दलहरूले विगतका गल्ती स्वीकार्दै जनताले नरुचाएका पुराना नेतालाई पाखा लगाएर नयाँ पुस्तासँग सहकार्य गर्ने, राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्नेमा ध्यान दिनुपर्छ।
पछिल्लो समय अचाक्ली बढेको भ्रष्टाचार र राज्यसञ्चालनमा संस्थागत हुन पुगेको कुशासनका कारण नेपालीमाझ असन्तुष्टि र आक्रोश यसरी बढिरहेको थियो कि सामाजिक सञ्जालदेखि धेरैतिर त्यो प्रकट भइरहेकै थियो।
खासगरी युवा पुस्तामा बढेको असन्तुष्टि र आक्रोश विभिन्न हिसाबले छताछुल्ल भइरहेकै थियो। जसलाई समयमै बुझ्न नचाहँदा त्यही आक्रोशको बाढीले पुराना नेता र पार्टीहरू सत्ताबाट च्युत हुन पुगेका छन्। योसँगै आम नेपालीमा एक किसिमको अन्योल पनि छाएको छ। युवाले गरेको आन्दोलन अर्थात् जेनजी आन्दोलनको उद्देश्य आगजनी, तोडफोड, लुटपाट जस्ता विध्वंस नभए पनि त्यही आन्दोलनकै बीचमा भएका यस्ता विध्वंसले आम नेपाली र व्यापारिक समुदायले असुरक्षित महसुस गरेका छन्। उनीहरू आफूसँगै देशको भविष्य र गन्तव्यलाई लिएर चिन्तित बनेको प्रष्ट देखिन थालेको छ।
चाहेर होस् या नचाहेर, जानेर होस् या नजानेर, नेपाल यतिबेला पुनः एउटा निर्णायक राजनीतिक मोडमा उभिएको छ। गन्तव्य भने अस्पष्ट छ। जेनजी (जेनेरेसन जेड) उमेर समूहको अर्थात् नयाँ पुस्ताको आन्दोलनले लामो समयदेखि सत्ता र समाजमा प्रभुत्व जमाएका पुराना पार्टीहरूको राजनीतिक हैसियतलाई समेत चुनौती दिएको छ। अर्थात् यो आन्दोलनले मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई मात्र प्रभावित गरेको छैन, नागरिक जीवन, व्यापारिक समुदाय र राज्य–संयन्त्रमा समेत गहिरो असर पारेको छ।
राजनीतिक आन्दोलनहरूको अध्ययन गर्दा देखिन्छ कि कुनै पनि सामाजिक राजनीतिक संरचनामा ठूलो परिवर्तन प्रायः विरोध र विद्रोहकै माध्यमबाट हुने गर्दछ। नेपालमा २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। तथापि हाल देखिएको जेनजी आन्दोलनको स्वरूप भिन्न छ। किनभने यसको नेतृत्व दलगत संरचना वा परम्परागत संगठनले होइन कि असन्तुष्ट र सक्रिय युवा पुस्ताले गरेका छन्।
राजनीतिक समाजशास्त्र अनुसार आन्दोलनहरू त्यतिबेला जन्मिन्छन् जब राज्य र समाजबीचको सम्बन्धमा गहिरो असमानता वा असन्तुलन उत्पन्न हुन्छ। नेपालमा जेनजी आन्दोलन उत्पन्न हुनुको कारण पनि देशमा देखिएको चरम भ्रष्टाचार, हरेक क्षेत्रमा चरम राजनीतिकरण तथा पार्टीहरूले विकास, सुशासन र स्थिरता दिन नसकेपछि नयाँ पुस्तामा बढेको निराशा हो।
यस पटकको आन्दोलनमा सूचना प्रविधिको विस्तारले युवाहरूलाई संगठनबद्ध र सचेत बनाउन सहयोग पुर्यायो। विश्वभरि फैलिएको युवा आन्दोलन (अरब स्प्रिङ, अकुपाई मूभमेन्ट आदि)को प्रभाव नेपालका युवामा पनि परेको छ भन्न सकिन्छ। यसरी हेर्दा जेनजी आन्दोलन केवल राजनीतिक शक्ति हरण गर्ने प्रयास मात्र होइन, बरु सामाजिक चेतना र पुस्तागत असन्तोषको नतिजा पनि हो।
जब संस्थाहरू आफ्ना आधारभूत दायित्व पूरा गर्न असफल हुन्छन्, त्यतिबेला तिनीहरू कमजोर हुन्छन्। नेपालका प्रमुख दलहरूप्रति नागरिकको आक्रोश यसै दृष्टिकोणबाट बुझ्न सकिन्छ। यो जगजाहेर छ कि पुराना दलहरूले आफ्नो संगठनात्मक अखण्डता गुमाउँदै गुटबन्दी र भ्रष्टाचारलाई संस्थागत गरे। दीर्घकालीन रणनीतिक सोचभन्दा तात्कालिक सत्ताको खेलमा केन्द्रित रहँदा जनताबाट विश्वास गुमाए। यसैकारण जेनजी आन्दोलन वास्तवमा दलहरूको संस्थागत विफलताप्रतिको प्रत्यक्ष प्रतिक्रिया हो।
आन्दोलनसँगै देखिएको हिंसा र असुरक्षा
राजनीतिक वैज्ञानिक चार्ल्स टिलीका अनुसार आन्दोलन लामो समय टिक्न वैधता र संगठनात्मक क्षमता आवश्यक हुन्छ। तर आन्दोलनमा हिंसा बढेमा सामान्य नागरिकको आन्दोलनप्रतिको विश्वसनीयता कमजोर हुन्छ। नेपालमा जेनजी आन्दोलनसँगै देखिएका आगजनी, तोडफोड र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमणका घटनाले नागरिक र व्यापारिक समुदायमा त्रास उत्पन्न गरेको छ। आन्दोलनका दौरान भएका आगजनी, लुटपाटका कारण सामान्य नागरिकमा असुरक्षाको भावना महसुस गराएको छ।
राज्यले सुरक्षात्मक कदम चाल्न खोजे पनि आन्दोलनको फैलावटका कारण नियन्त्रण गर्न कठिनाइ भएकोले व्यापारिक संस्थानमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा उद्योग व्यवसाय प्रभावित मात्रै भएका छैनन् कि असुरक्षाका कारण अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रले भविष्यमा गर्ने लगानीमा राज्यले कसरी सुरक्षाको प्रत्याभूति गर्ने हो भन्ने अहम् प्रश्न खडा भएको छ। निजी क्षेत्रलाई विश्वास दिलाउन सकिएन भने लगानी अन्यत्र सर्ने सम्भावनालाई नकार्न सकिँदैन।
राजनीतिक अन्योल
एकातिर पुराना पार्टीहरू कमजोर अवस्थामा पुग्नु, अर्कोतर्फ नयाँ आन्दोलनकारी शक्तिको संस्थागत संरचना अझै परिपक्व नहुँदा नेपालको राजनीतिमा शून्यताको अवस्था देखा परेको छ। यसै पनि लगातार सरकार परिवर्तन र आन्दोलन हुँदा विकास रणनीतिहरू अधुरा रहँदै आएका थिए। पुराना दलहरूको प्रभाव क्षीण भए पनि नयाँ शक्तिले अझै नीतिगत स्थिरता दिन समय लाग्ने छ। आम नागरिक भविष्यप्रति चिन्तित देखिएका छन्। न पुरानामा आशा, न नयाँमा पूर्ण विश्वासको अवस्था छ। राजनीतिक विज्ञान अनुसार यस्तो अवस्थामा मुलुक अन्त्यहीन अस्थिरताको चक्रमा फस्ने खतरा उच्च हुन्छ।
भविष्यका सम्भावित बाटाहरू
क. सकारात्मक सम्भावना
जेनजीले आफ्नो ऊर्जा र जनसमर्थनलाई संस्थागत संरचनामा रूपान्तरण गर्न सकेमा राष्ट्र नयाँ बाटोमा अघि बढ्दा नयाँ राजनीतिक संस्कृतिको विकास हुने सम्भावना हुन्छ। युवा नेतृत्वले प्रविधि, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेमा द्रुत विकास सम्भवलाई नकार्न सकिँदैन। स्थिर नीतिको वातावरणले लगानी र रोजगारीका अवसर सिर्जना हुने सम्भावना रहन्छ।
ख. नकारात्मक सम्भावना
आन्दोलन हिंसात्मक र भावनात्मक मात्र रह्यो भने देश अझै गहिरो संकटतर्फ धकेलिन्छ। दलहरूको पतनपछि विकल्पीय संरचना नबनेमा नेतृत्व शून्यताका कारण दीर्घकालीन अस्थिरतामा परिणत हुन बेर लाग्दैन। त्यसकारण विदेशी हस्तक्षेप र आन्तरिक द्वन्द्व बढ्ने सम्भावना उच्च हुन्छ।
नागरिक, राज्य र दलहरूको भूमिका
आन्दोलनबाट जन्मिएको परिस्थितिलाई शान्तिपूर्ण, संवादमुखी र बदलाको भावनाबाट उठेर रचनात्मक बनाउन नागरिक र नागरिक संस्थाहरूले दबाब दिनुपर्छ। दमन वा निषेधकारी उपायभन्दा संवाद, सहमति र समावेशी समाधानमार्फत स्थायित्व कायम गर्नेतर्फ लाग्नुपर्छ।
दलहरूले विगतका आफ्ना गल्ती स्वीकार गर्दै जनताले नरुचाएका पुराना नेताहरूलाई पाखा लगाउँदै नयाँ स्वरूपमा नयाँ पुस्तासँग सहकार्य गर्ने लचकता अपनाउन आवश्यक छ। आन्दोलनपछि राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्दै नीतिकेन्द्रित राजनीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ।
अन्त्यमा जेनजी आन्दोलन नेपालको राजनीतिक परिदृश्यमा एक नयाँ मोड लिएर आएको छ। यसले दलहरूको अकर्मण्यता र असफलतालाई उजागर गर्दै नयाँ सम्भावनाको ढोका खोलेको छ। यदि नयाँ पुस्ताले संस्थागत, नीतिमा आधारित र शान्तिपूर्ण बाटो रोज्यो भने नेपाल स्थायित्व, सुशासन र विकासको नयाँ यात्रामा प्रवेश गर्नेछ। यसकारण नेपालको भविष्य नागरिकको सहभागिता, राज्य–संयन्त्रको जिम्मेवारी तथा राजनीतिक नेतृत्वको परिपक्वतामा निर्भर छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
