सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नारायणी नदीमा पानीको बहाव बढेसँगै सुस्तामा निर्मित बाँध कटान तीव्र बनेपछि बस्ती नै डुबानको उच्च जोखिममा परेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा निर्माण गरिएको बाँध कटान शुरू भएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले उक्त बाँध निर्माण गरिएको थियो।

नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा काम भइरहेको जनाए। उनका अनुसार गएरातिदेखि नदीमा पानीको बहाव उच्च भएपछि कटान झनै तीव्र बनेको छ।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानी बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो र खरपातलगायतका सामग्री प्रयोग गरी अस्थायी बाँध निर्माण गरेर रोक्ने प्रयास गरिरहेका छन्।

यसैबीच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर, चितवनले पहिलो चरणमा रु ११ करोड ५० लाखको लागतमा करिब एक किलोमिटर तटबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताए।

“सोही ठाउँबाट जोडेर दोस्रो चरणमा थप रु एक करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम शुरू गर्ने योजना थियो। दीर्घकालीन समाधान हुन नसक्दा समस्या आइरहेको हो। अहिले पनि नारायणीको पानीले कटान गरिरहेको छ”, उनले भने।