‘किड्नी किङ’ अमितकुमार र काठमाडौँ कनेक्सन

किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।

आकर्षक जागिरको प्रलोभन देखाई भारत पुर्‍याएर खिलबहादुर भुजेलको मिर्गौला (किड्नी) झिकेको घटना सार्वजनिक भएपछि सान्दर्भिक देखियो १८ वर्ष पुरानो एउटा घटना। घटनाका मुख्य पात्र भारतीय थिए, तिनलाई पक्राउ गर्ने नेपाल प्रहरीको भने इन्टरपोलले पनि प्रशंसा गरेको थियो।

भारतीय मिडिया (खासगरीकन हिन्दी न्यूज च्यानल) सत्ताको स्तुतिगानमा लिन हुने ‘गोदी मिडिया’ भनेर आलोचित भइनसकेको सन् २००८ को जाडोको समय थियो। भारतका २४ घण्टे न्यूज च्यानलहरूमा किड्नी अवैध रूपमा प्रत्यारोपण गर्ने व्यक्ति भनेर डा. अमितकुमार छाइरहेका थिए। दुई हप्ताअघि (२००८ जनवरी २४) अमितकुमारले किड्नी प्रत्यारोपण गर्ने भनिएको गुडगाँवको ठेगानामा पुलिसले छापा मारेदेखि नै उनी सञ्चारमाध्यममा हेडलाइन बनिरहेका थिए।

अमितले नै चलाएको गेस्ट हाउसमा किड्नी प्रत्यारोपणको डेट कुरिरहेका दुई अमेरिकी र तीन ग्रिक नागरिक गरी पाँच विदेशीलाई पुलिसले फेला पारेको थियो। पाँच देशका गरी ३० विदेशीको ‘वेटिङ लिस्टै’ नै बरामद गरेको प्रहरीले दाबी गरिरहेको थियो।

मिडियाहरू कतिपय ‘किड्नी किङ’ को पगरी गुथाइरहेका थिए, कति चाहिँ ‘डाक्टर हरर’ भनेर सिर्जनशीलताको प्रदर्शन गरिरहेका थिए। ‘खलनायक नं. १’ जसरी ब्रान्डिङ गरिएका उनी नेपाल पसेको खबर पलपल प्रसारण भइरहेका थिए।

२०६४ माघ २३ गते राति भारतका ‘मस्ट वान्टेड’ अमितकुमार नेपालमा पक्राउ परेको खबर सलह झैँ फैलियो। त्यसको भोलिपल्ट (माघ २४ गते) को कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार, अमितसहित तीन जनालाई चितवनको सौराहाबाट पक्राउ गरिएको थियो। तत्कालीन उपत्यका अपराध महाशाखा (अहिले उपत्यका अपराध अनुसन्धान कार्यालय) को टोलीले अमितसहितलाई रातारात काठमाडौँ ल्याएको थियो।

माघ २४ गते पत्रकारहरूबीच नै धक्कामुक्की हुनेखाले भिडभाडपूर्ण पत्रकार सम्मेलनबीच उनलाई प्रस्तुत गरिएको थियो। त्यही दिन भारतीय दूतावासलाई सुपुर्द गरिएपछि उनलाई इण्डियन एयरलाइन्सको विमानबाट दिल्ली पुर्‍याइयो।

हरेक दिन हेडलाइनै बनाइरहेका भारतीय मिडियाले नेपालमै छिरेको दाबी गरिरहेकाले महाशाखाले टोली बनाएर खोजी शुरू गरेको थियो। अमितलाई पक्रिन महाशाखाले बनाएको टोलीको नेतृत्व गरेका तत्कालीन डीएसपी (डीआईजीपीबाट पाँच वर्षअघि अवकाश पाएका) शेरबहादुर बस्नेतका अनुसार, उनले टोलीका केहीलाई निगरानीमा अन्तर्राष्ट्रिय विमानस्थल परिचालन गरेका थिए, केही काठमाडौँका पाँचतारेसहित महँगा होटलमा खटिएका थिए। पाँचतारे र्‍याडिसनमा ‘ए कुमार’ नामका गेस्टहरूमध्ये एउटा पासपोर्ट नम्बरलाई भारतीय दूतावासले मस्ट वान्टेड अमितकुमारकै हो भनेर भेरिफाई त गर्दिए, तर ती गेस्टले ‘चेकआउट’ गरिसकेका थिए।

होटलको बिल चेक गर्दा उसले नेपालमा एक जनालाई फोन गरेको भेटियो। उक्त नम्बर सिरहाका पंकज झाको भएको पत्ता लगाएपछि झाको नेकीबेदी पत्ता लगाई बस्नेतले नै फोन गरे। “तिम्रो तीन पुस्ते पत्ता लागिसकेको छ, खुरुक्क डा. अमितको लोकेसन भन्देउ” भन्दा पंकजले पोखरा गएको बताएर मोबाइल काटे, त्यसपछि ‘स्वीच अफ’ गरे। बस्नेतले अमितलाई पठाएको ‘पक्रिन नसघाए गम्भीर मुद्दा मामिलामा फस्छौ’ भन्ने बेहोराको लामो ‘टेक्स्ट’ पाएपछि पंकजले फोन गरेर सौराहाको ‘वाइल्डलाइफ क्याम्प’ मा बसेको खबर दिए।

“अमित त्यही भएको पक्कापक्की भएपछि सौराहाको चौकीलाई होटलमै बसेर निगरानी गर्नु भनी त्यता जाने तयारी शुरू गरियो,” बस्नेत सम्झिन्छन्, “विमानको टिकट नपाएपछि गाडी लिएर हुइँकिइयो।” त्यति बेला महाशाखामै एसपी रहेका देवेन्द्र सुवेदी (२०७५ सालमा एआईजीबाट अवकाश पाएका) का अनुसार सौराहा चौकीका सई राजु शर्माले होटलमा पुगेर दिइएको हुलियाअनुसार अमितको पहिचान गरेका थिए। अमितले झोलाभरि पैसा दिएर लोभ्याउन खोज्दा दुई झापड हानेर नियन्त्रणमा लिएका थिए।

जस लिने होड, मिडियाको मेला
अमित प्रहरीको नियन्त्रणमा आएको थाहा पाउनासाथ उनलाई पक्रिएको जस लिने होड प्रहरीकै विभिन्न इकाईमा मात्रै सीमित रहेन, भारतका सुरक्षा निकायहरूबीच पनि प्रतिस्पर्धा चलेको थियो। सई राजुले नियन्त्रणमा लिइसकेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले त अमितलाई भरतपुरबाट प्रहरी पठाई त्यहीँ ल्यायो। तत्कालीन मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख (डीआईजी) किरणकुमार गौतम देशी–विदेशी मिडियालाई फोन गरीगरी आफूहरूले अमितलाई पक्रेको सूचना दिन थाले।

“अमित चितवनतिरै आएको सूचनाको आधारमा प्रहरी परिचालित थिए,” डीआईजी गौतमले कान्तिपुरसँग भनेका थिए, “त्यसै क्रममा होटलमा शंकास्पद हुलियाको व्यक्ति रहेको सूचनाको आधारमा प्रहरी पठाउँदा लबीमै अमित फेला परे।”

जिल्ला प्रहरीले अमितबाट बरामद विदेशी मुद्रा राजस्व अनुसन्धानमा बुझाउने गरी मुचुल्का नै खडा गरिसकेको थियो। उनीबाट १ लाख ४५ हजार युरो, १८ हजार ९०० अमेरिकी डलर, ९ लाख ३६ हजार भारुको ड्राफ्ट फेला परेको थियो। तर काठमाडौँबाट आईजीपी ओमविक्रम राणाले खुरुक्क महाशाखाको टोलीलाई दिई पठाउन भनेपछि सबै चुपचाप भए।

उता, दिल्लीमा सीबीआई र हरियाणा प्रहरी आफ्नै सूचनाको आधारमा नेपाल पुलिसले पक्राउ गरेको जानकारी मिडियाहरूलाई दिई जस लिन दाबी ठोकिरहेका थिए। बस्नेतको टोलीले राति नै अमितलाई काठमाडौँ ल्याइपुर्‍यायो। “चितवनबाट काठमाडौँ ल्याउने क्रममा गाडीमा अमितले बरामद भएको नगद सबै राख्नुस्, मलाई चाहिँ यतै छाड्दिनूस्,” भनेको डीएसपी बस्नेतले बिर्सेका छैनन्।

राति नै पक्राउको खबर फैलिसकेकाले बिहानैको फ्लाइटबाट नोएडाका कर्पोरेट मिडिया पनि भनिने दिल्लीका न्युज च्यानलका रिपोर्टर/क्यामरापर्सन काठमाडौँ ओर्लने क्रम शुरू भएको थियो। भारतीय न्यूज च्यानलका प्रतिनिधिहरूले बिहानैदेखि महाशाखाका तत्कालीन प्रमुख एसएसपी (आईजीपीबाट २०७४ सालमा अवकाश) उपेन्द्रकान्त अर्याललाई फोन गरी ‘अमितको एउटा बाइट लिनपाऊँ’ भनेर हत्तुहैरान पारेका थिए। तत्कालीन एसपी सुवेदीका अनुसार २१ वटा न्यूज च्यानलका प्रतिनिधिहरू उपस्थित थिए।

देशी–विदेशी पत्रकारहरूको उपस्थिति आकलन गरेर महाशाखाले पत्रकार सम्मेलन आफ्नो कार्यालयमा नगरी रानीपोखरीस्थित तत्कालीन महानगरीय प्रहरी कार्यालयमा गरेको थियो। “अमितकुमारलाई देखेपछि बुम बोकेका र क्यामेराधारी पत्रकारहरू यस्तरी आक्रामक भए कि,” सुवेदी सम्झिन्छन्, “उसलाई अफिसको कोठामा थुनेर झ्यालबाहिरबाट खिच्न सकिने बन्दोबस्त मिलाउन पर्‍यो।”

अमितलाई भित्र लैजान सुवेदीले तत्कालीन इन्स्पेक्टर (हाल एसपी) गौतम केसीलाई आँखाले गरेको इशारा एभिन्युज टेलिभिजनको क्यामेरामा कैद भएछ, अनि त ‘खबरभित्रको खबर’ कार्यक्रममा ‘किन आँखाले इशारा गरे’ भन्दै प्रहरीमा नै शंकाको औँला तेर्स्याइएको थियो।

एसपी सुवेदीका अनुसार रेडकर्नर नोटिस जारी गरेको एकाध दिनमै अमितकुमारलाई पक्रिएर सम्बद्ध देशलाई जिम्मा लगाएकोमा इन्टरपोल नेपाल पुलिससँग गद्गद् भएको थियो। इन्टरपोलका महासचिव नै नेपाल आएर अपरेसनमा संलग्न प्रहरीहरूलाई प्रशंसापत्र वितरण गरेका थिए।

प्रहरीको घोषणा एकैछिन टिकेन
पत्रकार सम्मेलनमा महाशाखा प्रमुख अर्यालले अमितलाई तत्कालका लागि विदेशी विनिमय अपचलनमा कारबाही शुरू गरी थप अनुसन्धान गरिने बताएका थिए। भोलिपल्टै (आइतबार) म्याद लिन राजस्व अनुसन्धान विभागसमक्ष उपस्थित गराइने प्रहरीको घोषणा एकैछिन पनि टिक्न सकेन।

अर्यालका अनुसार पत्रकार सम्मेलन सकिएपछि आईजीपी राणाले प्रधान कार्यालय बोलाएर भारतीय दूतावासलाई सुपुर्द गर्न आदेश दिएका थिए। यसका लागि दिल्लीबाटै टोली पनि आइसकेको थियो। “नेपालमा कसुरदारसमेत नदेखिएको हुँदा इन्टरपोलको सूचनामा अभियुक्त/अपराधी आदानप्रदान गर्ने परम्पराअनुसार भारतीय निकायलाई जिम्मा लगाइयो” बेहोराको पत्र प्रधान कार्यालयले तयार पार्‍यो।

अर्यालले नै दूतावासका प्रथम सचिव अरविन्दकुमारलाई भेटेर बरामद विदेशी मुद्रासहित अमितलाई हस्तान्तरण गरे। अरविन्दकुमारले नै विदेशी मुद्रासहित अमितलाई विमानस्थल पुर्‍याउन अनुरोध गरे, इण्डियन एयरलाइन्सको विमानमा हाल्दिने काम महाशाखाको टोलीले नै गर्‍यो। ‘क्याराभान म्यागजिन डटकम’मा सन् २०१९ मा प्रकाशित स्टोरीअनुसार, तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोन गरेर अमितकुमारको सुपुर्दगी सुनिश्चित गरेका थिए।

गुडगाँवमा ‘स्टार म्याक्स लाइफ केयर’ अस्पताल चलाउने अमितकुमारले ३०० देखि ५०० किड्नी अवैध रूपमा प्रत्यारोपण गरेको उति बेलाका सञ्चारमाध्यमहरूमा प्रकाशित छ। माघ २४ गतेको कान्तिपुरमा अतुल मिश्रको बाइलाइनमा करिब ५०० किड्नी प्रत्यारोपण गरिएको उल्लेख छ। भोलिपल्ट केदार ओझाको बाइलाइनमा चाहिँ करिब ३०० किड्नी प्रत्यारोपण गरेको प्रहरीसमक्ष बताएको उल्लेख छ।

अमितकुमारसँग झण्डै पाँच घण्टा सोधपुछ गरेका तत्कालीन एसपी सुवेदीसँग उनले ५०० जतिको आँकडा पेश गरेका थिए। “आयुर्वेद पढेका उनले किड्नी प्रत्यारोपणका सीडीहरू हेरेरै आफूले सर्जरी सिकेको र एउटै  सर्जरी विफल नभएको दाबी गरेका थिए,” सुवेदी सम्झिन्छन्।

किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने गरेका उनले प्रत्यारोपण गरेका बिरामीबाट चाहिँ ४ देखि ८ लाख भारु असुल्थे भनेर कान्तिपुरकै समाचारमा उल्लेख छ। किड्नी किङ अमितकुमार काठमाडौँमै किड्नी प्रत्यारोपण गर्ने केन्द्र खोल्ने तयारीमा थिए भनेर पनि उल्लेख छ।

सन्तोष राउतदेखि डा. अमितकुमार, बम्बइदेखि देहरादून
(स्रोतः डिस्कभर डटकम  र क्याराभान  म्याग्जिन डटकम)
दिल्लीकै नजिक मुरादाबादमा जनवरी २४ को दिन सडकमै हानाहान गरिरहेका दुई व्यक्तिको झगडा छुट्याउन एक जना पुलिस कन्स्टेबल पुग्छन्। हानाहान गरिरहेका विद्याप्रकाश किड्नी झिकिएका र गयासुद्दिन किड्नी दलाल भएको थाहा भएपछि पुलिसले दुवैलाई पक्रन्छ। सोधपुछका क्रममा अमितकुमारको धन्दा खुलासा हुन्छ, उनीहरूले नै स्टार म्याक्स लाइफ केयरका साथै विदेशी ग्राहकहरूलाई राख्न बनाइएको सुविधासम्पन्न गेस्ट हाउसमा पुर्‍याउँछन्।

त्यहीँबाट भारतीय सञ्चारमाध्यममा किड्नी किङको कोलाहल शुरू भएको थियो। प्रारम्भिक चरणमै किड्नी प्रत्यारोपणको देशव्यापी जालोको संकेत पाएपछि अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले लिएको थियो। 

खास नाम सन्तोष राउत भएका अमितकुमारले आयुर्वेदको पढाइपछि एउटा आयुर्वेद अस्पतालमा माइनर सर्जरी (पायल्स आदि) गर्दागर्दै सन् १९८४ मा बम्बई (अहिले मुम्बई) मा किड्नी प्रत्यारोपणको धन्दा शुरू गर्छन्। एउटा अपार्टमेन्टमा ‘कौशिल्या नर्सिङ होम स्थापना’ गरी प्रत्यारोपण शुरू गर्दा बम्बईका बडेबडे सर्जनहरू सेवा दिन तयार हुन्छन्। सन् १९८० को दशकमा मध्यपूर्व (खासगरी साउदी अरेबिया) का धनाढ्यहरू किड्नी प्रत्यारोपणका लागि बम्बई आउँथे।

अमितकुमारले त्यस्ता ग्राहक तान्न विदेशी महावाणिज्य दूतावासका गाडी चालक र एयरपोर्टका ट्याक्सी चालकहरूसित सेटिङ गरेका थिए। खाडी देशहरूका साथै ग्रिस, टर्की, क्यानडा, अमेरिकासम्मका नागरिक उनका ग्राहक हुन थाले। शहरका भिखारी, प्रवासी मजदुर आदि विपन्नलाई ३०० देखि १ हजार डलर दिई किड्नी झिक्थे। छपाइको रफ्तारमा पैसा कमाइरहेका उनले त्यो कालखण्डमा ‘खुनी रात’ र ‘जुर्मी जंजीर’ नामका दुई सिनेमा बनाए, मुख्य भूमिकामा आफै खेले।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले मानव अंगको किनबेचलाई मानव अधिकार उल्लंघन ठहर्‍याइ अवैध घोषणा गर्‍यो। सन् १९९४ मा पहिलोचोटि तीन जना प्रवासी मजदुरले सहमतिभन्दा कम पैसा दिएको भन्दै अमितकुमारविरुद्ध उजुरी गरे। पुलिसले अमित र उनका भाइहरूसहित आठ जनालाई हिरासतमा लिँदा उनले २०० जति अपरेसन आफैले गरेको स्वीकार गरेका थिए। त्यही वर्ष भारतको संघीय संसद्ले मानव अंग प्रत्यारोपण अधिनियम पारित गरी कानूनको उल्लंघनमा पाँच वर्षसम्म कैद र २० हजार जरिबानाको दण्ड तोकेको थियो।

जेलमा पाँच महिना बिताइ छुटेपछि अमितका दाजुभाइ राजस्थानको जयपुर पुगे, जहाँको प्रदेश सरकारले मानव अंग किनबेच निषेध गर्ने कानून कार्यान्वयन गरेको थिएन। प्रदेशको क्षेत्राधिकारमा पर्ने भएकाले स्वास्थ्य सम्बन्धी संघीय कानूनलाई प्रदेश सरकारले कार्यान्वयन नगर्न सक्थ्यो। दुई वर्षमा सयौँको किड्नी किनबेच गरेपछि उनीविरुद्ध जयपुरमा दुई र आन्ध्र प्रदेशमा एउटा जाहेरी (एफआईआर) दर्ता भयो, अमित भागेर क्यानडा पुगे। त्यही घरबार जोडेर बसे।

सन् १९९९ मा भारत फर्किएपछि पुनमकुमारसँग दोस्रो विवाह गरे नै, उनी सन्तोष राउतबाट डा. अमितकुमारमा रूपान्तरित भइसकेका थिए। नयाँ नामबाटै गुडगाँवमा किड्नीको धन्दा शुरू गरे। मुखविरको सूचनाको आधारमा सन् २००० मै उनी पक्राउ त परे, जमानतमा छुटे। विदेशीहरूलाई २५ देखि ३० हजार डलरमा किड्नी प्रत्यारोपणको प्याकेज (हवाई टिकट, बसोबाससहितको) बेचिरहेका उनीविरुद्ध आयकर छलीमा सन् २००६ मा कारबाही शुरू भए पनि केही भएन। आखिर उनी पैसा छापिरहेका थिए।

सन् २०१३ मा सीबीआर्ई कोर्टले अमितसहित पाँच जनालाई सात वर्ष जेल र जनही ६० लाख भारु जरिवानको सजाय तोकेको थियो। अमितले तत्कालै उच्च अदालतमा पुनरावेदन गरे। अर्को एउटा निवेदनमा त्यहाँको सर्वोच्च न्यायालयले सीबीआईसँग उनीउपर अनुसन्धान गर्ने अधिकार नै नभएको भन्दै अमितलाई जमानत दियो। सन् २००८ देखि ६ वर्ष लामो जेल बसाइपछि सन् २०१४ मा जेलमुक्त भए।

जेलबाट निकाल्न साम, दाम, दण्ड र भेद प्रयोग गरेकी उनकी ‘गर्लफ्रेण्ड’ बुलबुल कटारियासँग तेस्रो विवाह गरेका अमित पुरानै धन्दामा फर्किए। भाइ जीवनले गुडगावमा सञ्चालन गरिरहेको ‘सेन्चुरी वेलनेस सेन्टर’मा किड्नी प्रत्यारोपण शुरू गरे। तर सन् २०१६ मा फेरि पक्राउ परे।

गुजरातको पाण्डोली गाउँका विपन्नहरूलाई लोभ्याइ किड्नी झिकेको आरोप लागेको थियो। तर गुजरातबाट गुडगाँव ल्याउने क्रममा पुलिसलाई झुक्याई रेलबाटै भागे। तत्पश्चात देहरादून नजिकैको गाउँ पुगेर पुरानो धन्दा शुरू गरेका उनी सन् २०१७ मा भाइ जीवन र तीन जना सहयोगीसहित पक्राउ परे। देहरादून पुलिसले समातेपछि उनले २५ देखि ३५ लाख भारु लिने गरेको र किड्नीदातालाई ४ देखि ५ लाख भारु भुक्तानी गरेको बयान दिएका थिए। सन् १९९४–२०१७ सम्म पक्राउ पर्ने, छुट्ने अनि नयाँ ठाउँमा किड्नीको कारोबार गर्ने क्रम जारी रह्यो, त्यसपछि भने ब्रेक लाग्यो।

अन्तमा
गत जेठमा चण्डीगढ पुर्‍याएर एउटा अपार्टमेन्टमा राखिएका खिलबहादुर भुजेललाई ६ लाख रूपैयाँको प्रलोभन दिई किड्नी झिक्न प्रस्ताव गरेको भनिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले इन्कार गरेपछि त्रास देखाई साउन ९ गते उनको किड्नी झिकेर नेपाल फर्काइएको थियो।

भुजेलकै सूचनाअनुसार समिर नेपाली, राकेश नेपाली र राजकुमार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले पक्रेको छ। पक्राउ परेकामध्ये समिर पहिला आफ्नै किड्नी भारतमा बेचेपछि दलालीमा संलग्न रहेको पाइएको छ। भारतमा अमितकुमारले पनि किड्नी बेचेकालाई नै दलालका रूपमा परिचालन गरी पिरामिड संरचनामा सञ्जाल फैलाएका थिए।

किड्नी बेच्ने ‘मुर्गा’ खोज्नेले १५/२० लाख रूपैयाँ पाए पनि बेच्नेको हातमा चाहिँ ६/७ लाख रूपैयाँ हात पर्ने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चारपाँच वटा गिरोहले १५० हाराहारीलाई भारत पुर्‍याई किड्नी झिकेको देखिएको छ। अनुसन्धान निर्वाध अघि बढेमा पीडित र दलालको ठूलै समूहको खुलासा हुने देखिन्छ।

भारतमा किड्नीको अवैध प्रत्यारोपणमा सबैभन्दा कुख्यात त सन्तोष राउत उर्फ डा. अमितकुमार नै हुन्, तर सन् २०१६ मा कोलकातामा पक्राउ परेका टी राजकुमार रावले १५ हजार प्रत्यारोपणमा किड्नी उपलब्ध गराउने दलालको काम गरेको खुलासा भएको थियो। अनुसन्धान गहिराइमा पुगे राजकुमार रावहरू त फेला पर्ने नै छन, डा. अमितकुमार चाहिँ नहोलान् कि!