‘गुजाराको आधार सडकपेटी’

मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।

महोत्तरी– मिथिला–१० लालगढ सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासको दैनिकी बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर बित्न थालेको वर्षौं भइसक्यो। यहीँबाट हुने आम्दानीले उनी गुजारा चलाइरहेकी छन्। 

“अरु केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ। घर पनि रातु नदी उकासको पर्तीमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो,”  उनी भन्छिन्, “हातगोडा चलुन्जेल त धानौला, थला परेपछि के गति हुने हो? खै!” 

सरिताको दैनिकी मकैको घोगाबाट शुरू हुन्छ। बिहान उठ्नासाथ छोरीको खानेकुरा ठिक पारेपछि उहाँलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडिन्छिन्। कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु पर्छ। 

करिब ३०/३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोर्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ। “मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आफू खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ,” उनी भन्छिन्।

उनको दैनिकी दसौँ वर्षदेखि चलिरहेको छ। “लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको मृत्यु भएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात पर्‍यो,” उनी भन्छिन्, “छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो। यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ। केही गर्छु भन्ने मनमा आए पनि आफूसँग पुँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ।”

अर्काको अधीनको कामले धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उनी सम्झिन्छिन्। “कोइला (दाउराको अँगार) आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका मागेर दुई हजार पुर्‍याएँ,” करिब १० वर्षअघिको कुरा सम्झँदै उनी भन्छिन्, “भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ। यो काम थालेयता दुई/चार पैसा थैलीमा हुन थालेको छ।”

छोरी सपनालाई पढाउन पाएको कुरामा उनी सन्तुष्ट छिन्। “सपना (छोरी) राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले यस्तो सुन्दा दंग पर्छु। आफूले अक्षर चिनिनँ, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन  बुझाउने ठाउँ पाएकी छु,” उनले भनिन्। 

१०० घोगा मकैबाट सुरु गरेको व्यापार हाल दिनहुँ ३०० घोगासम्म बेच्ने गरेको दासले बताइन्। पेसा गरिरहेको सडकबाट हटाउन बेलाबेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उनको भनाइ छ। 

“कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन। टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु,” उनी भन्छिन्, “कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु।” 

दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले ८०० रुपैयाँसम्म कारोबार हुने गरेको छ। यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताइन्। छिमेकी अघनियाँ महराले पनि उनबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगालेकी छन्। 

बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ। पति रौदी महराको २० वर्षअघि मृत्यु हुँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए। बस्ती वरपर बनिबुतो (मजदुरी) गरेर जहानको गुजारा चलाएका पतिको मृत्युपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ। 

“कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे,” अप्ठ्यारा दिनहरू सम्झँदै उनी भन्छिन्, “सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ। यसले जीवन धानिएको छ।” 

महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गरिन्। छोराको पनि बिहे भयो। नाति काखमा छ। छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उनी बताउँछिन्। “अब छोरा विदेश जाने भन्दै छ, त्यसका लागि रकम जम्मा गर्दै छौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ,” भविष्यको मीठो सपना सँगाल्दै उनी भन्छिन्, “छोराले दुःख बुझेको छ। पक्कै हाम्रा दिन फेरिएलान् नि!” 

बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहेकी छन्। पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा पनि कहालीलाग्दो छ। पति सत्यनारायण मुखिया रक्सीको कुलतले ३० वर्षअघि बिते। चार छोरामध्ये हुर्केका दुई छोरा रक्सीकै कुलतले बिते। साइँलो छोरो हराएको २५ वर्ष भयो। घरमा रहेका कान्छो छोरा, बुहारी र आफूसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताइन्। मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ। 

“पति हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफै बनीबुतो गर्नुपर्थ्यो। पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ। हाल दिनमा ४०० घोगासम्म मकै बेचेर दैनिक १ हजार जति कारोबार हुने गरेको छ,” मुखिया भन्छिन्, “कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झँदा विरक्त लाग्छ। पति रक्सीले नै मरे, छोराहरूको पनि त्यही कुलतले ज्यान गयो। एउटा मरे बाँचेको अत्तोपत्तो छैन।”

बर्दिबासमा सडकपेटीमा ससाना व्यवसाय गर्ने धेरै छन्। यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको सामाजिक अभियन्ता महिला बर्दिबास–२ की नगिना महतोले बताइन्।