जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकाका धेरै प्रहरी कार्यालयमा आगजनी भयो, जसले प्रहरीलाई भाग्न बाध्य बनायो। अहिले स्थानीय बासिन्दा जुटेर जलेका भवन सरसफाइ गर्दै प्रहरीलाई काम सुचारु गर्न सहयोग गरिरहेका छन्।
काठमाडौँ– प्रहरी वृत्त बौद्धको भित्ता आगोले जलेर कालो भएको छ। भुइँमा फुटेका सिसा, छरिएको रासन, असरल्ल टेबल–कुर्सी र जलेर फलाम मात्रै बाँकी रहेका सवारीको दृश्य उराठलाग्दो थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा खण्डहर बनेको कार्यालयमा शुक्रबार बिहान भने चहलपहल शुरू हुँदै थियो। स्थानीय स्वस्फूर्त रूपमा भेला भएर सरसफाइमा जुटेका थिए।
६८ वर्षीय लाक्पा छिरिङ शेर्पा जलेका सामान बोरामा उठाउँदै थिए। नागरिकलाई सुरक्षा दिने कार्यालयको बिजोग देख्न नसकेर सफाइमा जुटेको उनी बताउँछन्। “हिजो जे भयो त्यो भुल्न सजिलो छैन तर हामीले पछिका लागि सोच्नुपर्छ,” उनी भन्छन्, “हाम्रो जनघनको सुरक्षाको लागि पनि कार्यालय यो हालतमा राख्न हुँदैन भनेर आएको हुँ।”
यसअघि पनि विभिन्न आन्दोलन देखेका उनी यस पटकको आन्दोलनमा भएका घटनाले भने मर्माहत बनाएको बताउँछन्। विभिन्न कालखण्डमा भएका आन्दोलनमा यति विकरालपूर्ण स्थिति उनले देखेका थिएनन्।
“जेनजीले शुरू गरेको यो आन्दोलनको मनसाय ठीक थियो तर बीचमा अरू मान्छे मिसिएपछि वितण्डा मच्चियो,” लाक्पा भन्छन्, “हामीलाई सुरक्षा दिने प्रहरीको कार्यालयमा आगो झोसियो।”
प्रहरी कार्यालय जलेपछिको दुई दिनमा चोरी र लुटपाटका घटना बढेको भएको उनले सुनाए। “प्रहरी हाम्रो साथी हुन्, उनीहरूको बासस्थान जल्दा हामीले सहयोग गर्नुपर्छ, यो हाम्रो कर्तव्य हो,” लाक्पा भन्छन्, “हामीलाई प्रहरी चाहिन्छ।”
बस्ती नै असुरक्षित भएकाले चाँडो प्रहरी कार्यालय सुचारु हुनुपर्ने अर्का स्थानीय पद्मराज बराइलीको भनाइ छ। बौद्धस्थित महांकाल शान्तिनगर उपभोक्ता समितिका १५ जनाको समूहमा प्रहरी कार्यालयको सरसफाइमा जुटेको हो। कार्यालयका डीआईजीसँग अनुमति लिएर मुचुल्का उठाएपछि मात्रै सरसफाइ शुरू गरेको बराइली बताउँछन्। “आन्दोलनले प्रहरी कार्यालय दयनीय बनाएको थियो,” उनी भन्छन्, “हामी कार्यालयको बाहिर मात्र सरसफाइ गरिरहेका छौँ।”

उठाएको फोहोर ओसारपसारका लागि भने बौद्ध सरसफाइ अभियानबाट टिपर सहयोग भएको थियो। “पन्जा, झाडुलगायत सामान वडा कार्यालयले दिएको छ। ज्याकेट हाम्रै समितिको हो,” पद्मराज भन्छन्, “अहिलेको अवस्थामा नागरिक अग्रसर भई सेवाप्रदायक सरकारी कार्यालय पुनर्स्थापनामा सहयोग गर्नुपर्छ।”
चापागाँउस्थित प्रहरी कार्यालयको कथा पनि उस्तै छ। यहाँ पनि स्थानीय नै स्वस्फूर्त रूपमा प्रहरी कार्यालयको सरसफाइका लागि जुटेका थिए। चापागाँउमा बिहीबार सरसफाइ सकिएपछि प्रहरी बस्न थालिसकेको छ। स्थानीय धिरेन देशारका अनुसार बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म प्रहरी कार्यालय सरसफाइ गरिएको थियो। १०० जनाभन्दा बढी स्थानीयको सहभागितामा दुई टिपर फोहोर उठाइएको देशारले बताए।
देशारको भाँडाकुडा पसल छ। छिमेकी झाडु र सरसफाइका सामाग्री किन्न आउँदा प्रहरी कार्यालय सरसफाइ गर्न लागेको थाहा पाएका थिए। त्यसपछि उनी पनि पसल छाडेर सरसफाइमा सहभागी भए।
“धन्न नयाँ भवनको दक्षिणतर्फको भाग जोगिएको रहेछ। तीन तलामा छुन लाग्दा पानी फालेर निभाएका थियौँ,” उनी भन्छन्, “कार्यालयमा आगो लगाउनेहरू मास्क लगाएर आएका थिए।”
आन्दोलनकारीले शुरूमा गोदावरी नगरपालिकाको कार्यालय जलाउने प्रयास गरेका थिए। स्थानीयले प्रतिकार गरे। प्रतिकारका क्रममा स्थानीयसँग झडप पनि भएको थियो। “स्थानीयको सहयोग यतिसम्म थियो कि थेचोका स्थानीयसमेत पालिकाको सुरक्षाका लागि रातभर खटिन तयार हुनुहुन्थ्यो,” उनी भन्छन्।
‘हामी नै बनाउँछौँ’
स्थानीयको योगदानबाट बनेको महाराजगन्ज प्रहरी वृत्त लिफ्ट र अन्डरग्राउन्ड पार्किङसहितको नेपालकै आधुनिकमध्येको एक प्रहरी कार्यालयका रूपमा चिनिन्छ। अहिले यो भवन आगोले झोसिएर कालो भएको देखिन्छ। भित्रका लगभग सबै संरचना जलिसकेका छन्। भवनको अगाडी स्थानीयले सरसफाइ गरेर निकालेको खरानी र जलेर बाँकी भग्नावशेषको चाङ छ।
जेनजी आन्दोलनको क्रममा मंगलबार प्रदर्शनकारीले पाँचतले भवनको तीन वटा तला आगो लगाएर ध्वस्त बनाए। कार्यालय प्रांगण र पार्किङमा रहेका सवारीसाधान जलेर पत्रु भए। भवनभित्र जलेका संरचनाको भग्नावशेष र खरानी निकालेर सरसफाइ गर्न स्थानीय बिहीबार बिहानदेखि नै जुटेका थिए। नजिकमा डेरा गरी बस्ने स्थानीयले खानेकुरा, पानी र फलफूल दिएर प्रहरीलाई सहयोग गरिरहेका छन्।
प्रांगणमा कर्कटपात्ताले छाएर बनाइएको सानो टहरामा बसेर प्रहरीले काम शुरू गरिसकेको छ। स्थानीय अनिता बम शुक्रबार दिउँसो दुई बजेतिर प्लास्टिकमा पाँच किलो स्याउ लिएर प्रहरी कार्यालय पुगिन् । काम गरिरहेका प्रहरी कर्मचारीलाई दिएर फर्किइन्। “हिजो पानी र चाउचाउ दिएँ। अहिले अलिकति फलफूल ल्याइदिएँ। हामी सबै नेपाली हो, प्रहरी पनि आन्दोलनकारी पनि। अस्तिको दिन जे हुनु भयो। अब सकेको सहयोग गरौँ। बिग्रेको बनाऔँ भन्ने मेरो धारणा छ,” उनले भनिन्, “प्रहरी संस्था हाम्रै लागि हो, यसलाई फेरी उठाउनका लागि टोल समाजले साथ सहयोग गर्नु पर्छ।”
उक्त प्रहरी वृत्तलाई पहिले जस्तै बनाउन स्थानीय व्यक्ति र संघसंस्थाले हातोमालो थालिसकेका छन्। “उच्च मनोबलसहित प्रहरीको उपस्थिति आवश्यकता देखेर हामी सरसफाइमा लागेका छौँ। कैदी छुटे अपराधका मुद्दामा परेकाहरू निस्किए, समाज यसले गर्दा अलि असुरक्षितजस्तो पनि भएको छ,” स्थानीय चिल्ड्रेन भिजन नेपाल संस्थाका रमेश सिलवालले भने, “भोलि समाजमा आपराधिक कार्य भएमा हामी कहाँ गएर गुनासो गर्ने? कसलाई बोलाउने? त्यसैले यसमा लागिरहेका छौँ।

स्थानीय अगुवा राजीव भारीका अनुसार शुरूमा त्यहाँ एक जना हवलदार र चार सिपाही भकारीजस्तो संरचना बनाएर खटिन्थे। २०३६ सालमा चौकी बन्यो। २०३८ सालमा दुई तले भवन बनाइयो। साढे तीन दशक चौकीका रूपमा सञ्चालन भयो। करिब ६ वर्षअघि भीआईपी चौकी बनाइएको थियो। “प्रहरी हाम्रो लागि हो, दुई दिनमै देखियो समुदायले प्रहरीलाई स्वगत गरेको छ। टोलछिमेक जम्मा भएर हिजोदेखि बनाउन लागेका छौँ,” शुक्रबार दिउँसो उनी भन्दै थिए, “स्थानीयलाई सुरक्षा त चाहियो नि।”
उनी यस प्रहरी वृत्तको भवनसहितको संरचना बनाउने निर्माण समितिका अध्यक्षसमेत हुन्। शुक्रबार बिहान ८० जना र दिउँसो ४० जना स्थानीय सरसफाइमा खटिएका थिए। शनिबारसम्म सफाइको काम सक्ने उनीहरूको योजना छ।
महाराजगन्ज चोकमा व्यवसाय सञ्चालन गर्ने गल्फुटारका डीबी धितालले उक्त भवनभित्र जलेको संरचना बनाउन व्यवसायीहरूले विभिन्न जिम्मेवारी लिनुपर्ने बताए। एक जनाले कोठामा रंङरोगन, अर्कोले बिजुलीबत्ती, अर्कोले फर्निचरलगायत आवश्यक उपकरण बनाउने जिम्मा लिएमा सजिलो हुने उनको भनाइ छ। “म कुनै एउटा कक्ष बनाउने जिम्मा लिन्छु। प्रहरी नागरिककै संस्था हो। ध्वस्त भएको संरचना जनताकै पैसा नष्ट भएकाले अब बनाउने अभिभारा पनि स्थानीयकै हो,” उनले भने।
जेनजी पुस्ताका युवा प्रहरी वृत्त पुनर्स्थापनाका लागि खटिइरहेका थिए। स्थानीय रैचुन पुन मगर र सन्तोष गुरुङले जेनजीको आन्दोलनमा मिसिनका आएका अन्य मानिसले विध्वंस मनाएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
