका कानूनी सल्लाहकार रहेका ओमप्रकाश अर्यालले बालेनकै कार्यकक्षमा करिब दुई घण्टा छलफल गरेका थिए। अहिले अन्तरिम सरकारमा गृहमन्त्री तथा कानूनमन्त्रीको जिम्मेवारी पाएका अर्याल तिनै हुन् जसले ५२ पदाधिकारीको नियुक्ति गैरसंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

बालेनको सचिवालयका एक सदस्यका अनुसार त्यो भेटमा अर्याल सर्वोच्चको फैसलालाई लिएर आक्रोशित थिए। ५२ पदाधिकारी प्रकरण अघि सारेर उनले बालेनलाई गरेको आग्रह सुनाउँदै ती सदस्यले भने, “अब मूलधारको राजनीति शुरू गर्नुको विकल्प छैन।” 

“अब त अति भयो बालेनजी, यी पुराना दललाई विस्थापित गर्ने गरी पार्टी खोलौँ। साथ दिनेहरू बिस्तारै जोडिँदै जानेछन् भनेर उहाँले आग्रह नै गर्नुभएको थियो,” ती सदस्यले सुनाए, “तर मेयरसबाले त्यसमा खासै चासो देखाउनुभएन। अनि ओमप्रकाश सरले आफू त राजनीतिमा जाने नै हो र रुपन्देहीमा हुने उपनिर्वाचनमा उठ्ने हो, त्यसमा समर्थन सघाउनुपर्‍यो भनेर फर्किनुभयो।”

त्यसपछि अर्याल रुपन्देही–३ मा घोषणा गरिएको प्रतिनिधिसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा जुटेका थिए। जेनजी आन्दोलनले ल्याएको उथलपुथलमा त्यो उपनिर्वाचन असान्दर्भिक बनिसकेको छ। अर्याल अहिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा प्रभावशाली सदस्यका रूपमा गृहमन्त्री बनेका छन्। 

ती सदस्यका अनुसार त्यस दिनको भेटमा अर्यालले नयाँ आर्थिक वर्ष (२०८२ साउन) देखि आफू औपचारिक कानूनी सल्लाहकारबाट बिदा हुने जानकारी बालेनलाई गराएका थिए। तर बालेनसँग उनको सम्बन्ध–सहकार्य भने अहिले पनि यथावत् देखिन्छ। कतिसम्म भने, अन्तरिम सरकार गठनका क्रममा भएका वार्तामा उनी बालेनकै प्रतिनिधिका रूपमा सरिक भएको, गृहमन्त्री पनि बालेनकै ‘कोटा’बाट बनेको चर्चा हुने गरेको छ। 

तर बालेनको सचिवालयका अर्का एक सदस्यले त्यसमा सत्यता नभएको दाबी गरे। “ओमप्रकाश सरसँग फोन संवाद भएको हो, तर मेयरसाबले उहाँलाई प्रतिनिधि बनाएर पठाउनुभएको होइन। सुशीला कार्कीसँग ओमप्रकाश सरकै राम्रो चिनाजानी छ,” उनले भने। 

जेनजी आन्दोलनमा आफै नपुगे पनि बालेनले अप्रत्यक्ष रूपमा सघाएका थिए। आन्दोलनका बेला महानगरपालिकाको स्रोतसाधनसमेत आन्दोलनकारीको सहयोगमा परिचालन गरिएको थियो। आन्दोलनपछि अन्तरिम सरकार गठनमा आफ्नै पूर्वसल्लाहकारलाई सक्रिय बनाएर उनैलाई महत्त्वपूर्ण मन्त्रालयमा पुर्‍याएका बालेन आफै नेतृत्व गरेर पार्टी खोल्नचाहिँ साँच्चै इच्छुक नै छैनन् त? 

निकटस्थहरू बालेन इच्छुक नभए पनि पार्टी खोल्न निकटस्थ र शुभचिन्तकहरूले निरन्तर दबाब दिइरहेको बताउँछन्। 

“उहाँले आफै पार्टी खोल्नेबारे अहिलेसम्म केही बोल्नुभएको छैन। अरूले आग्रह गर्दा जनताले मलाई पाँच वर्षका लागि मेयर बनाएका हुन, पार्टी खोलेर राजनीति गर्नु अनुचित हुन्छ भन्ने गर्नुभएको छ,” सचिवालयका एक सदस्यले भने, “अहिलेसम्म यसबाट टसमस हुनुहुन्न।” 

जेनजी आन्दोलनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र रास्वपाकै नेता गणेश कार्की बालेनले खोल्ने नयाँ पार्टीमा जान लागेको चर्चा केही दिनयता चर्चामा थियो। श्रेष्ठ र कार्की यसबारे केही बोलेका छैनन्। बालेनको सचिवालयका एक सदस्य भन्छन्, “गणेशजी मेयरसाबको नजिकको साथी हो। स्थानीय निर्वाचनमा उहाँको अहम् भूमिका थियो, तर उहाँ अहिले अर्कै पार्टीमा हुनुहुन्छ। मेयरसाब त्यसले आफ्नै पार्टी त सम्हाल्न सकेको छैन भन्ने गर्नुहुन्छ। सुमनाजीसँग त अहिलेसम्म कुरा पनि भएको छैन।” 

बालेनका भित्रियामध्ये मानिन्छन् भिक्टर पौडेल जो फेसबुकमा ४८ लाख फलोअर्स रहेको ‘रुटिन अफ् नेपाल बन्द’ नामको पेज चलाउँछन्। बालेनले उनको सहयोगमा पार्टी खोल्ने चर्चासमेत भइरहँदा पौडेलले फेसबुकमै लेखेका छन्, “कतिपय अनलाइनले भिक्टरले यो–योसँग मिलेर पार्टी खोल्दै छ भनेर समाचारहरू बनाइरहेका छन्। अहिलेसम्म मेरो राजनीतिक पार्टीमा जान कुनै चासो छैन। ..समाजलाई योगदान दिन राजनीति मात्रै गर्नु छ भन्ने छैन।”

यो पनि– काठमाडौँ महानगरमा बालेनका ३ वर्षः गरेका काम विवादित, वाचा अपूरा

अर्का एक निकटस्थले राजनीति र राजनीतिज्ञप्रति नै विषवमन गर्दै आएकाले बालेन आफै पार्टी खोलेर राजनीतिमा लाग्ने सम्भावना कमै रहेको बताए। उनले त्यसमा गत पुसको एउटा उदाहरण दिए।

त्यसबेला काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै बालेनले कारबाहीस्वरूप निलम्बन गरेर अर्को प्रशासकीय अधिकृत पठाइदिन संघीय सरकारसँग माग गरेका थिए। तर सरकारले तीन महिनासम्म पनि अर्को प्रशासकीय अधिकृत नपठाएको आक्रोश पोख्दै उनले फेसबुकमा लेखेका थिए, “काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्यो पछि हेरौँला, तिमीहरूको के–के तन्त्र हो!!”

तर त्यसपछि पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएन। बरु गुरागाईं नै महानगर फर्किए। चैत २१ गते उनी महानगर प्रवेश गर्दा धक्कामुक्का नै चल्यो। महानगरका उपप्रमुखदेखि सबैजसो वडाध्यक्षहरू गुरागाईंको पक्षमा उभिए।

सचिवालयका एक सदस्यका अनुसार बालेनले त्यसबेला ‘राजनीति र ओली नेतृत्वको सरकारले काम गर्न बाधा अवरोध खडा गरेको’ भन्दै मेयरबाट राजीनामा दिने मुडसमेत बनाइसकेका थिए। “त्यतिबेला उहाँ यति आजित हुनुभएको थियो कि अब राजीनामा गरिदिन्छु भन्नुभएको थियो। त्यसको भोलिपल्टचाहिँ राजीनामा दिँदा यत्रो मान्छेले मलाई नै कायर ठान्लान् र अर्को चुनाव गराउँदा राज्यलाई थप घाटा होला भन्दै पछि हट्नुभयो,” उनले भने, “अझै पनि उहाँले २०८४ को चुनाव हुनुभन्दा ६ महिनाअघि नै राजीनामा दिन्छु भनिरहनुभएको छ।”

उथलपुथलले आफै ‘सरप्राइज्ड’ बालेन  
जेनजी आन्दोलनको तयारी र छलफल मूलतः सोसल प्लेटफर्म ‘डिस्कर्ड’मा चलिरहेको थियो। त्यसबाहेक सरकारले सामाजिक सञ्जाल बन्द गर्दा टिकटक मात्रै सक्रिय रहेकाले टिकटकमा अधिकांशले भदौ २३ का लागि तयारी गरिरहेको थाहा पाएपछि बालेनले २२ गते आफ्नो फेसबुक पेजमा स्टेटस लेखेर आफू आन्दोलनको पक्षमा रहेको बताएका थिए।

“भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” बालेनले लेखेका थिए, “म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।” 

तर २३ गते १९ जना युवा प्रहरीको गोलीबाट मारिएपछि बालेन उग्र रूपमा प्रस्तुत भए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथानाम भन्दै आक्रोशपूर्ण स्टेटस लेखे। आन्दोलनको आक्रोशमा त्यो घिउ बन्यो।

परिणाम, भोलिपल्टको आन्दोलनले ओलीलाई राजीनामा दिएर सैनिक सुरक्षामा पुग्न बाध्य पार्‍यो। अनि देशैभर सरकारी, सार्वजनिक तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटको विध्वंस निम्तियो। ओलीको राजीनामापछि पनि यो सिलसिला नरोकिएपछि आन्दोलित युवालाई संयम अपनाउन आग्रह गरेर बालेनले फेरि फेसबुकमै अपिल गरे। यसले बालेन कुनै न कुनै रूपमा यो आन्दोलनको नेतृत्वकर्ता थिए भन्ने आशंकामा बल पुर्‍यायो।

तर बालेनले आन्दोलन हाँकेको कुरा गलत भएको ती सचिवालय सदस्यको दाबी छ। 

“आन्दोलन उहाँले नै गराएको हो भन्ने जुनखालको भाष्य निर्माण गरिएको छ, त्यो बिल्कुल असत्य हो। उहाँले फेसबुकमा आन्दोलनलाई समर्थन गरेर स्टेटस लेखेपछि केही संख्या पक्कै बढेका होलान्,” उनले भने, “तर यो आन्दोलनको डिजाइनर नै बालेन हो भन्नु सरासर गलत हो। फेसबुकमा बाहेक उहाँको भूमिका छैन। बरु यो आन्दोलनले यति चाँडै सत्ता पल्टाएपछि उहाँ आफै सरप्राइज्ड हुनुभएको छ। उहाँका कुरा सुन्दा लाग्छ, उहाँले यस्तो कल्पना नै गर्नुभएको थिएन।” 

कतिपयले भने, आन्दोलनका क्रममा भएको विध्वंस र त्यहीबीच कारागारबाट कैदी भगाइएको घटनामा आलोचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको राजनीतिक करिअरमा भएको क्षय देखेर बालेन सशंकित छन्। “अहिल्यै पार्टी खोलेर राजनीतिमा आए आफ्नो हविगत पनि त्यही हुनसक्छ भन्ने भय देखिन्छ,” उनलाई नजिकबाट चिनेका एक निकटस्थले भने, “त्यसमाथि अहिले प्रत्यक्ष कार्यकारी चुनिने सम्भावना पनि त छैन नि।”