मुस्ताङीलाई उत्तरी सिरेटोमा सुकुटी सुकाउने चटारो

हिउँदको पारिलो घामसँगै उत्तरबाट चल्ने फाङ्मर सुकुटी सुकाउने मुस्ताङको परम्परा हो। कात्तिक र मंसिरका दुई महिना वर्षदिन पुग्नेगरी सुकुटी सुकाइन्छ।

म्याग्दी– याक खोज्न डोल्पा गएका मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँँपालिका–५ का सितार गुरुङ जोमसोम फर्किएका छन्। उनले यसपटक १८ वटा याक ल्याए। उनले खरिद गरेर ल्याएका यी याक प्रतिगोटा १ लाख ६५ हजारमा बेचिरहेका छन्।

हिउँदयाम शुरू भएसँँगै मुस्ताङमा डोल्पाली याकका हुल आउन थाल्छन्। डोल्पाको उपल्लो थलो छर्काभोटबाट बाक्लो हिउँ परेको बाटो छिचोल्दै पाँचसात दिन हिँडाएर याक ल्याइन्छ। यी याक मासु र सुकुटीका लागि ल्याइएको हो।

कतिपय डोल्पाली आफै पनि याक बेच्न जोमसोम आइपुग्छन्। धेरैजसो भने सितारजस्ता खरिद व्यवसाय गर्नेले ल्याउँछन्। उनी भन्छन्, “मुस्ताङमा याकको सुकुटीको माग धेरै छ। यहाँ आउने पर्यटकले पनि याकको सुकुटी खोज्छन्।”

घरपझोङ गाउँँपालिका–१ ठिनी घर भएका पर्यटनकर्मी निरज थकालीका अनुसार, यस वर्ष मुस्ताङको जोमसोम, ठिनी, मार्फा, टुक्चे र मुक्तिनाथ क्षेत्रमा मात्र सुकुटी बनाउन करिब ३०० याक भित्रिएका छन्। मुस्ताङमा पालिने याक र चौरीले सुकुटीको माग थेग्न नसकेपछि हिउँद लाग्दा बर्सेनि डोल्पाबाट याक ल्याइन्छ।

तस्वीर सौजन्य: सुन्दरकुमार थकालीमुस्ताङ खासगरी च्यांग्राको सुकुटीका लागि प्रख्यात छ। तर च्यांग्राको सुकुटी महँगो पर्ने हुँदा मुस्ताङी र यहाँ आउने पर्यटकले याकको सुकुटी खोज्ने व्यवसायी बताउँछन्।

घरैमा सुकुटी बनाउन अगेनोमाथि लामोगरी काटिएको मासु झुण्ड्याउने चलन पुरानो हो। भट्टीपसल र रेष्टुरेन्ट व्यवसायीले छिटोका लागि पारिलो घाममा सुकाउँछन्। सुकुटीको व्यवसायिक उत्पादन थालेका ठूला होटलले सोलार ड्रयरबाट पनि मासु सुकाउँछन्।

nullकतिपयले याक र चौरीलाई गाईकै वर्गमा राख्छन्। त्यसैले प्रचलित कानूनअनुसार यी जनावर काट्न नपाइने उनीहरूको तर्क छ। तर याक राष्ट्रिय जनावर नभएको र सुकुटी आफूहरूको परम्परागत खानेकुरा भएको हुँदा निषेध गर्न नमिल्ने यहाँका स्थानीयको जिकिर छ।

सुकुटीको ‘फाङ्मर’ साइनो
मुस्ताङको भूगोल र धर्मसंस्कृति मात्र होइन, हावापानी पनि भिन्न छ। यहाँ सामान्यतः दक्षिणबाट उत्तरतर्फ तीव्र हावा चल्छ। तर कात्तिक अन्तिमदेखि फागुनसम्म उत्तरबाट दक्षिणतर्फ चिसो र सुक्खा सिरेटो चल्छ। हिउँदमा चल्ने सिरेटोलाई स्थानीयले ‘फाङ्मर’ अर्थात्, उत्तरी हावा भन्छन्।

मुस्ताङमा चल्ने फाङ्मरसँग मासुको लोकप्रिय परिकार सुकुटीको सांस्कृतिक सम्बन्ध छ। मुस्ताङमा कात्तिक र मंसिरमा च्याङ्ग्रा, भेडा, चौरी र याकको सुकुटी बनाउने परम्परा छ। यी दुई महिना मुस्ताङीहरूले वर्ष दिनलाई पुग्नेगरी सुकुटी बनाउँछन्।

हिउँदको पारिलो घामसँगै उत्तरबाट चल्ने फाङ्मरमा सुकुटी सुकाइन्छ। मंसिरपछि भने यहाँ बाक्लो हिउँ पर्न थाल्छ।

घरपझोङ गाउँँपालिका–२ मार्फाका लालप्रसाद हिराचन (८०) आफ्ना बाजेहरूले पनि कात्तिक र मंसिरमा नै च्याङ्ग्रा, भेडा र याकको सुकुटी बनाउने गरेको सम्झन्छन्। “मेरा नातिहरू पनि त्यही सुकुटी बनाउने सीप र ज्ञान पछ्याउँँदैछन्। सुकुटी त जुन सिजनमा बनाए पनि हुन्छ, तर उत्तरी हावा चल्ने सिजनको जस्तो स्वाद अरू समयमा बनाएको सुकुटीमा हुँदैन,” उनी भन्छन्।

मुस्ताङमा बेच्नका लागि सुकुटी तयार गरिँदै। फाइल तस्वीरसुकुटी तराइमा पनि बनाइन्छ, यद्यपि गर्मी भएकाले चाँडै गनाउँछ। “मुस्ताङमा पनि भदौ, असोजमा बनाएको भन्दा मंसिर–पुसमा बनाएर उत्तरी हावाले सेकेको सुकुटीको स्वादै फरक हुन्छ। वर्षदिन ढुक्कले टिक्छ,” हिराचन भन्छन्, “मुस्ताङमा सुकुटीसँग उत्तरी सिरेटोको मिठो साइने जोडिएको छ।”

मासु छिटो सड्ने संवेदनशील खाद्यवस्तु हो। मुस्ताङमा हिउँदमा चल्ने हावामा सुकाएर सुकुटी बनाउने चलन वैज्ञानिक भएको जोमसोमस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. लालमणि अर्याल बताउँछन्। मुस्ताङमा बहने उत्तरी हावामा सापेक्षित आद्रता शून्यप्रायः हुन्छ, त्यसले गर्दा मासु छिटो सुक्छ।

“अति चिसो हावाले सुकाउने भएकाले मासु सडाउने ब्याक्टेरिया सक्रिय हुन सक्दैन, त्यसैले तुलनात्मक रूपमा स्वस्थ, पोषकतत्व पनि नष्ट नहुने हुन्छ। सुकुटी पनि स्वादिलो बन्छ,” डा. अर्याल भन्छन्।

कोशेलीमा विदेशसम्म पुग्छ सुकुटी
मुस्ताङमा हरेक हिउँदमा प्रायः घरले ५–६ वटासम्म खसी काटेर सुकुटी बनाउँछन्। याकको सुकुटी पनि हुन्छ। यसरी बनाएको सुकुटी शहर बसाइँ सरेकादेखि विदेशमा भएका आफन्तसम्म कोशेली पठाइने गरिएको मुस्ताङका व्यवसायी सुन्दर थकाली बताउँछन्।

मुस्ताङको मुख्य कोशेली नै स्याउ, सुकुटी र ब्रान्डी भएको थकालीको भनाइ छ। “यहाँका थकालीको घरमा पाहुनाको स्वागतमा सगुनसँग सुकुटी राख्ने र शहरका आफन्तलाई कोशेली पनि सुकुटी नै पठाउने संस्कार नै हो,” उनी भन्छन्।

मासु मात्र नभई, आन्द्रामा रगत र बोसोको मिश्रण भरेर पनि सुकाउने गरिन्छ। यसरी सुकाएको मासुलाई ‘घिन्टी’ भनिन्छ। आन्द्रामा फापरको पिठो र रगत मोलेर पनि भर्ने गरिन्छ, जसलाई ‘टुंग’ भनिन्छ। 

म्याग्दीको एक घरमा सुकुटी तयार गरिँदै। फाइल तस्वीरयसरी बनाइएका सुकुटीलगायत परिकार कोशेलीका रूपमा विदेशसम्म पुग्छन्। यी कोशेलीले विदेशमा भएका नेपालीलाई घरको भान्सा बिर्साउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीकी सीमा भण्डारी बताउँछिन्। कतारमा कार्यरत श्रीमानलाई कोशेली पठाउन बेनीकाली पुलस्थित बसपार्कमा भेटिएकी भण्डारी भन्छिन्, “सुकुटी भनेपछि हुरुक्कै हुनुहुन्छ। एउटै कम्पनीको साथी फर्कन लाग्नुभएकोले सुकुटी पार्सल पठाउन लाएकी हुँ।”

तर अमेरिका पुगेकाहरू भने यताको सुकुटीलाई ‘मिस’ गर्छन्। रघुगंगा गाउँपालिका–२ घर भई टेक्सास बस्ने अर्जुन सुवेदी भन्छन्, “यहाँ (अमेरिका) को कानूनअनुसार यात्रुले सुकुटी ल्याउन पाइँदैन। बाल्यकालको भावना र स्वाद जोडिने भएकोले सुकुटीको खुब याद आउँछ।” 

पछिल्लो समय खसी, च्याङग्रा, राँगा, कुखुरा र बंगुरको समेत सुकुटी बनाउन थालिएको छ। गाउँका बाख्रा फार्महरूले आफै सुकुटी, घिन्टी र टुङ बनाई बेच्ने गरेका छन्। नेपालमा बनाएको सुकुटी प्याकेजिङ गरी निर्यात पनि हुन थालेको छ।

nullअमेरिकाको टेक्सासमा खुलेको जिब्रो फुड्सले ‘सही सुकुटी’ ब्राण्डको सुकुटी बेच्दै आएको छ। ललितपुरस्थित हिमालय एग्रीको ‘राँँगो सुकुटी’, पोखराको ‘सुकुटी पसल’ पनि विदेशसम्म पुग्छन्।

सुकुटीलाई आलु, दाल, सागसब्जी आदिमा मिसाएर पकाउन सकिन्छ। यसलाई बफाएर, भुटेर वा झोल बनाएर पनि खान सकिन्छ। सुकुटीलाई साँँदेर वा अचारको रूपमा पनि खाने चलन छ।