राष्ट्रिय झण्डा ओढेर राजनीतिक कार्यक्रमदेखि आपराधिक गतिविधिसम्म

आफ्नै झण्डासहित विभिन्न कार्यक्रम तथा चुनावी गतिविधि गर्ने राजनीतिक दल र सडकमा ओर्लने अनेक समूहले पछिल्लो समय राष्ट्रिय झण्डा बोक्न थालेकै छन्, आपराधिक गतिविधिमा समेत राष्ट्रिय झण्डा देखिन थालेको छ।

काठमाडौँ— सार्वजनिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा धेरै राष्ट्रिय झण्डा प्रयोग गर्ने रवि लामिछानेले भदौ २४ गते नक्खु जेलबाट बाहिरिँदा पनि राष्ट्रिय झण्डा नै ओढेका थिए। पार्टीकै जिम्मेवार नेताहरूले उनलाई जेलबाट बाहिरिन सहयोग गरेका थिए। तर भदौ २८ गते उनी फेरि जेल फर्किन बाध्य भए।

जेन–जी आन्दोलनको दोस्रो दिन आगजनीमात्र होइन, लुटपाटमै संलग्न धेरैले राष्ट्रिय झण्डा ओढेको फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भेटिन्छन्। चुच्चेपाटीस्थित भाटभटेनीमा आगो सल्किँदा राष्ट्रिय झण्डाहरू फहराइँदै गरेको देखिन्छ।

त्यही दिन संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी संरचनामा आगजनी हुँदा पनि राष्ट्रिय झण्डा बोक्नेहरू धेरै देखिन्छन्। प्रहरी कुटपिटदेखि लुटपाटसम्म राष्ट्रिय झण्डा ओढेरै गरियो। अघिल्लो दिन भदौ २३ गतेको आन्दोलनका सहभागी पनि धेरैले राष्ट्रिय झण्डा बोकेका थिए।

त्यसअघि, २०८१ चैत १५ गते राजसंस्था समर्थकले गरेको आन्दोलनमा पनि राष्ट्रिय झण्डाको प्रयोग भएको थियो। त्यति मात्र होइन, २०७९ सालमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा स्वतन्त्र र कतिपय पार्टीका उम्मेदवारले पनि राष्ट्रिय झण्डाको प्रयोग गरेका थिए।

देशमा यस्तो पनि समय थियो, कोही राष्ट्रिय झण्डा लिएर प्रदर्शनमा देखिए मण्डले कहलाइन्थे। “२०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय झण्डा सरकारी औपचारिकताबाहेक राजावादी व्यक्ति वा समूहले प्रयोग गर्ने भएकाले अरूहरूले तिनलाई मण्डले भन्दिहाल्थे,” विश्लेषक सीके लाल सुनाउँछन्।

त्यस बेला राजनीतिक दलहरूका कार्यक्रममा दलकै झण्डा प्रयोग हुन्थे। जस्तै, कांग्रेसले चारतारे झण्डा तथा एमालेले कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय हँसिया–हथौडावाला झण्डा प्रयोग गर्थे। यसबाहेक चुनाव चिह्न अंकित झण्डाको पनि प्रयोग हुन्थ्यो।

पञ्चायतकालमा राष्ट्रिय झण्डा सरकारी कार्यालय र राजदरबारमै सीमित थियो। राजारानीको जन्मोत्सव आदिमा बालबालिकाको हातमा स–साना झण्डा थमाइन्थ्यो। झण्डाको आफूखुशी प्रयोग दण्डनीय थियो। २०४६ सालको परिवर्तनपछि झण्डा प्रयोग गरेकै आधारमा दण्डित हुने डर नरहे पनि झण्डाकै कारण मण्डले भनिने डर थियो।

राजनीतिक दलका कार्यक्रममा मात्र नभई, चोरी र लुटपाटमा समेत राष्ट्रिय झण्डाको दुरुपयोग कहिलेदेखि शुरू भयो त?

राष्ट्रवादी पार्टी भएकाले स्थापनाकालदेखि नै राप्रपाले राष्ट्रिय झण्डाको प्रयोग गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठ बताउँछन्। “देशको झण्डा बोक्नु राष्ट्रभावना हो,” उनी भन्छन्, “हामी राष्ट्रभावनाले ओतप्रोत छौँ, राष्ट्रवादका सबै प्रतीकलाई बोकेर हिड्छौँ।”

राष्ट्रवादी र अनुदारहरूले राष्ट्रिय झण्डाको ओत लिने प्रवृत्ति भएको विश्लेषक लाल बताउँछन्। नेपालमा चाहिँ २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात उज्ज्वल थापाको समूह (पहिले विवेकशील समूह, पछि विवेकशील पार्टीकै संस्थापक) ले राष्ट्रिय झण्डाको प्रयोगलाई छ्याप्छ्याप्ती बनाउन भूमिका खेलेको लाल ठान्छन्।

थापाकै नेतृत्वमा हुने ‘ज्याला त लियौ, अब संविधान देउ’, ‘नेपाल खुला छ’ जस्ता अभियानमा राष्ट्रिय झण्डाको प्रयोग हुन्थ्यो। अमेरिकामा श्वेत सर्वोच्चता (ह्वाइट सुपरमेसी) पक्षधरहरूले अन्य समूहले भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्ने विश्लेषक लाल बताउँछन्। नेपालमा पनि त्यस्तै देखिएको हुनसक्ने उनको कथन छ।

“अमेरिकीहरू राष्ट्रिय झण्डाको व्यापक प्रयोग गर्छन्, टोपीदेखि अण्डरवेयर र जुत्तासम्ममा,” लाल भन्छन्, “अमेरिकामै पढेका उज्ज्वल थापाले यहाँ प्रदर्शन र सभाहरूमा प्रयोग गरे।”

null

त्यसपछि, राष्ट्रिय झण्डाको प्रयोग यसरी बढ्यो कि विगतमा राष्ट्रिय झण्डा बोक्नेलाई मण्डले भन्ने कम्युनिस्टहरूले समेत जुलुस र सभामा प्रयोग गर्न थाले। एमालेले गत मंसिर ७ गते दरबारमार्गमा आयोजना गरेको जागरण सभामा उपस्थित थुप्रैले एउटा हातमा राष्ट्रिय झण्डा र अर्को हातमा पार्टीको झण्डा बोकेका थिए।

२०७८ असार २७ गते एमाले निकट युवा संघले गरेको विपक्षी गठबन्धनविरुद्ध बानेश्वर–माइतीघर र्‍यालीमा सहभागीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भएको ब्यानर र प्लाकार्डसँगै कतिपयले राष्ट्रिय झण्डा पनि बोकेका थिए। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमालेले १०औँ महाअधिवेशनपछि राष्ट्रिय झण्डा पनि प्रयोग गर्ने थालेको हो।

“पहिला प्रयोग गर्ने गरिएको थिएन, गर्नुपर्छ भन्ने चेत आएपछि शुरू गरियो, कुरो त्यति हो” गौतम भन्छन्, “एमाले आफैमा राष्ट्रवादी, जनमैत्री पार्टी भएकाले राष्ट्रिय झण्डाप्रति अपनत्व देखायो।”

चुनावमै राष्ट्रिय झण्डा प्रयोग गरेको रास्वपाले २०८१ कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनहरूमा पनि राष्ट्रिय झण्डाको बाक्लै प्रयोग गरेको थियो, जुन नक्खुबाट निस्कँदासम्म देखियो। त्यति बेला गम्छा जसरी घाँटीमा लगाइएको कारण राष्ट्रिय झण्डाको दुवै फेर लत्रिएको थियो।

झण्डाको चन्द्रमा तल पार्नु प्रयोगसम्बन्धी मापदण्ड विपरीत हो। राष्ट्रिय झण्डा र राष्ट्रगान प्रयोगसम्बन्धी कार्यविधि २०६९ (पहिलो संशोधन २०७६) को दफा ११(ख) मा चन्द्रमा तल पर्ने गरी झण्डाको प्रयोग गर्न नहुने व्यवस्था छ। तोकिएभन्दा फरक तरिकाले प्रयोग झण्डाको अपमान मानिन्छ।

रास्वपाका प्रवक्ता मनीष झा भने नयाँ पार्टीहरू पुरानाभन्दा फरक भएकाले राष्ट्रिय झण्डा प्रयोग थालेको दाबी गर्छन्। तर देखावटी राष्ट्रवाद हाबी हुँदा झण्डाको दुरुपयोग बढेको उनको स्वीकारोक्ति छ। “ओभर युज इज अलमोस्ट अब्युज, अर्थात् धेरै प्रयोग गर्नु झण्डै दुरुपयोग होे,” उनी भन्छन्, “अहिले जुन तरिकाले प्रयोग भइरहेको छ, त्यसमा सहमत छैन।” 

कार्यविधिका दफा ८, ९ र १० मा राष्ट्रिय झण्डा प्रयोग गर्ने र फहराउने विधि उल्लेख छ। दफा ११ मा प्रयोगमा निषेधसम्बन्धी व्यवस्था छ। जसमा, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न र कुनै सामान पोको पार्न नहुने उल्लेख छ। व्यापारिक विज्ञापनका लागि प्रयोग गर्न नहुने व्यवस्था पनि छ। शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागमा मात्र लगाउन पाइन्छ।

शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा झण्डाको प्रतीक वा चित्र राख्न निषेध छ। राजनीतिक दलहरूले प्रदर्शन वा र्‍यालीमा आफ्ना पार्टीका झण्डासँगै राष्ट्रिय झण्डा बोकेको व्यवहारलाई कार्यविधिले स्पष्ट पारेको छैन।

null

राजनीतिक पार्टीले मात्र होइन, विभिन्न व्यक्तिहरूले पनि आ—आफ्नै स्वार्थ अनुरूप राष्ट्रिय झण्डा प्रयोग गर्ने गरेका छन्। काठमाडौँ महानगरका मेयर बालेन शाहले चुनावको समयमा झण्डा ओढेरै घरदैलो अभियान चलाएका थिए। उनले  मापदण्डविपरीत झण्डा प्रयोग गरेको भन्दै आलोचना पनि भएको थियो।

नेपालको राष्ट्रिय झण्डा राजा महेन्द्रको शासनकालमा २०१९ सालमा बनेको पहिलो पञ्चायती संविधानमार्फत औपचारिक रूपमा घोषणा गरिएको हो। त्यसबेला इन्जिनियर शंकरनाथ रिमालले झण्डाको आकृतिलाई गणितीय मापदण्डका साथ बनाएका थिए।

२०५३ सालको मदन पुरस्कार पाएको पुस्तक ‘नेपालको राष्ट्रिय झण्डा’का लेखक प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ पनि पछिल्लो समय राष्ट्रिय झण्डाको दुरुपयोग बढेको बताउँछन्। राजनीतिक पार्टीहरूले देशभक्ति देखाउनका लागि राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका छन्। “राजनीतिक पार्टीहरूले नेपालको झण्डा बोक्नुलाई सकारात्मक मान्नुपर्छ। तर अहिले जुन नियतले बोकिन्छ, त्यो सरासर दुरुपयोग हो। जथाभाबी राष्ट्रिय झण्डाको प्रयोग गर्नु भनेको झण्डाको सम्मान नगर्नु हो,” उनी भन्छन्।

null

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले राष्ट्रिय झण्डासम्बन्धी कार्यविधिमा जेजे व्यवस्था छ, ती सबैको कडाइका साथ पालना गर्नु साझा जिम्मेवारी भएको बताउँछन्। यस विषयमा मन्त्रालयको पनि ध्यानाकर्षण भएको उनको भनाइ छ।

आन्दोलनका क्रममा भएका दुरुपयोग र विशिष्ट व्यक्तिहरूले गरेको अनुचित प्रयोगमा सबैलाई कारबाही गर्दै जान सम्भव नभएको पनि काफ्लेले बताए। “सबै कुरामा कानूनी रूपमा जाने वा कारबाही नै गर्ने भन्दा पनि, कार्यविधिले स्थापित गरेको मानकको पालना गर्नुपर्ने दायित्व सबैको हो,” उनी भन्छन्।