एनपीएलमा विदेशी खेलाडीको दबदबा, लयमा फर्किंदै नेपाली

एनपीएलका १० खेल सकिँदा नेपालीभन्दा विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष ५ मा तीन जना विदेशी छन्, बलिङतर्फ भने धेरै विकेट लिने शीर्ष ५ मा तीन नेपाली छन्।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सोमबारसम्म कुल १० खेल भइसकेका छन्। आठ टोली सहभागी प्रतियोगितामा हालसम्म विदेशी खेलाडीको प्रदर्शन राम्रो देखिएको छ। 

काठमाडौँ गोर्खाज् र जनकपुर बोल्ड्सबीच भएको पहिलो खेलमा अमेरिकी खेलाडी मिलिन्द कुमार ‘प्लेयर अफ द म्याच’ बने। कठमाडौँका अलराउन्डर मिलिन्दले ४ ओभर बलिङ गरेर १५ रन खर्चिँदै ३ विकेट लिएका थिए। चौथो नम्बरमा ब्याटिङका लागि आएका उनले २२ बलमा १९ रन जोडेका थिए। काठमाडौँले १३१ रनको टार्गेट १८ ओभरमै पूरा गरेको थियो।

दोस्रो खेलमा कर्णाली याक्सले दिएको १६६ रनको लक्ष्य चितवन राइनोजले १९.१ ओभरमा भेट्टाएको थियो। चौथो नम्बरका लागि ब्याटिङमा आएका चितवनका खेलाडी रवि बोपारा प्लेयर अफ द म्याच भए। उनले ३६ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। बलिङतर्फ पनि ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए।

तेस्रो खेल पोखरा एभेन्जर्स र विराटनगरबीच भएको थियो। विराटनगरले दिएको २२१ को लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा अलआउट भयो। यस खेलमा विराटनगरका ओपनर लोकश बम प्लेयर अफ द म्याच चुनिए। बमले ४८ बलमा ७२ रनको इनिङ्स खेलेका थिए।

चौथो खेलमा सूदुरपश्चिम रोयल्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज १६.५ ओभरमा ११८ रनमा अलआउट भयो। त्यस खेलमा सुदूरपश्चिमबाट खेलिरहेका अ‍मेरिकी खेलाडी हर्मित सिंह प्लेयर अफ द म्याच चुनिए। आठौँ नम्बरमा ब्याटिङका लागि आएका उनले २० बलमा ५३ रन जोडेका थिए। बलिङतर्फ पनि २ विकेट लिएका थिए। 

पाँचौँ खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीच भएको थियो। चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमै पूरा गरेको थियो। यस खेलमा लुम्बिनीबाट खेलिरहेका नामिबियाका रुबेन ट्रम्पलमेन प्लेयर अफ द म्याच चुनिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर ३ विकेट लिएका थिए।

छैटौँ खेल  सुदूरपश्चिम र पोखरा एभेन्जर भएको थियो। यस खेलमा सुदूरपश्चिमले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १७५ मा समेटियो। सुदूरपश्चिमबाट खेलेका अस्ट्रेलियन ब्याटर जोश ब्राउनले ३५ बलमा ६८ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए।

प्रतियोगिताको सातौँ खेलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य कर्णाली याक्सले १२.२ ओभरमै पूरा गर्‍यो। उक्त खेल कर्णालीले ९ विकेटले जितेको थियो। प्लेयर अफ द म्याच मार्क वाट बनेका थिए। स्कटल्यान्डका अलराउन्डर वाटले ४४ बलमा ११४ रन जोडेका थिए भने बलिङतर्फ १ विकेट हात पारेका थिए।

त्यस्तै, आठौँ खेलमा काठमाडौँले दिएको १४३ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा पूरा गरेको थियो। उक्त खेलमा साउथ अफ्रिकी बलर मर्च्यान्ट डि लांगे प्लेयर अफ द म्याच भएका थिए। उनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए।

प्रतियोगिताको नवौँ खेलमा विराटनगरले दिएको १३५ को लक्ष्य पछ्याउने क्रममा जनकपुरले २० ओभरमा १२६ मात्रै बनाउन सक्यो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए। उनी खेलको प्लेयर अफ द म्याच भए। 

सोमबार साँझ भएको अर्को खेलमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ अलआउट हुँदै ९४ रनमा समेटियो। सुदूरपश्चिमका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच भए। ऐरीले ४ ओभर बलिङ गर्दै २३ रन दिएर ४ विकेट लिए। ब्याटिङतर्फ २८ बलमा ३९ रन जोड्न सफल भए।

एनपीएलका शुरूआती १० खेल सकिँदा नेपाली खेलाडीभन्दा विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। विदेशी खेलाडी मैदानमा राम्रो प्रभाव छाड्न सफल भएका छन्। तर सोमबार‍का दुई खेलमा भने नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। जसमा दुवै मार्की तथा कप्तानले प्लेयर अफ द म्याच पाउन सफल भए।

नेपाली खेलाडी अहिलेसम्म ब्याटिङभन्दा बलिङमा सफल देखिएका छन्। ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष ५ मा तीन जना विदेशी छन्, बलिङतर्फ भने धेरै विकेट लिने शीर्ष ५ मा तीन नेपाली छन्।

ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष स्थानमा रहेका मार्क वाटले १४७ रन बनाएका छन्। त्यसपछि रवि बोपारा (११८), लोकेश बम (११४), कुशल भुर्तेल (११२) र प्रियांक पाञ्चाल (१०२) छन्। धेरै विकेट लिनेको शीर्ष स्थानमा सन्दीप लामिछाने (७ विकेट) छन्। त्यसपछि क्रमश: हर्मित सिंह (६), सोमपाल कामी (६), करण केसी (६) र मिलिन्द कुमार (५) छन्।

एनपीएलमा रहेका टोलीले बढीमा ६ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ।तर मैदानमा भने चार विदेशी खेलाडी मात्र उतार्न पाइन्छ।

हालसम्मको अंकतालिकामा सुदूरपश्चिम अग्रस्थानमा छ। सुदूरपश्चिमले लगातार तीन खेल जितेर ६ अंक जोडेको छ। समान तीन खेल खेलेर ६ अंक नै जोडेको विराटनगर रनरेटका आधारमा दोस्रो स्थानमा छ। प्रतियोगितामा यी दुई टोली अपराजित छन्।

तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो र उति नै जितहार भएको लुम्बिनी चौँथो स्थानमा छन्। चितवन पाचौँ, कर्णाली छैटौँ, जनकपुर सातौँ र पोखरा तालिकाको पुछारमा छन्।