भरमार उखानको जानकार ओलीलाई 'राजा नरहे पनि राज्य खाली हुँदैन' भन्ने शाश्वत उखानको ज्ञान रहेन। मदन भण्डारीको दुखद अवसानपछि पनि एमाले रहेको अलिकति दिव्य ज्ञान पनि पलाएको छैन।
एकादेशको कुनै गाउँमा महामारी फैलँदा एक किसानको परिवारका धेरै सदस्य बितेछन्। महामारीमा बुढो किसान, उनको सानो नाति र एउटा बुढो गोरु मात्रै बाँचेछन्। अब बुढो किसानसँग जीविकाको अन्य साधन र जनशक्ति रहेन। एउटै साधन बुढो गधा मात्रै बाँकी रह्यो। अशक्त गधाबाट काम लिन गाह्रो भइरहेको थियो।
त्यही बेला गाउँलेले बुढो गधालाई मवेसी (पशु हाट) मा बेचेर तन्नेरी गधा ल्याउन सल्लाह दिएछन्। बुढो किसान सल्लाह स्विकार्दै गधा लिएर मवेसीतिर लागे। बुढो किसान गधा घिच्च्याउन थाले, नाति गधा धपाउने काममा लाग्यो।
जाँदाजाँदै बाटामा एक हुल मानिसले देखे र जिस्काए, ‘‘कस्तो पटमूर्ख रहेछ। गधामा नचढेर किन गधा घिच्च्याएको होला?’’ बुढो किसानलाई कुरो उचित लागेछ। बुढो गधामा चढ्यो। नाति, गधा खेद्न लाग्यो।
अलिक बाटो कटेपछि अर्को हुल मानिस भेटिए। तिनले भनेछन्, ‘‘कस्तो निर्दयी बुढो रहेछ, सानो नातिलाई गधामा नचढाएर आफू किन चढेको होला?’’ बुढो धोबी सर्माउँदै नातिलाई पनि गधामा चढाएर बाटो लाग्यो।
केही पर पुगेपछि एक हुल मान्छेहरूसँग जम्काभेट भएछ। तिनले तुरुन्तै प्रतिक्रिया जनाए, ‘‘कस्ता निर्दयी रहेछन्। बुढो गधामाथि दुई दुई जना चढेका।’’ तिनको कुरा सुनेपछि किसानलाई लाज भयो। गधाबाट उत्रेर किसानले गधालाई काँधमा बोकेर बाटो लागेछ।
नदी तरेर जानुपर्ने बाटो थियो। किसान गधा बोकेर नदी तर्दै थिए। गधाले आफ्नै छायाँ नदीमा देख्दा उसलाई अर्को गधा आएको भान परेछ। हिनहिनाउँदै उफ्रिँदा गधा किसानको काँधबाट नदीमा झर्यो। गधालाई नदीले बगायो। बुढो किसानको सपना चकनाचुर भयो।
…
केपी ओलीको प्रसंग पनि तिनै किसानकै गधा प्रकरणसँग मिल्दोजुल्दो छ। बयल गाडामा चढेर अमेरिका पुगिँदैन भनेर गणतन्त्रको विरोध गरी नथाक्ने ओली काकतालीले चार पटक गणतन्त्रको कार्यकारी प्रधानमन्त्री भए। किसान त सल्लाह मुताबिक गधा साटफेर गर्न हिँडेका थिए। तर ओलीले भने आफ्नो ज्यानी दुष्मन संघीय गणतान्त्रिक व्यवस्थाको हुर्मत लिन पटक-पटक लागे।
सामन्त गोयललगायत देशी विदेशीको सल्लाहमा दुई दुई पटक संसद् विघटन गरे। सहज बहुमतको पार्टी डबल नेकपा फुटाए। अदालतले संसद् विघटनको मुद्दामा ओलीलाई पछार्ने फैसला गर्यो, यद्धपि, उनको चेत खुल्दै खुलेन।
संजोगले फेरि पनि दोस्रो ठूलो पार्टीको नेता बने। ढोक्सा थापेर माओवादीलाई काँग्रेसी क्याम्पबाट उछिट्टाएर सरकार बनाए। त्यसको तीन महिना नबित्दै माओवादीलाई दोबाटोमै बिलखबन्द पारेर छोडिदिए। आधारातमा काँग्रेस पार्टीसँग दहीचिउरे बैठक गरे। संसदीय व्यवस्था प्रतिकुल प्रतिपक्षीको तेजोवध गर्ने गरी अर्को सरकार बनाए। पटक-पटक साझेदार फेर्दै सत्तासीन हुन ओलीलाई कसले सल्लाह दिएको थियो, उनले नै जान्ने कुरा हो। तर यहीँनेर आएपछि दम्भ र घमन्डको महामारीले उनलाई छपक्कै छोप्यो। नेपाली राजनीतिको बादशाह हुने उत्कर्षतर्फ हौसिए ओली।
किसानले बाटामा भेटे जत्तिको सल्लाह मान्दै गधा हाटमा लगेजस्तै सरकार मनमौजी घिसार्दै गए। ओली नन्दीभृङ्गीको सल्लाहमा सरकार गठन-विघटनको ताण्डवमा रमाए। यसबीच उनको अहंकारले सीमा नाघ्न थालेकै थियो। उनका सल्लाहकारहरूको सल्लाह हो या उनकै मनोज्ञानका कारण, सामाजिक सञ्जाल बन्द गर्ने अन्तिम निर्णयमा पुगेका मात्र थिए, जेनजी आन्दोलनको आँधीले २४ घण्टामै उनको सिंहासन खरानी बनायो। किसानको गधा खोलाले बगायो। ओलीको सत्ता जेनजी आन्दोलनले डढायो। किसान निराश भएर घर फर्किए। तर ओली अझै गुण्डुमा गुन्टा कसेर ‘सोम सर्माको सातु’ कथाको सपना देखिरहेछन्। संसद् पुनर्स्थापनाको ख्याली पुलाउ पकाएर दर्शकको गणित आकर्षण गर्न अभ्यस्त छन्।
कथा यतिमा मात्र सीमित छैन। जेनजी विद्रोहपछि फेरि पनि एमालेलाई 'बामाले' बनाउने उपक्रममा छन्। यस्तो उटपट्याङ उपक्रम गर्न उनलाई सल्लाह सहयोग गर्ने एकसे एक पात्र तयार छन्। एमालेमा ओलीको विकल्प नभएको तर्क दिएर ओलीलाई बादशाह बनाउने नाजायज सल्लाह दिएर उकासेका छन्। ओलीसँग सिङ जुधाउँदा भीम रावलको नियति दोहरिने मसला तिनले छरेका छन्।
कहिले अदालतले त कहिले हुलले लखेट्दा पनि यिनको मनोविज्ञान सुध्रिएको छैन। पटक-पटक बालुवाटारबाट बालकोटको बार्दली र बालुवाटारबाट गुण्डु लखेटिँदासम्म पनि यिनको होस खुलेको छैन। बालुवाटारबाट सुपारीटार पुगेको घटना त यिनलाई सपनाजस्तो लाग्दो हो।
तैपनि एमालेको स्वामित्व निजी कुटीर उद्योगमा रूपान्तर गर्न लागि परेका छन् ओली। एमालेलाई 'बामाले' बनाउँदा परिणाम के हुन्छ? यिनको बही खातामा कुनै हिसाब छैन। भरमार उखानको जानकार ओलीलाई 'राजा नरहे पनि राज्य खाली हुँदैन' भन्ने शाश्वत उखानको ज्ञान रहेन। मदन भण्डारीको दुखद अवसानपछि पनि एमाले रहेको अलिकति दिव्य ज्ञान पनि पलाएको छैन। ओली बेगरको एमाले कल्पनासम्म गर्न नसकिने नन्दीभृङ्गि सल्लाहलाई आगे महाधिवेशनमा मोहर लगाउन यिनी लालायित छन्।
कम्युनिस्ट पार्टीको पतन हुनुमा रुमानियाका चाउचेस्कुको भूमिका त दूरदराजको कुरा भयो, उनकै झापा जिल्ला जोडिएको भारतको पश्चिम बंंगालमा ३४ वर्ष लामो शासन गर्ने मार्क्सवादी कम्युनिस्ट पार्टीको पतनको पात्रो हेर्ने फुर्सद पनि यिनमा छैन। अलिक पर त्रिपुरा राज्यको मार्क्सवादीकै २५ वर्ष लामो शासन पनि कसरी ढल्यो, पाठ पढ्ने यिनमा जाँगर छैन।
विचार, दर्शन, शासन प्रणाली, नीति नेतृत्वमा छलफल गर्न एमालेको बैठकमा निषेध छ। निकट महाधिवेशनमा ओलीले प्रवचन गर्ने र बाँकीले भक्तजनले झैं सुन्ने मात्र फरमान जारी भैसकेको छ। एकाह पुराणजस्तै एकै दिनमा काम तमाम हुनेछ। बढीभन्दा बढी त्यहाँ अरूले उम्मेदवारी दिनसम्म पाउने छन्, नजित्ने सर्तमा।
गधाकै सन्दर्भमा अर्को एउटा रोचक कथा पनि छ। कुनै गाउँमा एउटा गधालाई मालिकले पर्खालभित्र थुनेर राखेर काम लगाउँदो रहेछ। पर्खालभित्र थुनेर काम लगाउने र त्यो पनि राम्रोसँग दाना नदिई राखेकोले दुब्लो पातलो भएको रहेछ त्यो निमुखो जनावर। त्यही गाउँमा छाडा छोडिएको अर्को गधा पनि रहेछ। दोस्रो गधाले माया लागेर थुनेर राखेको गधालाई उजस्तै स्वतन्त्रतापूर्वक उखुबारीमा आएर चर्न अनुरोध गर्दो रहेछ।
पहिलो गधाले बाहिर आउन नसक्ने विवशता बताएछ। त्यसको एउटै मात्र कारण उसको मालिकले उसको छोरीलाई हकार्दा "गधासँग तेरो बिहे गरिदिन्छु" भन्दो रहेछ। छोरी दिन्छन् होला भन्ने आशाले त्यो गधा मालिकले जति नै खाना नदिएर होलोहोचो गरे पनि त्यहीँ बसेको बताउँदो रहेछ।
एमालेका एक थरीको नियति पनि त्यही गधाजस्तै आस मानेर बस्नु भएको छ। तिनले पनि यो नीति कथा बुझ्न जरुरी छ। कतै तिनको पनि जिन्दगानी पहिलो गधाकै नियतिमा नबदलियोस्। पदको आशाले सारा जिन्दगानी भड्खालोमा नपरोस्।
प्रस्ट पारिहालौँ, पुराना समयका, त्यही समाजको सोच प्रतिबिम्बित गर्ने कथा हुन् यी। पशुलाई नीच र मान्छेलाई श्रेष्ठ ठान्ने समाज-सोचका कथा हुन् यी। पशुको बिहे मान्छेसँग गरिदिने भन्ने विषय आफैमा अनुचित र मर्यादा/मानव चेतनाबिरूद्ध हुन्। खास प्रसंगमा मात्र यी कथा यहाँ प्रस्तुत गरिएका हुन्।
एमालेको पुनर्जलीय उपचार नभएको भने थिएन। तर यस्तो उपचारको बाटाहरू स्वयम् ओलीपन्थीहरूले नकार्दै आएका छन्। विद्यालाई ढिम्किन नदिएर पहिलो उपचार खारेज गरियो। अब ईश्वर पोखरेललाई जित्न नदिएर अर्को कोरामिन इन्जेक्सन निकालिने छ। अब आसन्न एमाले महाधिवेशनमा निर्वाचनको नाटक मञ्चन हुनेछ। र, दसौँ महाधिवेशनमा नारायणी नदी तीरमा जे भएको थियो, त्यही दोहोरिने छ।
तब ओली नै आगामी वर्षको लागि एकछत्र अध्यक्ष हुने करिब पक्का छ। यसपछि एमाले काटीकुटी 'बामाले' हुनेछ। यसपछि प्रजापरिषद भन्दा छिटो विलुप्त हुने बाटोतर्फ अग्रसर हुनेछ। यो कुरा चाहिँ लेखेरै राखे हुन्छ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
